देशभरका कानुन व्यवसायीको साझा संस्था नेपाल बार एशोसिएसनमा नयाँ नेतृत्व आएको छ । लोकतान्त्रिक र प्रगतिशील प्यानल बनाएर चुनावमा होमिएकामा प्रगतिशील प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन् । संगठनलाई चलायमान बनाउने महासचिब पदमा भने लोकतान्त्रिक प्यानलका लिलामणी पौडेल निर्वाचित भएका छन् । आगामी दिनमा नयाँ नेतृत्वले खेल्ने भूमिकाका विषयमा स्पेसखबरले नवनिर्वाचित महासचिव पौडलसँग गरेको कुराकानीको सम्पादित अंशः
सबैभन्दा पहिले हामीले पौडेललाई ‘बधाई’ भन्यौ ।
उनले भने– धन्यवाद, सर्बप्रथम मलाई निर्वाचनमा सहयोग गर्ने सम्पूर्ण बारका मतदातालाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरुले दिएको मत मैले खेर जान नदिने प्रतिबद्धता जनाउँदै सबैको साथ र सहयोगले नेपाल बारको भूमिका अझै उचो बनाउने प्रयासमा हुने छु।
अब तपाईहरुको प्राथमिकता के हो, चुनाव त सकियो ?
अबको प्राथमिकता भनेको नेपाल बार व्यवसायिक संगठन भएकाले व्यवसायिक हक हितका विषयमा काम गर्छौं । न्यायपालिकाको जनआस्था खस्कदैं गएको भन्ने अहिले जुन खालको आरोप छ त्यसलाई चिर्नका लागि काम गर्नु पर्ने अवस्था छ । भर्खरै न्यायपरिषद्बाट भएका न्यायाधीश नियुक्तिका विषयमा पनि न्यायको गरिमा राखिएन भन्ने जुन खालको आवाज छ त्यसलाई कसरी सच्याउन सकिन्छ भनेर पहल गर्नु पर्ने अवस्था छ । न्यायपालिकाको शुद्धताका लागि नेपाल बार एशोसिएसनले भूमिका खेल्छ । यसैगरी न्यायमा जनताको सहज पहुँचका लागि, व्यवसायिक हकहित संरक्षण र सुरक्षाका लागि हाम्रो ध्यान केन्द्रीत हुने छ।
निर्वाचन अघि प्रगतिशील भर्सेस लोकतान्त्रिक प्यानल थियो, तपाईं लोकतान्त्रिकबाट निर्वाचित हुनुभयो अध्यक्ष प्रगतिशीलबाट । कसरी समन्वय होला ?
निर्वाचनमा समूह बनाएर चुनाव लडे पनि जितेर आएपछि समूह बिर्सन्छौं । नेपाल बार एशोसिएशन सबै कानुन व्यवसायीहरुको हो भन्ने भावनाबाट काम गर्नु पर्छ । बारले राजनीति गर्दैन तर कहिलेकाँही राजनीतिक विषयवस्तुमा बोल्नु पर्ने अवस्था आउँछ । त्यसैले भिन्न समूहबाट आएको जस्तो देखिनसक्छ । तर अहिले निर्वाचित भएर आएका अध्यक्ष र मेरोबीचमा समस्या नहोला जस्तो लाग्छ । उहाँको र मेरो स्पिरिट मिल्छ जस्तो लाग्छ ।
नेपाल बारको निर्वाचनलाई सत्तारुढ दलले किन प्रतिष्ठाको विषय बनायो ? यसले त बारमा राजनीतिक छायाँ पर्छ भन्ने आशंका उव्जाएन र ?
कोही साथीहरु क्रान्तिकारी पृष्ठभूमिबाट आउनुभएको होला । राजनीतिक आस्था त सबैको हुन्छ । व्यक्तिगतरुपमा म आफूलाई राजनीतिकभन्दा पनि व्यवसायिक कुरालाई बढी महत्व दिन्छु। मैले महासचिबमा टिकट लिँदा कुनै पनि नेताको हातबाट लिएर आएको होइन् । बारको नेतृत्वमा दुई वटा समूहबाट निर्वाचित भएर आए पनि काम गर्दा अलग विचार आउने अलग समूह बन्ने भन्ने कुरा हुँदैन । नेपाल बारमा राजनीतिक हस्तक्षेप हुन दिने छैनौं ।
नेपाल बारले काम गर्न सकेन भन्ने आरोप सधैं लाग्ने गर्छ नि ?
कुनै समय आउँछ नेतृत्व अलि हाइलाइट हुने । विगतको कार्यसमितिले कामै गरेको छैन भन्ने होइन । राम्रा काम पनि भएका छन् । कानुन व्यवसायीको क्षमता अभिबृद्धि गर्ने काम भएको छ । हो, कुनै राजनीतिक वा संवैधानिक मुद्दामा अलि चर्को बोल्नुपर्ने थियो होला, त्यो नभएर आरोप लगाइएको होला जस्तो लाग्छ मलाई । त्यसैलाई हेरेर बारले केही गरेन भन्न मिल्दैन ।
यसअघि सुशीला कार्की र दीपकराज जोशी प्रकरणमा बार चुक्यो भन्ने आरोप त हो नि ?
समयसन्दर्भमा कुन विषयमा बोल्नु भयो, कुन विषयमा चुप लाग्नुभयो भन्ने कुरामा म फर्कन चाहन्न ।
अहिलेको न्यायाधीश नियुक्ति ?
साथीहरु असल ल्याउनु भएको होला, राम्रै ल्याउनु भएको होला । तर कसैको गुण तिर्नका लागि केही व्यक्तिलाई न्यायाधीश जस्तो गरिमामय पदमा नियुक्त गरिएको छ । अदालतको गरिमा बचाउने काम सम्माननीय प्रधानन्यायाधीशज्यूबाट पनि भएन । अहिले न्यायालयको गरिमामा आँच आउने काम भएको छ । यसलाई सच्याउन अबका दिनमा बारले भूमिका खेल्छ ।