संस्कृतिविद् सत्यमोहन जोशीले सुनाएका स्वर्गीय प्रधानमन्त्री कीर्तिनिधि विष्टसँग सम्बन्धित केही रमाइला संस्मरण पोस्ट गरिएका रहेछन् मेरो एक साथीको फेसब'क वालमा । जोशीले सुनाएका ती स-साना प्रसङ्गहरू पढेपछि मैले पनि मेरो सम्झनाको सन्दुक उघारेर हेर्ने र त्यहाँ रहेका कीर्तिबाबुसँग गाँसिएका मेरो स्मृतिका पानाहरूमा जमेको धूलो टक्ट्क्याउँने जमर्को गरेँ ।
उमेर, ठेगाना, पेसा, सामाजिक हैसियत, राजनीतिक लगावजस्ता धेरै कुराहरूमा कुनै तालमेल नभएका कारणले कीर्तिबाबु र म नजिक वा मित्रवत् हुने अवस्था पटक्कै थिएन, कहिल्यै भएनौँ पनि । तर संयोगवश: उहाँसँग भेट्ने अवसरहरू भने लगातार जुटिरह्यो मलाई । भलै ती भेटहरूले मलाई मात्रै एकोहोरो प्रभाव पारेको किन नहोस् ।
यो २०२२ सालको कुरो हो । म सञ्जीवनी हाइस्कुल धुलिखेलमा १० कक्षामा पढ्दा उहाँ उपप्रधान र शिक्षामन्त्रीका हैसियतले एउटा कार्यक्रममा प्रमुख अतिथि भएर आउनुभएको थियो । प्रधानाध्यापक पूर्णमान सिंह बस्नेतको आदेशमा विद्यार्थीहरूका तर्फबाट मैले बोलेको अथवा कविता सुनाएको थिएँ त्यस अवसरमा । कीर्तिबाबुलाई घत परेर हुनु पर्दछ, मलाई २५ रूपैयाँ इनाम दिनुभएको थियो । म भने उहाँको गोरो न गोरो देदिप्यमान चेहेरा र असाधारण लाग्ने लम्बाइ देखेर एकदमै हतप्रभ: भएको थिएँ । हुन त उहाँले इनाम दिएको रकम पनि त्यस समयमा ठूलै थियो । गोरखापत्रले आफ्नो ओपिनियन पेजमा छापेको लेखको पारिश्रमिक पनि २५ रूपैयाँ नै दिने गर्दथ्यो त्यतिबेला ।
म कलेज पढ्न काठमाडौं आए पनि लामघारे सुदर्शन पञ्चनेता कीर्तिनिधिसँग मेरो भेट हुने कुनै संयोग जुरेन २०२७ सालसम्म । उहाँ पञ्चायतको राजनीतिमा चतुरे सूर्यबहादुर थापाको एकलौटी हुँदै गएको वर्चस्व तोड्न कोसिस गरिरहनुभएको थियो । त्रिचन्द्र कलेजमा पढिरहेको म भने साहित्यमा जम्ने प्रयत्न गरिरहेको थिएँ । उहाँका बारेमा केही उडुवा कुरा भने सुन्दथेँ: कीर्तिनिधि जुवाको गहिरो लतमा परेका छन् । कीर्तिनिधिलाई दशैं तिहारमा राजा महेन्द्रले जुवा खेल्न पैसा दिन्छन् आदि । तर उहाँको चरित्रमा भएका सरलता, सहयोगी भावना, साहित्य-कलाको क्षेत्रमा लागेकाहरूप्रति सच्चा अनुराग र जीवन र जगतलाई हेर्ने उदार मानवीय दृष्टिकोण जस्ता अमूल्य गुणहरूका बारेमा मैले थाहा पाउँन भने केही समय अझै बाँकी थियो ।
पहिलोपटक त्यो समय आयो २०२७ सालमा । विष्ट प्रधानमन्त्री थिए । त्यतिनै बेला मेरो नजिकको भाइ बालु (अहिलेका बालकृष्ण सापकोटा, पीएचडी) लाई कतै पेस गर्न तुरुन्ता तुरुन्तै नागरिकताको प्रमाणपत्र चाहिने भएछ । जन्मजिल्ला काभ्रे, त्यसको सदरमुकाम धुलिखेल गएर लिँदा नभ्याइने । अर्को जिल्ला अथवा काठमाडौंबाट नागरिकता लिनलाई सचिव स्तरको कर्मचारीको सिफारिस चाहिने निर्णय विष्टकै क्याबिनेटले गरेको रहेछ । त्यतिबेला हामीले चिन्ने कोही सचिव थिएन । बालु रुउँला जस्तो गर्न थाल्यो ।
त्यतिबेला मैले झट्ट विष्टलाई सम्झिएँ । अर्को जिल्लाबाट नागरिकताको प्रमाणपत्र लिन विशिष्ठ श्रेणीको सरकारी कर्मचारीको सिफारिस चाहिने भन्ने, मेरो विचारमा वाहियात निर्णय गर्ने उनै प्रधानमन्त्रीले दिलाउनु पर्दछ भाइलाई नागरिकता भनेर म उसलाई लिएर भोलिपल्ट बिहान सबेरै प्रधानमन्त्री निवास गएँ ।
त्यस समय प्रम विष्ट नारायणहिटी दरबारको पुरानो दक्षिणढोकाको अगाडिपट्टिको एउटा घरमा बस्थे । उनको ढोका सबैका निम्ति खुल्ला थियो । हामी पुग्दा त्यहाँ त्यस्तै ८/१० जना मात्र थिए । हामी दुई फुच्चाहरूलाई देखेर प्रमका भान्जा नाता पर्ने स्वकीय सचिव श्येमन्त नामका पन्त वा लोहनीले कौतुकमय मुद्रामा सोधे-भाइहरूको के काम थियो ? 'प्रधानमन्त्रीज्युलाई भेट्नुछ' मैले भनेँ । 'के काम हो भन्नोस् म कामसमेत सुनाएर उहाँसँग सोध्छु,' उनले भने । मैले अलि घबराएको ध्वनिमा आफूलाई परेको समस्या सुनाएँ । मेरो कुरा सुनेर छक्क परेका ती सचिव अलमलिएको मुद्रामा प्रम बसिरहेको कोठामा गए ।
त्यसको त्यस्तै ५ मिनेटपछि नै प्रधानमन्त्री कीर्तिनिधि विष्टको उन्मुक्त हाँसो सहितको धोत्रो स्वर आगन्तुक कक्षमा गुञ्जियो । 'ए भाइहरू म प्रधानमन्त्रीले नै सिफारिस गर्नु पर्यो त तपाइँहरूको नागरिकताका लागि ?'
'जसरी भएपनि आज नागरिकता बन्नू पर्यो' मैले अलि दबेको स्वरमा भनेँ ।
'ल ल । ए श्येमन्त सचिव प्याकुरेललाई भन्दे त भाइहरूको काम गर्दिनु भनेर । हिजो मात्र बढुवा भएको उनले नि गज्जबको काम पाउने भए ।' विष्टले आदेश दिए । श्येमन्तले प्रमको कार्यालयमा अघिल्लो दिनदेखि हाजिर भएका नयाँ सचिव वासुदेव हो या बलराम प्याकुरेललाई टेलिफोन गरिदिए र हामीलाई उनको पुरानो बानेश्वरको घरको लोकेसन सम्झाएर बिदा गरे । हिँड्ने बेलामा मैले कृतज्ञ भएर गरेको नमस्कारको भने विष्टले वास्तै गरेनन् ।
दोस्रो पटकको भेटको त झनै रोचक किस्सा छ । सिंहदरबारमा आगलागी भएपछि नैतिकताको दुहाइ दिँदै प्रमको पदबाट राजीनामा गरेर बसेका विष्ट ती दिनहरूमा कला साहित्यजस्ता विषयमा अभिरुचि राखेर यसो कार्यक्रमहरूमा देखा पर्न थालेका थिए । हाम्रो साहित्यिक सर्कलका राजनीतिक नेता केदारमान व्यथितसँग उनको राम्रो हिमचिम थियो । त्यही कालखण्डको कुनै एक वर्ष व्यथितजीले साहित्यकारहरूलाई हारी- बिमारी वा कुनै अभर पर्दा सहयोग गर्न एउटा कोष बनाउने र त्यसको जोहो गर्न तिहारमा देउसी खेल्न जाने कार्यक्रम बनाएछन् र हामी उनका कुरा काट्न नसक्ने परशु प्रधान, ध्रुव सापकोटा, शैलेन्द्र साकार, नगेन्द्रराज शर्मा आदिलाई एक किसिमले उर्दी जारी गरे । व्यथितको ज्याठाको घरमा जम्मा भएका हामीहरूलाई उनले भने- ज्ञानेश्वर कीर्तिबाबु कहाँबाट बोहोनी गर्ने । विष्टसँग कुरा गरेको छु ।
त्यस साँझ विष्टले हाम्रो टोलीको राम्रो खातिरदारी त गरे नै त्यहाँबाट उनी स्वयम् पनि साहित्यकारहरूको त्यो देउसे टोलीमा सामेल भए । उनकै सल्लाहमा हामीहरू जय नेपाल चित्रघरसँगै बस्ने विवादास्पद व्यापारी रामनिरञ्जन जाटियाको घरमा देउसी खेल्न गयौँ । जाटियाले एक प्रधानमन्त्री भइसकेका र अर्का मन्त्री बनिसकेका बडेआदमी सहितको देउसे टोलीलाई दर्है दक्षिणा दिए क्यारे । रातको १ बजेसम्म हामीसँग हिँडेर ती लम्बु नेता साथमा आएको परिचरसँग फर्किएको जस्तो लाग्छ । विष्टसमेत सामेल भएर खेलिएको देउसीबाट उठेको रकम ध्रुव सापकोटा, व्यथित र अर्को एकजना कसैको संयुक्त नाममा खाता खोलेर राखिएको थियो सायद । त्यो रकम अझै हुनुपर्दछ कुनै ब्याङ्कमा ।
म पत्रकारितामा पूरा समय काम गर्ने गरी सक्रिय भएपछि विष्टजीसँग सम्बन्ध अलि गाढा भयो । उनीसँग टेलिफोनमा कुरा हुन थाल्यो । दुई-चारपटक उनको घर पनि गएको थिएँ । सन् १९९६ मा म अमेरिकाको भ्रमणमा जाने भएपछि संयुक्त राष्ट्रसंघका लागि नेपालको नियोगमा उपप्रमुख रहेका उनका छोरा विनोद विष्टसँग पनि भेट्ने विचार गरी उनलाई फोन गर्दा उनी सार्है खुसी भएका थिए । 'हरिबाबु मैले भन्द्याछु । विनोदले न्युयोर्कमा तपाईंलाई हर प्रकारले मद्दत गर्छ ।' उनले तीन-चार दिनपछि भनेका थिए ।
नभन्दै विनोदले मलाई धेरै नै सहयोग गरे । नियोग उपप्रमुखको निवास बनाउन भनी किनिएको न्युयोर्क ट्युडोर सिटीस्थित प्रपर्टीमा कोठाहरू खाली नै रहेछन् । संयोगले त्यतिबेला नै न्युयोर्क पुगेका प्रख्यात कलाकार नीर शाह र मलाई त्यहीँ बस्ने ब्यवस्था मिलाइदिए । नीर र म मिल्ने साथी परदेशमा पनि सँगै बस्ने अवसर जुटेकोमा हामी दङ्ग पर्यौँ । विनोदले उनको घरमा बोलाएर डिनर पनि खुवाए ।
निकै वर्षपछि एक साँझ कीर्तिबाबुसँग मैले अलि रुखो किसिमले अप्रिय वार्तालाप गरेको सम्झन्छु त्यो पनि सामान्यत: हेर्ने हो भने मेरो खासै सरोकार नपर्ने विषयमा । अहिले मलाई लाग्दछ त्यो फोनवार्ता गर्न जरूरी थिएन । त्यो मैले आफ्नो स्वभावगत कमजोरीका कारण गरेको थिएँ ।
पद र पैसाको तामसी जोसमा होस हराएका लोकमानसिंह कार्कीहरूले सुनसरी, दुहबी बजारको विराटनगर जाने मूल सडकमा त्यतिबेला जीवितै रहेका कार्कीकुलशिरोमणि भूपालमान सिंहको पूर्णकदको सालिक खडा गरेका थिए । जहाँ सालिक उभ्याइएको थियो त्यहाँ दोबाटो चौबाटो केही थिएन । मात्र उत्तर दक्षिण लम्पसार परेको सडकको माझमा स्त्री-योनि आकारको ठाउँ बनाएर बृ. ज. कार्कीको डाम्मडुम्म परेको ढलोटको ६-७ फुटे मूर्ति सडक विभाग, यातायात कार्यालय, ट्राफिक प्रहरी, सीडीओलगायत सबै सुरक्षा संयन्त्रहरूलाई खुलेयाम हाँक दिँदै उभ्याइएको थियो । म ती दिनहरूमा आफ्नो दैनिक पत्रिका लिएर विराटनगर गएको थिएँ र काम विशेषले त्यो सडक भएर ओहोरदोहोर गर्दा त्यहाँनेर पुगेपछि रिस, क्षोभ, असहायपना र असफल विद्रोहको भावनाले हुरुक्कै हुन्थेँ । धेरै दिनसम्म कार्की जर्साहेबको त्यो सालिक बाक्लो कपडाले छोपेर राखिएको थियो ।
एक दिन हठात् समाचार सुनियो दुहबीको सडकमा स्थापित राजसभा स्थायी समितिका पूर्वसभापति समाजसेवी बृ. ज. भूपालमान सिंह कार्कीको पूर्णकदको सालिक पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टद्वारा अनावृत । समाचार सुन्नेबित्तिकै गलत ठाउँमा गलत मान्छेको सालिक ठड्याएको देखेर मनमा धेरै पहिलेदेखि जम्मा भएको रिसको घडा फुटेर छताछुल्ल भयो । विवेक गुमाएको क्षणको मेरो त्यो रिसको घानमा परे मैले सम्मान दिदै आएका वयोवृद्ध अगुवा कीर्तिनिधि विष्ट ।
अलि थर्थराएको जस्तो सुनिए पनि मीठो लाग्ने उनको लामो हे.. लो सुन्नेबित्तिकै पड्केको मैले के के भनेँ थाहै पाइनँ । निक्कै बेरपछि ती भद्र पुरुषले हार मानेको दमित स्वरमा भनेको कुरा चाहिँ अझै सम्झन्छु - 'साँच्चै, हो त, अहिले पो याद आयो, त्यो सालिक त एकनासको सडकको बीचमा पो थियो त हगि ! ह्यज्यर्डस् नै छ त्यो त । त्यसको उद्घाटन गर्नु गल्ती नै भएछ लौ ! सडकलाई भजाइनल सेपमा काटेको भन्ने बिम्व चाहिँ गज्जबको प्रयोग गर्नु भो ल तपाइँले !'