नेपाली कांग्रेसको ९ दिनसम्म चलेको महासमिति बैठकले विधान संशोधन गरेर पार्टीलाई संघीय संरचनामा लैजाने लगायतका महत्वपूर्ण निर्णय गरेको छ। महासमिति बैठकबाट शीर्ष नेताहरूबीच विवाद नरहेको सन्देश गएको कांग्रेसको दाबी छ। कांग्रेस उपसभापति विमलेन्द्र निधिले कांग्रेसभित्र अब गुट–उपगुटको च्याप्टर क्लोज भएको दाबी गर्छन्। उनी भन्छन्–व्यक्तिगत स्वार्थका आधारमा जुन गुट–उपगुटहरू निर्माण हुन थालेको थियो त्यो च्याप्टर क्लोज भएको छ। भर्खरै सकिएको महासमिति बैठक, त्यसका निर्णय र बैठकले कार्यकर्तालाई दिएको सन्देश? अब कांग्रेस कसरी अघि बढ्छ? भन्ने विषयमा केन्द्रीत रहेर उपसभापति निधिसँग स्पेसखबरले गरेको कुराकानीको सम्पादित अंशः
-नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भएको छ। समग्रमा महासमिति बैठक कस्तो रह्यो?
यो महासमिति बैठक अत्यन्त सफल भएको छ। हाम्रै पार्टीका साथीहरू, शुभेच्छुकहरू र देशभरबाट पनि कांग्रेसको महासमिति बैठक कुन किसिमले सम्पन्न हुँदैछ भनेर हेरिरहेका थिए। कांग्रेसका नेताहरू आपसमा मिलेका छैनन्, महासमिति बैठक सफल हुँदैन कि भन्ने चिन्ता व्यक्त गर्दै चासोपूर्वक उनीहरूले हेरिरहेका थिए। त्यसको ठीक विपरित सुखद रूपमा कांग्रेसको महासमिति बैठक सम्पन्न भएको छ।
यो महासमिति बैठकको सबैभन्दा महत्वपूर्ण काम भनेको पार्टीको विधान संशोधन गर्नुपर्ने थियो। यसका साथै, राजनीतिक एजेण्डाहरूलाई टुंगो लगाउनका लागि महासमिति बैठक महत्वपूर्ण थियो। त्यस्तै संगठन र सरकारको विषयमा पनि महत्वपूर्ण निर्णयहरू गर्नुपर्ने थियो। यी सबै विषयमा अत्यन्त प्रष्टताका साथ एउटा दिशा निर्देश गर्दै एकताबद्ध भएर आपसी विवादलाई सल्ट्याएर ह्याप्पी इण्डिङ्गमा महासमिति बैठक सम्पन्न भएको छ।
-महाधिवेशन लम्बिदा कतिपयमा असन्तुष्टि पनि देखिएको थियो। त्यसको असर तल्लो तहका कार्यकर्तामा पुगेर कतै उनीहरू निराश भएका त छैनन्? महासमिति बैठकले त नयाँ उत्साह थप्नुपर्ने होइन र?
विलकुल यो महासमिति बैठकले तल्लो तहका साथीहरूमा नयाँ उत्साह थप्ने काम गरेको छ। गत वर्ष चुनाव हारेर जुन एउटा निराशा, कुण्ठा, आक्रोश र एक अर्कामाथि दोषारोपण गर्ने वातावरणबाट कांग्रेसका कार्यकर्ताहरू पीडित थिए।
बैठकपछि देशभरका साथीहरूमा त्यसमा एउटा नयाँ उत्साह आएको छ। भरोसा वृद्धि भएको छ। आपसमा जतिसुकै द्वन्द्व भएपनि, मनमुटाव भएपनि अन्ततोगत्वा कांग्रेसले सहि दिशा लिन्छ, सहि निर्णय गर्दछ भन्ने सन्देश गएको छ। हिजोका दिनमा गणेशमानजी, किसुनजी, गिरिजाबाबुले जसरी सुझबुझपूर्ण ढंगबाट आन्तरिक विवाद हल गर्ने गर्नुहुन्थ्यो, आजको दिनमा पार्टीको नेतृत्व सम्हालेका नेताहरूमा पनि परिपक्वता छ भन्ने सन्देश पनि गएको छ।
अर्कातिर प्रतिपक्षीहरूमा पनि यसको सकारात्मक सन्देश गएको छ। सत्तापक्षले दुई तिहाइको द्वन्द्व बोकेर आफूलाई अगाडि बढाइरहेको छ। जसले कांग्रेस त अब भित्तामा सो केशको रूपमा सीमित हुन सक्छ, थन्क्याउँछाँै भन्दै आएका थिए, तिनीहरूलाई पनि यो महासमिति बैठकले मुखभरीको जवाफ दिएको छ। देश, विदेशबाट आएर महासमिति सदस्यहरूले १० दिनसम्म काठमाडौंको चिसोमा यस्तो दुःख कष्ट ब्यहोरेर पनि सक्रियपूर्वक बैठकमा भाग लिनु भयो। उद्घाटन पार्टी प्यालेसमा भएपनि समापन कार्यक्रम आफ्नै पार्टी कार्यालयमा भयो। महासमिति बैठकले देशभरका साथीहरूमा एकताको सन्देश दिएको छ।
आपसमा मेलमिलाप गरेर कांग्रेसलाई संघीय संरचना अनुसार पुनःसंगठित गर्दै आगामी दिनमा निर्वाचन पनि जित्न सक्ने अठोटका साथ सरकारको अधिनायकवादी र सर्वसत्तावादी प्रवृत्तिका विरूद्धमा लड्ने साहस उर्जा लिएर साथीहरू आ–आफ्नो कार्यक्षेत्रमा जानु भएको छ।
-महासमिति बैठकमा केही जिल्ला सभापतिले सांसद र केन्द्रीय समितिमा आरक्षण सधैँका लागि नभई एक पटकका लागि मात्र हुनुपर्दछ भनेर मुद्दा उठाएका थिए। यसैगरी केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू पनि तल्लो तहबाट निर्वाचित भएर आउनु पर्ने उनीहरूको माग थियो। त्यसको सम्वोधन अब कसरी गर्ने त?
यसका बारेमा अलग–अलग धारणा थिए। सभापतिहरूले राख्नु भएको एजेण्डा एक किसिमको थियो। सबैले बुझ्नुपर्ने कुरा के हो भने यो महासमिति बैठक जिल्ला सभापतिहरूको मात्र होइन, देशभरिका महासमिति सदस्यहरूको बैठक हो। तर, पनि सभापतिहरूले राखेको विचारलाई सकारात्मक रूपमा केन्द्रीय समितिले छलफल गरेर टुंगो लगाउँछ। त्यसको टुंगो लगाउन बाँकी नै छ।
अर्को, दुई पटक समानुपातिकमा अवसर दिनु हुँदैन भन्ने कुराका परिणामहरूका बारेमा पनि छलफल गरेर नै हामी आउँछौँ। यी दुईवटा एजेण्डा मात्र होइन, त्यो भन्दा पनि महत्वपूर्ण कुरा के छ भने महासमितिले आठ जना सह–महामन्त्रीहरू क्लष्टरका आधारमा निर्वाचित हुने व्यवस्था गरेको छ। त्यो आफैमा अत्यन्त महत्वपूर्ण छ।
-तर, ८ जना सहमहामन्त्री क्लष्टरबाट आउने विषयमै केन्द्रीय कार्य समितिका कतिपय पदाधिकारी र सदस्यले आपत्ति जनाए नि किन होला? यसमा तपाईँको धारणा के हो?
सभापति शेरबहादुर देउवाजी र हामीहरूले समावेशी राजनीतिको प्रवेश पार्टीमा धेरै पहिला गराएका हौं। तपाईँहरू सबैलाई याद होला ‘कदमजम’ भन्ने नारा हामीले नै ल्याएका हौं। नेपाली कांग्रेसमात्र होइन, देशको संविधान पनि ‘कदमजम’कै नारा अनुसार निर्माण भएको छ। त्यसकारण आफ्नो संगठित संरचनामा अब त्यो ‘कदमजम’लाई सह–महामन्त्रीको ८ वटा पद सिर्जना गरेर ‘कदमजम’कै सिद्धान्तमा निर्वाचित हुनुपर्ने प्रावधान राखेर कांग्रेस समावेशी पार्टी बनाएको छ।
तपाईँले भनेजस्तै कतिपय पदाधिकारीहरू र केन्द्रीय सदस्य साथीहरूले यसरी क्लष्टरको आधारमा गर्नु उपयुक्त हुँदैन, सबैका लागि खुला गर्नुपर्छ भनेर भूगोलका आधारमा प्रतिनिधित्व गराउनु पर्ने कुरा पनि गर्नु भएको थियो। सातवटा प्रदेश छन् बरू सातवटा प्रदेशबाट निर्वाचित गराएर ल्याउनु पर्छ भन्ने कुरा पनि केन्द्रीय समितिका पदाधिकारी र केही शीर्ष नेताहरूले राख्नु भएको हो। तर, ‘कदमजम’मा पार्टी सभापति शेरबहादुर देउवा प्रतिबद्ध हुनु भयो। त्यसैले उहाँलाई म उदार नेता भन्छु। र समावेशिताको सिद्धान्तप्रति प्रतिबद्ध भन्छु। हामीले जसरी पनि कांग्रेसलाई समावेशी पार्टी बनाउनै पर्छ। अब यो क्लष्टरलाई प्रतिनिधित्व दिनैपर्छ भनेर नै निर्णय ग¥यौं। त्यही अनुसार विधानमा जुन संशोधन भएको छ, यो अरूभन्दा महत्वपूर्ण उपलब्धी हो भन्ने मलाई लाग्छ।
-महासमिति बैठककै क्रममा खासगरी पार्टी महामन्त्री र केही नेताहरूले हिन्दू धर्मको कुरा उठाउनु भएको थियो। तर परिवर्तनको एजेण्डबाट पछाडि फर्कनु हुँदैन भनेर धर्म निरपेक्षतामा तपाईँ स्पष्ट रूपमा अडिग हुनुभयो र हुनुहुन्छ पनि। अब उहाँहरूले उठाएको हिन्दू धर्मको एजेण्डा कता पुग्यो त?
पहिलो कुरा हामी के मा प्रष्ट हुनुपर्छ भने नेपाली कांग्रेस पार्टी हिन्दू धर्ममा आधारित पार्टी होइन। र यो देश पनि हिन्दू धर्ममा आधारित देश होइन। संविधान पनि हिन्दू धर्ममा आधारित संविधान होइन। राज्य पनि हिन्दू धर्मको आधारमा निर्माण भएको होइन।
नेपाली कांग्रेसले शुरूदेखि नै धार्मिक स्वतन्त्रता अवलम्बन गरेको छ। त्यसमा विश्वास गरेको छ। अहिले पनि धार्मिक स्वतन्त्रतालाई हामीले स्वीकार गरेका छौं। धर्मनिरपेक्षता भनेकै धार्मिक स्वतन्त्रता हो। अहिलेको संविधानले धर्म निरपेक्षतालाई स्वीकार गरेको छ। राज्य धर्मनिरपेक्ष हुन्छ। राज्यको कुनै एउटा धर्म विशेष हुँदैन। त्यसकारण अहिलेको एजेण्डामा हिन्दू राष्ट बनाउने भन्ने कुरा स्वीकार गरिएको छैन। मैले जसरी प्रस्तुत गरेको थिएँ, र देशको संविधानमा राज्यको पुनर्संरचनामा जसरी धर्म निरपेक्ष राज्यका रूपमा घोषित भएको छ, कांग्रेसको यो महासमिति बैठकले त्यही एजेण्डालाई पारित गरेको छ।
अब हिन्दू धर्मको कुरा? म आफू पनि हिन्दू हुँ। हिन्दू धर्ममा विश्वास गर्छु। म तीन पटकसम्म दोहो¥याएर भन्न चाहन्छु कि नेपालको समाजमा हिन्दू धर्म मान्नेहरूको संख्या बहुमतमा छ। यसमा लाज मान्ने कुरै छैन। म हिन्दू हुँ भन्ने कुरामा मलाई पनि गर्व छ। तर सँगसँगै वुद्धिष्ट धर्मावलम्बी, जैन धर्मावलम्बी, मुसलमान धर्मावलम्बी, क्रिस्चियन धर्म मान्नेहरू आफ्नो धर्मप्रति गर्व गर्छन् भने त्यो स्वतन्त्रता राज्यले दिनुपर्छ। हिन्दू धर्म पनि उदार धर्म हो। उदात्त धर्म हो। हिन्दू धर्म भनेको अरू धर्मलाई नमान्ने धर्म होइन। हिन्दू धर्मबारेमा बडो गजब छ। हिन्दूत्व मान्नुस् या नमान्नुस् तैपनि तपाईँ हिन्दू हुन सक्नुहुन्छ। यतिसम्म उदार छ, हिन्दूधर्म।
त्यसकारण यो समाज हिन्दू हो, तर राज्य चाहिँ हिन्दू होइन। राज्य त राजनीतिक रूपमा धर्मनिरपेक्ष राज्य हो। धर्म निरपेक्षता शब्दको अर्थ नजान्नेहरूले अथवा जान्न नचाहनेहरूले यो धर्म निरपेक्षता भनेको हिन्दूधर्म विरोधी हो भन्ने ठान्छन्। धर्म निरपेक्षता भनेको हिन्दू धर्मको विरूद्ध होइन। अथवा कुनै पनि धर्मलाई मान्दै नमान्ने भन्ने पनि होइन। धर्म निरपेक्षता भनेको धर्म परिवर्तन पनि होइन। धर्म परिवर्तनलाई हाम्रो समाजले, हाम्रो कानूनले, हाम्रो संविधानले दण्डनीय मानेको छ।
धर्म परिवर्तनलाई आज केही साहित्यकार वा लेखकहरू धर्मान्तरण लेख्नुहुन्छ। तर नेपालको राजनीतिक शब्दावलीमा नेपालको संवैधानिक, कानूनी भाषामा सर्बथा उपयुक्त शब्दावली धर्म परिवर्तन हो। धर्म परिवर्तन दण्डनीय हो। नेपाली कांग्रेसले पनि त्यो मान्दछ। नेपालको संविधानले पनि त्यो मानेको छ। त्यो भनेको धर्मनिरपेक्षताकै उन्नत रूप हो। धार्मिक स्वतन्त्रताकै उन्नत रूप हो। त्यसकारण धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षता एउटै विषय हो। त्यसबाट कांग्रेस अलग भएको छैन। यसमा हामीले आ–आफ्नो धर्म मान्दा हुन्छ। मान्नु पनि पर्छ। र हरेकले हरेक धर्मलाई सम्मान पनि गर्नुपर्छ।
-महासमिति बैठक समापनका क्रममा सभापति र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एकमत देखियो। उहाँहरूले कार्यकर्तामा कस्तो सन्देश दिन खोज्नु भएको होला?
नेपाली कांग्रेसमा लौ अब शेरबहादुर र रामचन्द्रबीच विवाद भयो। पार्टीमा गुटबन्दी बढ्यो। एउटा गुटको प्रतिनिधित्व शेरबहादुरजी र अर्को गुटको प्रतिनिधित्व रामचन्द्रजी गरिरहनु भएको छ। मिल्दै नमिल्ने भयो भन्ने जुन चिन्ता थियो। त्यस्तै चिन्ता अरू पनि उपगुटहरूको बारेमा पनि छ। साथीहरूमा रहेको चिन्ता दूर भएको छ। र शेरबहादुरजी र रामचन्द्रजी दुबै जनाले बडो विवेकपूर्ण तरिकाले, वुुद्धिमतापूर्ण तरिकाले, बडो सौहाद्रपूर्ण तरिकाले, दूरदर्शी भएर आपसमा एउटा एकता र मेलमिलापको प्रदर्शन गर्नु भएको छ।
हामीले बुझ्नुपर्ने कुरा के हो भने यो एजेण्डामा निर्धारित हुन्छ, कार्यक्रममा निर्धारित हुन्छ। के हुन्छ भने फरक–फरक धारणा, मतभेद, गुट भनेको जब विचारको आधारमा जब नीतिका आधारमा, जब कार्यक्रमका आधारमा हुन्छ त्यसले अन्ततोगत्व सहि दिशा दिन्छ। कहीँ न कहीँ समाधान दिन्छ। एकता हुन्छ। तर, व्यक्तिगत स्वार्थ, पदीय महत्वकांक्षाले जब गुटको निर्माण हुन्छ, गुटको प्रतिनिधित्व हुन्छ, बहस हुन थाल्छ, प्रतिद्वन्द्वीता हुन्छ त्यसले राम्रो दिशा दिँदैन। त्यसकारण अन्ततोगत्व यो महासमिति बैठकमा के देखिएको छ भने व्यक्तिगत स्वार्थका आधारमा जुन गुट–उपगुटहरू निर्माण हुन थालेको थियो त्यो च्याप्टर क्लोज भएको छ। अब विचार, नीति, कार्यक्रम, लक्ष्यका आधारमा उहाँहरूले एकता प्रदर्शन गर्ने कोशिश गर्नु भएको छ। त्यो सबैभन्दा राम्रो पक्ष हो।
-कतिपय युवा नेताहरू देउवा र पौडेल उमेरले बुढा भए। अब राजनीतिबाट विश्राम लिनुपर्छ भनिरहेका छन् नि?
युवा नेताहरूको युवा जोश र युवा क्षमताको म पनि प्रशंसा गर्छु। म पनि युवा थिएँ कुनैबेला। अहिले पनि युवा नै छु। तर, युवाहरूले अझै परिपक्वता देखाउनु आवश्यक छ।
-पार्टीका विभिन्न विभागहरू र तपाईँ आफैं संयोजक रहेको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले कहिले पूर्णता पाउला?
अब छिटो प्रशिक्षण प्रतिष्ठानले पूर्णता पाउँछ। अरू विभागहरूले पनि छिट्टै पूर्णता पाउँछन्। त्यसपछि देशभरिमा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न तहमा प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन गर्छ। यस्तो प्रशिक्षणबाट देशभरका साथीहरू थप उत्साहित हुनेछन्।