कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसियसनको निर्वाचन यही चैत १६ गते हुँदैंछ । निर्वाचनमा प्रगतिशील र लोकतान्त्रिक समूह आ–आफ्नो प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । प्रगतिशील समूहको नेतृत्व चण्डेश्वर श्रेष्ठले गरेका छन् भने लोकतान्त्रिक समूहलाई सुनीलकुमार पोखरेलले नेतृत्व गरेका छन् । प्रगतिशील प्यानलको नेतृत्व गरेका श्रेष्ठले विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानव अधिकारको रक्षा र कानुन व्यवसायीको हक–हितको सुरक्षालाई आफ्नो समूहले मूल एजेण्डा बनाएको बताएका छन् । प्रस्तुत छ स्पेसखबरले श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
तपाईको उम्मेदवारी किन ?
विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानव अधिकारको रक्षा र कानुन व्यवसायीको हक–हित सुरक्षित गर्न मेरो उम्मेदवारी हो । यी कुराका लागि सफल र सबल नेतृत्व आवश्यक पर्ने भएकाले मेरो उम्मेदवारी यी मुलभूत रुपमा चार कुरामा केन्द्रित रहेको छ । यसका लागि मेरो नेतृत्वमा समूह बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छौं ।
अहिलेको नेतृत्व के तपाईले भनेको जस्तो छैन र ?
अहिले बार त छ, तर हामीले भनेका चार उद्देश्य पूरा गर्न सफल भइराखेको छैन । अहिले तीन वर्षको कार्यकालमा प्रधानन्यायाधीशको नियुक्ति, न्यायपरिषद्, भ्रष्टाचार र कानुन व्यवसायीको हक हितको विषयमा बारले प्रतिष्ठा जोगाउन सकेन । कानुनले न्यायाधीशको नियुक्तिसम्बन्धी न्यूनतम योग्यता तोकेको छ । यस्तो योग्यता तोक्दैमा न्यायाधीश हुन पाइँदैन । योग्यता, दक्षता र अनुभव पनि जाँच गर्नु पर्छ । न्यायाधीश हुने व्यक्तिको नैतिक धरातल पनि उच्च हुनुपर्नेमा अहिले त्यस्तो अवस्था छैन ।
न्यायाधीश नियुक्तिमा सरकारी हस्तक्षेप गराउनुमा तपाईंहरुको पनि दोष होला नि ?
यदाकदा यस्ता गल्ती भएका छन् । यसमा समूहको दोष छैन । हाम्रो समूहले बारको नेतृत्व गर्दा धेरै राम्रा काम गरेका छन् । बासुदेव ढुंगानाको पालामा हामी अधिकार प्राप्त गर्न सफल भएका थियौं । त्यस्तै शम्भु थापा अध्यक्ष भएका बेला नेपाल बारको प्रतिष्ठा उच्च थियो ।
हरिकृष्ण कार्कीको पालामा पनि बारमा समस्या भएन । हो, निर्वाचित हुने बेला कार्कीले प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । तर राज्यले महान्यायाधिबक्ता जस्तो पदमा उहाँको आवश्यकता देखेर नै लगेको हो । उहाँले राम्रो काम गर्नुभएको थियो । हामीले यसमा यत्ति मात्र भन्छौं त्यतिबेला अविछिन्न रुपमा बारको नेतृत्व गर्नुपर्नेमा केही गल्ति भएको हो । तर त्यो ठूलो गल्ति होइन । त्यसैले अहिले त्यस्तो नगर्ने प्रतिबद्धतासहित मेरो नेतृत्वमा टिम बनाएर चुनावी मैदानमा उत्रिएका छौं ।
मतदाताले विगत दोहोरिन्छ कि भनेर प्रश्न पनि गरेका होलान् नि ?
यसअगाडिको बारको निर्वाचनमा थुप्रै प्रश्न उठेका थिए । त्यसलाई मध्यनजर राख्दै यसपटक २५ कानुन व्यवसायी साथीहरुले व्यवहारमा उतार्नका लागि प्रतिबद्धता पनि गरेका छौं । यसपटक निर्वाचित हुने कुनै पनि व्यक्ति बारलाई छाडेर अन्यत्र नियुक्ति खानका लागि दौडिँदैन ।
न्यायपालिकामा सरकारी हस्तक्षेप बढ्दै गएको चर्चा छ । यसमा बारको भूमिका कस्तो हुन्छ ?
जब–जब बार सबल र सक्षम हुन्छ त्यतिबेला न्यायपालिकामा कतैबाट हस्तक्षेप भएको हुँदैन । भ्रष्टाचारमुक्त र स्वतन्त्र न्यायपालिका रहेका बेला कतैबाट हस्तक्षेप हुँदैन । तर बार कमजोर भयो भने खबरदारी गर्ने संयन्त्र कमजोर हुन्छ र यतिबेला सरकारी हस्तक्षेप बढेको जस्तो देखिन्छ । त्यसैले न्यायपालिकालाई उच्च सम्मानित अवस्थामा राख्न बारलाई सबल नेतृत्वको आवश्यकता परेको छ । सबल बार बनाउने टिमको नेतृत्व गर्न हामी तयार छौं । हामी निर्वाचित भएर गएपछि अहिलेसम्म भएका कमी कमजोरी दोहोरिने छैनन् ।
कुनै राजनीतिक दल विशेषबाट निर्देशित हुन्छ कि नेपाल बार ?
बिलकुलै हुँदैन । मेरो टिमको स्प्रिट के हो भने राजनीति बाहिर गर्नु पर्छ । बारको लागि विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानव अधिकार र कानुन ब्यवसायीको हकहित र सुरक्षाको ग्यारेन्टी मूल गन्तव्य हो । त्यो पुरा गर्न राजनीतिक आस्थाबाट होइन ब्यवसायिक निष्ठाको आधारबाट अघि बढ्ने छौं । हामीले राजनीतिक आस्थाका आधारमा कतै पनि विभेद गर्दैनौं ।
न्यायमा जनताको पहुँच सहज बनाउन बारका तर्फबाट कस्तो भूमिका खेल्नुहुन्छ त ?
न्याय महँगो भएको छ । अहिलेको संहिता आएपछि न्याय महँगो भयो भनेर हामीहरुबीच पनि चर्चा चलेको छ । न्याय सर्वसुलभ बनाउन हामी आवश्यकता अनुसारको काम गर्ने प्रक्रियामा अघि बढ्ने छौं । हिजो जनसंख्याको साढे २ प्रतिशतमा मात्र न्यायमा पहुँच पुगेको थियो । तर नयाँ संविधानमा न्यायमा जनताको पहुँच पु¥याउन न्यायिक समितिको व्यवस्था भएपछि क्रमशः सुधार हुँदै गएको छ । तर ती समितिहरुमा कानुन व्यवसायीको सहभागीता निश्चित भएको छैन । त्यसैले ‘कानुनको अज्ञानता क्षम्य हुँदैन’ भन्ने मूल मान्यतालाई अंगिकार गर्ने हो भने त्यस्ता समितिहरुमा कानुन व्यवसायीको सहभागीता गराउनु पर्छ । त्यसका लागि हामीले पहल गर्ने छौं ।
बार र बेन्चको सम्बन्ध कस्तो हुन्छ ?
बार र बेन्चको सम्बन्ध भनेको न्यायिक नेतृत्वबाट राम्रो कामको थालनी हुँदा हामी सधैं सहयोग गर्न तयार छौं । तर गलत काम हुँदा खबरदारी गर्न छाड्दैनौं ।