वीपी कोइरालाले २००३ सालतिर भारतबाट सबै प्रजातन्त्रबादी मिलेर नेपालमा प्रजातन्त्र ल्याउनु पर्छ, राणा शासन हटाउनु पर्छ भनेर घोषणा गर्नुभयो। त्यतिबेला भरत शमशेर सेन्टजेभियर्स स्कूलमा पढ्दै हुनुहुन्थ्यो। सोही स्कूलका एक जना शिक्षकबाट उहाँले प्रजातान्त्रिक समाजबादका बारेमा धेरै कुरा बुझिसक्नु भएको रहेछ।
वीपीले भनेको कुरा सुनेपछि भरत शमशेरले पनि म त्यही लाग्छु भन्नुभयो। भरत शमशेर र बबर शमशेरको दाजु भएर पनि राणा शासनविरुद्धको आन्दोलनमा सरिक हुनु भएको कुरा किसुनजीले आफुनो किताबमा पनि उल्लेख गर्नु भएको छ। नेपाल आएपछि उहाँ कांग्रेसमा प्रवेश गर्न खोज्नु भयो। बबर शमशेरको नातेदार भएकाले कांग्रेसले ल्याउन मिलेन। अनि उहाँ टंकप्रसाद आचार्यकोमा जानु भयो। तर, टंकप्रसादसंग बस्न उहाँलाई त्यति मन परेन। उहाँले गोरखा परिषदलाई अगाडि बढाउनु भयो। राष्ट्रबाद, प्रजातन्त्र र शोषणरहित समाज गोरखा परिषदको मौलिकता थियो। शोषणरहित समाजप्रति पहिल्यैदेखि उहाँको लगाब थियो। पछिसम्म अडिग रहनु भयो। कसैको थिचोमिचो सहन नसक्ने उहाँको स्वभाव थियो।
पछि एउटा घटना भयो। धेरै मानिसले भरत शमशेरले वीपी कोइरालालाई मार्न कोशिस गर्नुभयो भनेर भने पनि। त्यतिबेला वीपीलाई मार्न खोजिएकै हो। तर, भरतको त्यसमा कुनै हात थिएन। त्यो घटनामा गोरखा परिषदका केही मान्छे लागेका थिए। त्यसबारे वीपीले नै लेख्नु भएको छ,‘ त्यही बखत २००७ सालपछि लगत्तै राणाहरुले गोरखा दल भन्ने निकाले। म गृहमन्त्री थिएँ। म पनि अनुभवविहीन मानिस। जनता पनि त्यस्तै। आज उडाउँछन् कि भोलि उडाउँछन् कि भनेर हामीलाई रिपोर्ट आउथ्यो। वास्तबिक परिस्थिति त्यस्तो थियो। म कहाँ के कुरा आउथ्यो भने तिमी कारबाही गर्दैनौ, यस्तो भइसक्दा पनि चुप लागेर किन बस्छौं।’
स्वीकार्नु पर्छ केही कुरामा हाम्रो पनि कमिकमजोरी भएका थिए। वीपी, गणेशमानले जहिले पनि त्यो स्वीकार्नु हुन्थ्यो। गल्ती र कमजोरीलाई कहिल्यै उहाँहरुले ढाकछोप गर्नु भएन। त्यसैले उहाँहरुलाई सबैले श्रद्धा गर्छन्। पहिलो आम निर्वाचनमा ७४ सिट कांग्रेसले जित्यो। १९ सिट गोरखा परिषदले जित्यो। बाँकी १६ सिट कम्युनिष्ट लगायतका साना दलले जिते। कांग्रेसले स्थापनाको छोटो अवधिमै त्यति धेरै सफलता हासिल गरेको थियो। जबकि गोरखा परिषद् स्थापना भएको १०–११ वर्ष भइसकेको थियो।
राजा महेन्द्रबाट संसद भंग भएपछि कांग्रेसका तीनजना शीर्ष नेता तुलसी गिरी, ऋषिकेश शाह र विश्वबन्धु थापा राजातिर लागे। तर, राजाको सो कदमपछि भरत शमशेर विरोधी दलको नेता भएर पनि वीपीतिर लाग्नु भयो। जबकि महेन्द्रले भरतलाई सबैभन्दा बढी आफूतिर तान्न खोजेका थिए। किनभने उहाँ प्रतिपक्षी दलको नेता हुनुहुन्थ्यो। तर, उहाँ लाग्नु भएन।
८ महिनामा जेलबाट छुटेपछि वीपीसंगै राजाको विरोध गर्छु भनेर उहाँ कलकत्ता जानुभयो। सशस्त्र क्रान्ति भयो। कलकत्तामा उहाँको हत्या गर्न भनेर काठमाडौंबाट दुई पटक मान्छेहरु गएका थिए। तर, दौडधुप गरेर उहाँ बाँच्न सफल हुनुभयो। वीपीले शुरु गर्नु भएको सशस्त्र आन्दोलनमा उहाँले ठूलो मद्धत गर्नुभयो। कहीँ केही भयो भने आफैं अगाडि पुगिहाल्ने उहाँको स्वभाव थियो।
वीपीको देहान्तपछि नेपाल आउन कम गर्नुभयो उहाँले। जनमत संग्रह र २०४६ को आन्दोलनमा भने काठमाडौं आएर उहाँले सक्रिय भूमिका निर्बाह गर्नुभएको थियो। पार्टीलाई कसरी समाजबादी बनाउने भन्ने विषयमा वीपीसंग सबैभन्दा धेरै छलफल उहाँको हुँदो रहेछ। गणेशमानको सिंहको निवासमा रमाइलो मानेर बारम्बार जाने गर्नुहुन्थ्यो।
हिमालय शमशेर, राजकृष्ण श्रेष्ठ र तुलसी गिरीकोमा गइरहनु हुन्थ्यो। शोषणरहित समाजको पक्षमा लागिरहनु भएको मान्छे कांग्रेसले त्यसतर्फ पर्याप्त सोच राखेन, काम गरेन भन्ने पनि उहाँको बुझाइ थियो। सम्भवतः भरतजीको सोच अनुसार पार्टी अगाडि बढेको भए आजको कार्यक्रममा आउनु भएका डा. बाबुराम भट्टराई अन्य दलको नेताका हैसियतमा नभईँ कांग्रेसकै नेता हुनुहुन्थ्यो होला जस्तो लाग्छ।
(-कांग्रेस नेता राणाले भरत शमशेर १३ अाैं पुण्य तिथिका अबसरमा पार्टी कार्यालय सानेपामा अायाेजित श्रद्धाञ्जली सभामा व्यक्त गरेका विचारकाे सम्पादिक अंश)