राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको विपक्षमा वकालत गर्दै आएका छन्। ७९ वर्षका भए पनि जोश, जाँगर र उत्साह उस्तै छन्। विसं २०१४ सालदेखिको राजनीतिक यात्रा जारी छ। पछिल्लो समय उनी विदेशीलाई वंशजका आधारमा नेपाली नागरिकता दिन लागिएको भन्दै विरोधमा उत्रिएका थिए। अहिले सरकारले ल्याएको नीति तथा कार्यक्रमबाट उनी खिन्न भएका छन्। राजनीतिक घटनाक्रमप्रति पनि उनी सन्तुष्ट छैनन्। काठमाडौंको घट्टेकुलोमा स्पेसखबरसँग बात मार्दै उनले अहिलेको राजनीतिबारे केही खुलासा गरेका छन्। प्रस्तुत छ केसीसँगको कुराकानीको सम्पादित अंश :
गणतन्त्रपछि संक्रमणकाल सकियो, अब विकासको युग शुरु भयो भनिदैछ नि?
राजतन्त्र हटेर गणतन्त्र आएको पनि धेरै समय भइसकेको छ। नेताहरूले संक्रमणकाल सकिएको भनेर भाषण गरेको सुन्दै आएको छु। अर्थतन्त्र एकदमै डामाडोल छ। राष्ट्रियता पनि त्यति सुदृढ देख्दिन। विदेशी चलखेल बढेको छ। राजनीतिक दलहरूले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न सकेका छैनन्। जसले गर्दा जनतामा निराशा बढ्दै गएको छ। त्यसैले नेताहरूले जति नै संक्रमणकाल सकियो भनेर भाषण गरे पनि सकिएको छैन।
राजनीतिबाट किन यति निराश हुनु भयो तपाई?
गणतन्त्र स्थापनापछि सत्ता सञ्चालन गर्नेले जनतालाई ठूलो आश्वासन बाँडे। लोकतान्त्रिक गणतन्त्र स्थापनापछि मुलकले आर्थिक समृद्धिको बाटो समात्छ र जनताको दैनिकी सहज हुन्छ भनेर आन्दोलनमा जनतालाई सहभागिता गराए। तर जनतासँग गरिएको प्रतिबद्धता सत्ताको नेतृत्व गर्नेबाट पूरा नभएपछि निराशा बढ्दै गएको छ। व्यवस्था फेरिए पनि जनताको परिस्थिति फेरिन सकेको छैन। आर्थिक अराजकता, महँगी, भ्रष्टाचार अहिले पनि उस्तै छ। परिवर्तन भनेको त जनता र राष्ट्रको जीवनमा आउने हुनुपर्छ नि। संविधान जारी हुनुपूर्व जुन किसिमको अराजकता थियो, आज संविधान जारी भएर तीन तहको निर्वाचन भइसक्दा पनि उस्तै छ।
गणतन्त्र ल्याएर गल्ती भयो कि भन्न खोज्नु भएको हो?
गणतन्त्र ल्याएर गलत गरेका छैनौं। गणतन्त्र ल्याउनैपथ्र्यो। राजतन्त्र दास युग थियो। संसारबाट दास युग अन्त्य भए पनि नेपालमा राजतन्त्रका नाममा कायमै रहेकाले गणतन्त्र अपरिहार्य जस्तै थियो। संसार र राजनीतिक प्रणाली जहिल्यै पनि गतिशील हुन्छ। त्यही गतिशीलकै कारण पनि नेपालमा राजतन्त्र अन्त्य र गणतन्त्रको आवश्यकता अपरिहार्य भएको हो। तर, नेपालमा गणतन्त्र आएपछि कार्यान्वयन गर्न नसक्नु यसका सञ्चालकहरूको कमजोरी हो। गणतन्त्र आफैंमा नराम्रो होइन। कसैको परिवारमा जेठो छोरा वा छोरी भएर जन्मिएका आधारमा राष्ट्र प्रमुख, सरकार प्रमुख हुने प्रणाली र साधारण जनताका परिवारबाट राष्ट्र प्रमुख, सरकार प्रमुख, सेना प्रमुख हुन पाउने प्रणाली त कहाँ हो, कहाँ राम्रो प्रणाली नि। साधारण परिवारमा जन्मिएको मान्छेले जनताको दुःख देखेको हुन्छ। सबै समस्या देखेको र बुझेको हुन्छ।
त्यही धेरै बुझेर होला, जनताले पनि धेरै राजाभन्दा एउटै राजा ठीक भन्न लागेको हैन?
त्यो भनेको संघीयतालाई हो। एउटा नेपाल चलाउन विदेशबाट ऋण काढेर ल्याउनुपर्ने ठाउँमा अहिले ७-७ वटा नेपाल चलाउनुपरेको छ। प्रशासनिक खर्च बढेको छ। केन्द्र, प्रदेश र स्थानीय निकायमा जनप्रतिनिधि धेरै भए। राजाको शासनकालमा यो संरचना थिएन। खर्च पनि कम थियो। त्यतिबेला पनि भ्रष्टाचार नभएको होइन, थोरै भ्रष्टाचारी थिए। अहिले सिंहदरबारको अधिकार गाउँ–गाउँमा गएको छ। यो एक हिसाबले ठीक पनि हो। तर २० वर्षपछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले निर्वाचनमा गरेको प्रतिबद्धता बिर्सिएर शक्तिको दुरुपयोग गरेका छन्। त्यसैले पहिलाको संरचनाभन्दा अहिलेको संरचना खर्चिलो भयो। जनताले खर्चिलो संरचना धान्न कर बढी तिर्नुपर्ने अवस्था आएर पनि एउटा राजा नै ठीक भन्ने अभिव्यक्ति दिएका हुन्। अहिले संघीयता ‘बोकाको मुखमा कुभिन्डो’ भएको छ।
त्यसो भए संघीयता टिक्न गाह्रो भएको हो त?
संघीयता त टिक्दै टिक्दैन। यसको छनक त अहिलेकै सरकारको नीति तथा कार्यक्रममा देखिसकिएको छ। माओवादीका कुरा त म गर्दिनँ, माओवादीले आफूलाई जे गर्दा फाइदा हुन्छ त्यही गर्दै आयो। तर एमाले पृष्ठभूमिका र कांग्रेसका नेताहरूको मनमा अहिले पनि संघीयतालाई पार लगाउन सकिन्छ भन्ने छैन। संघीयता बोक्ने बेला र बोकिसकेपछि पनि म यिनीहरू सँग–सँगै छु। घमन्ड ग¥यो भन्नुहोला मलाई राम्रोसँग थाहा छ मुलुकले संघीयता धान्न सक्दैन।
त्यसो भए कहिले खारेज हुन्छ त?
त्यो मिति त अहिले भन्न सक्दैनँ। म सुरुमा पञ्चायतविरुद्ध जेल बसें, भूमिगत पनि भएँ। मलाई धेरैले भन्थे यो पञ्चायत जानेवाला छैन, तैंले दुस्साहस गरिस् भनेर। मावल, ससुराली लुक्न जाँदा खान दिएर लुकाउने तर पञ्चायत जान्न यो नगर भनेर बाजे–बज्यै, मामा–माइजू, सासू–ससुरा कराइरहनुहुन्थ्यो। त्यतिबेला पञ्चायत कहिले जान्छ भनेर मिति सोधेको भए त मैले बताउन सक्ने थिइनँ। मलाई एउटा कुरा विश्वास थियो कि, पञ्चायत शासन ठीक छैन, यसलाई फाल्नु पर्छ र यो एकदिन जान्छ भन्ने थियो। ठीक त्यस्तै अहिले पनि संघीयता जान्छ भन्नेमा म स्पष्ट छु। २०६४ सालमा अमेरिकन, युरोपियन र भारतीयले नेपाललाई संघमा लैजाने योजना बनाए। त्यो दिनदेखि नै राष्ट्रिय जनमोर्चाले यो षड्यन्त्र हो है भनेर आन्दोलन गरेको हो। नेपालका राजनीतिक दलहरूले राष्ट्र र जनताको आवश्यकता के होभन्दा पनि शक्तिराष्ट्रको अर्ती, उपदेश मानेर आफूलाई के फाइदा हुन्छ त्यतातर्फ ध्यान दिए। यो गलत हो भनेर राजमोले त्यतिबेलादेखि भन्दै आएको हो।
नेपाली जनताले गरेको राम्रो एउटा काम के–हो भने अमेरिकन र युरोपियनहरूले जातीयतामा आधारित संघीयता बनाउन खोजेका थिए तर मुलुकलाई जातीय राज्य जनताले बचाए। अहिले भूगोलमा आधारित संघीयता छ त्यो पनि देशका लागि उपयुक्त छैन। संघीयता चलाउन जनतालाई ‘कर’ लगाउनुपरेको छ। जनताले बल्ल बुझ्न थालेका छन् कि आफूले केही नपाएपछि कर मात्रै तिर्न पर्दा जनताको मुखबाट आएको शब्द हो ‘बरु एउटा राजा पाल्न ठीक, यतिका धेरै राजा पाल्नुभन्दा’ पनि भनेर।
संघीयताका विषयमा दलका शीर्ष नेताहरूको धारणा पनि यस्तै थियो?
संघीयता स्वीकारिसकेपछि सिंहदरबारको लबीमा बसेका बेला ०६२/६३ को आन्दोलनमा हामी एउटै मोर्चामा भएकाले गिरिजाबाबुसँग मेरो सम्बन्ध राम्रो थियो। उहाँ मेरा कुरा पनि सुन्नुहुन्थ्यो। त्यसैक्रममा सोधेको थिएँ, ‘गिरिजाबाबु संघीयता मुलुकले धान्छ? तपाईंले त हुन्छ भनि दिनुभयो, तपाईंले भनिसकेपछि कांग्रेसका अरू नेताहरूले पनि हुन्छ भनेका छन् तर यो बेठीक भयो’ भनेको थिएँ। गिरिजाबाबुले भन्नुभयो, ‘अहिले योबाहेक अरु केही उपाय छैन, ४१ जना तराईमा मरिसके। त्यसैले पनि अहिले बाध्यात्मक अवस्थामा यो सहमति गरिएको हो। संविधान बनाउने बेला तर्काउन सकियो भने तर्काउने हो’ भनेर जवाफ दिनुभएको थियो। अहिलेका प्रधानमन्त्री केपी ओलीले पनि मसँग भनेका थिए, ‘ढाडमा खुट्टो परेको छ के गरी मिलाएर सुत्ने होला’ भनेर। संघीयताका विषयमा कांग्रेसका शीर्ष नेताहरू पनि पार लगाउन सकिन्छ भन्नेमा हुनुहुन्न। तत्कालीन अर्थमन्त्रीसमेत रहेका रामशरण महतले पनि संघीयता ठीक छैन मुलुकको अर्थतन्त्रले धान्न सक्दैन भनेर भन्दै आउनुभएको छ। नेपालका निर्णायक शक्ति भनेका कांग्रेस र एमाले हुन्। उनीहरूकै शीर्ष नेताहरू संघीयताका विषयमा प्रस्ट छैनन्।
सरकारको नीति तथा कार्यक्रमले जनताको अपेक्षा कत्तिको सम्बोधन गर्यो ?
सरकारको नीति तथा कार्यक्रम यथास्थितिमै रह्यो। सरकारले समृद्धिका चर्का कुरा गर्छ। समृद्धिका लागि सबैभन्दा पहिलो कुरा त सु–शासन हो। सु–शासन ल्याउनै सकेको छैन। झन् राष्ट्रपतिले मेरो सरकार भनेर नभनिदिएको भए हुन्थ्यो भन्ने लाग्यो। मैले कहीं पढे। २१ ठाउँमा मेरो सरकार भन्नुभएको रहेछ। यो जनतालाई उपेक्षा गर्ने प्रवृत्ति भएन र? सबै समेट्नुपर्ने अहिलेको महत्वपूर्ण कुरा हो। अहिले माफिया, ठेकदार र तस्करहरूको बोलवाला छ। तिनीहरूकै उपस्थिति सत्तारूढ पार्टीमा बाक्लो छ। उनीहरूले सरकारलाई चल्नै दिन्नन्। त्यसैले यी कुरा जरैदेखि नउखलेसम्म समृद्धि त आउँदैन। समृद्धि ल्याउने भनेको जनशक्ति हो। मान्छे अर्थात् जनशक्तिलाई देशमै टिकाइराख्ने योजना पनि सरकारसँग छैन। दैनिक १५ सय हाराहारी नेपाली विदेशिन बाध्य छन्। नेपालमै रोजगारीको अवस्था सिर्जना गर्नुको साटो श्रम सम्झौता नभएका देशहरू खोजेर त्यहाँ युवा पठाउने गरी श्रम सम्झौता गर्दै हिँडेको छ। अहिले पनि तपाई गाउँ घरमा जानुस् युवाहरू नै छैनन्। हिन्दू धर्मशास्त्रअनुसार जन्त, मलामी पुरुष जानुपर्छ भन्ने मान्यता हो। तर अहिले ६०–७५ प्रतिशत जन्ती तथा मलामी महिला हुने गरेका छन्।
तपाईंहरू त सत्तारुढ दल पनि, अबको अपेक्षा के हो ?
हाम्रो अपेक्षा भनेको, यो शक्तिशाली दुईतिहाइको सरकार छ। सरकारले ठूला कुराभन्दा पनि दैनिक जनजीविकासँग जोडिएका काम गरी देखाउने बेला आएको छ। जनताले प्रत्यक्ष रूपमा आफूले लाभ नपाउँदासम्म सरकारको विपक्षमा माहोल बढ्छ र यसले आगामी राजनीतिमा पनि प्रभाव पार्ने भएकाले अहिले नै यस विषयमा सचेत भएर सरकार हिँड्नुपर्छ।