केपी ओली नेतृत्वको सरकार प्रवेशकाे सम्भावना सकिएपछि राजपाले आफ्ना मुद्दाका बारेमा सोच्ने मौका पाएकाे छैन भन्दा नि हुन्छ। आन्तरिक विवाद उत्कर्षमा पुगेकाले नै राजपा मधेसका मुद्दा बिर्सिएजस्तै भएको छ। सुरूमा सरकारमा जाने कि नजाने भन्ने विषयमा आन्तरिक विमत्ति, त्यसपछि संसदीय दलको नेता चयन र पछि विधान संशोधनको चटरोका कारण राजपाले आफ्नो मुद्दा बिर्सियो भन्ने आरोप पनि लागेको छ।
तर, राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा समय आएपछि अधिकार प्राप्तिका लागि राजपा अगाडि बढ्ने बताउँछन्। उनी भन्छन्,'हामीले हाम्रो मुद्दा बिर्सिएका छैनौं, समय आएपछि त्यसको पहल गर्ने हाम्रो रणनीति छ। राजपा अहिले पर्ख र हेरको रणनीतिमा भएका कारण सरकारका क्रियाकलाप नियालिरहेको छ।'
पूर्व उद्योगमन्त्री समेत रहेका झा रौतहट-१ बाट निर्वाचित सांसद हुन्। उनीसँग समसामयिक विषयमा स्पेसखबरले गरेकाे संक्षिप्त कुराकानी:
निर्वाचनका बेला राजपाका सबैजसो नेताले संविधान संशोधन र आफ्ना मुद्दाहरूलार्इ सम्बोधन गराउन सडक र सदनबाट एकैपटक संघर्ष गर्ने जनतासामु प्रतिवद्धता गरेका थिए, तर अहिलेसम्म न संविधान संशोधन भएको छ न राजपाले राखेका मागहरू पूरा भएका छन्। राजपाले किन विश्राम लिइरहेको छ?
राजपाले कुनै विश्राम लिएको छैन। ६ महिना, ४ महिना र २ महिना पहिले राजपा जे थियो अहिले पनि त्यही छ। राजपाले आफ्ना मुद्दाहरूलार्इ विर्सिएको छैन। एउटा राम्रो समय भने कुरेर बसेको हो। यसमा मान्छेहरूको आ-आफ्नो मूल्यांकन हुन सक्छ। तर, राजपा निर्वाचनका बेला जे थियो अहिले पनि त्यही छ, रत्तिभर पनि बदलिएको छैन।
निर्वाचनका बेला जसरी तातेकाे थियो त्यसरी नै अहिले चिसिएजस्तो देखिन्छ नि!
मानिसले हरेक कुरालार्इ आ-आफ्नो तरिकाले हेर्छन्। जसले जसरी हेरे पनि साँचो कुरा हामीलार्इ मात्र थाहा छ। हामीले पहिले जे गरिरहेका थियौं अहिले पनि त्यही गरिरहेका छौं। हामीले सङ्घर्ष गरिरहेका छौं र भोलि पनि गर्नेछौं। हामी तातियौं भने काठमाडौंले राम्रो मान्ला त? काठमाडौं देशको राजधानी हो हामी फेरि तातियौं भने काठमाडौंलार्इ घाटा नहोला तर, छलफलमै सामाधान हुने कुरामा त्यतिकै तातिएर राजधानीलार्इ दुःख दिने काम मात्र नगरेको हो। पहिले ग्याँस, पेट्रोल नपाएर दुःख भोगेको हामीले पनि देखेका छौं। त्यसैले हामी आफ्नो रणनीतिक उदेश्यबाट विचलित भएकै छैनौं।
अब कसरी अगाडि बढ्नुहुन्छ?
हामीले आफ्ना कदमहरू अगाडि बढाइरहेका छौं। संविधान संशोधन, हाम्रा थुनिएका साथीहरूको रिहाइको सन्दर्भ होस् वा मधेस आन्दोलनका एजेण्डा कार्यान्वयन गराउने सन्दर्भ होस्। यी र यस्ता तमाम विषयहरू सरकारले गम्भिरताका साथ लिएर यो काम गरिदेओस् भन्ने हाम्रो चाहना हो। त्यसको लागि हामी समय समयमा सरकारलार्इ घच्घच्याउँछौं, प्रधानमन्त्रीलार्इ भन्छौं र संसदमा पनि बोल्छौं। संसदमा पनि नसुनेपछि सडकमा जानुपर्ने बाध्यता आइपर्छ। यसमा राजपा मात्र होइन कुनै पनि पार्टीले संसदमा बोलेको कुराको सुनुवाइ भएन भने सडकमा जानुपर्छ। अहिले हामी संसदबाटै, सरकारको माध्यमबाट नै समस्याको सामाधान खोजिरहेका छौं।
राजपाको सरकारमा जाने कुरा सेलाएकाे हाे?
त्यो त उहिल्यै सकिइसकेको हो नि। यो कुरा कसैले सोधेपछि गाली गरेजस्तो लाग्छ।
राजपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको हाे?
विवाद सकिएको हो। राजपामा सबै विवाद सर्वसम्मत निर्णय भइरहेको छ। विवाद क्रियट गरेपछि भइहाल्छ नि। एउटालार्इ रावण र अर्कोलार्इ कंश बनाउने चलन छ हाम्रो समाजमा। राजपामा त्यस्तो ठूलाे विवाद कहिल्यै छैन। राजपा आफ्नो मुद्दामा अडिग छ। र, संगठन सञ्चालनमा राम्रो छ।