२००४ सालमा युगवाणी साप्ताहिकमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना लगत्तै वीपीले एउटा लेख लेख्नु भएको थियो–हाम्रो देन। जहाँ लेख्नु भएको थियो–हामी अहिंसाबादी, समन्वयबादी हौं, हामी मिलिजुली जान चाहन्छौं, हामीले गान्धीबाट सिकेका छौं।
श्री ५, श्री ५ कै ठाउँमा रहने, श्री ३ श्री ३ कै ठाउँमा रहने तर, जनताबाट छानिएको प्रतिनिधि सभालाई प्रशासनिक काममा बाधा ब्यवधान गर्नु हुँदैन। हामीलाई श्री ५ महाराजाधिराजले भत्ता खाएकोमा, उपाधि खाएकोमा केही आपत्ति छैन। जनताको अधिकार जनतालाई दिनुपर्छ। जनतालाई उत्तर दिन सक्ने उत्तरदायी शासन हुनुपर्छ।
तर, त्यसको तीन वर्ष नपुग्दै सशस्त्र क्रान्तिको नेतृत्व गर्नुभयो कस्तो व्यक्तिसँग भन्दा त्यस समय नेपाली कांग्रेसका सभापति मातृकाप्र्रसाद कोइराला हुनुहुन्थ्यो। नातामा उहाँ वीपीका दाजु हुनुहुन्थ्यो। तर, उहाँ गान्धीबादी हुनुहुन्थ्यो। सुवर्णजीका संस्मरणमा यी कुरा पाइन्छ अरूले पनि यी कुरा लेखेका छन्। सुवर्णजीले वीपीलाई भन्नु भयो रे–‘वीपी मैले राणा चिनेको छु, मेरा दाजुभाइलाई मैले चिनेको छु। यो अहिंस्रक क्रान्ति गरेर मोहन शमशेरले मान्नेवाला छैन। उता सभापति तपाईँका दाजु कट्टर गान्धीबादी।’ तर, पनि भित्रभित्रै तत्कालीन दबाबमा सशस्त्र क्रान्तिको तयारी गरियो।
अहिंस्रक संघर्ष गर्नुपर्छ भनेर युगवाणीमा लेख लेख्ने वीपी अहिंस्रक संघर्ष गर्छु भनेर राणाकालमा नेपाल आएर मोहन शमशेरलाई भेट्नु भयो। पहिलो पटक उहाँ विराटनगर जुट मिलमा सत्याग्रहीसँग गिरफ्तार पर्नुभयो, पद्म शमशेर श्री ३ थिए त्यतिबेला। दोस्रो पटक मोहन शमशेरको पालामा खतरा छ भन्ने थाहा पाउँदा पाउँदै। उहाँले चिठीमा पनि त्यो कुरा लेख्नु भएको थियो। जुन चिठी प्रकाशित पनि छ।
चिठीमा म त श्री ३ महाराज मोहन शमशेरलाई भेट्न आएको यहाँ। भेटेर भन्न चाहन्छु थोरै अधिकार दिए पुग्छ। तर, उहाँ थुना पर्नुभयो। बडो कष्टकर अबस्थामा अनशन गर्नु भयो। झण्डै झण्डै ज्यान गएको अबस्थामा छुट्नु भयो। अन्तमा सशस्त्र क्रान्तिको तयारी गर्नुभयो। त्यसपछि वीपी गृहमन्त्री हुनुभयो। एक पटक सत्ताबाट बाहिरिएपछि कांग्रेस झण्डै ८ वर्ष सत्याग्रहका लागि बाहिर रह्यो। त्यसपछि सत्याग्रह, जुलुस, बिद्रोह सबै भयो। अन्त्यमा २०१५ सालको आमचुनाव भयो। कांग्रेसले अभूतपूर्व सफलता प्राप्त गर्यो। वीपीले सपथ ग्रहण गर्नुभयो। प्रधानमन्त्रीका रूपमा उहाँको कार्यकाल धेरै अर्थमा सफल रह्यो। मितव्ययिताको उदाहरण प्रस्तुत गरेर पहिलो निर्णय नै आफ्नो तलब घटाउने गर्नुभयो।
सुन्दा सामान्य लाग्छ, तर हामी सबैले, हाम्रो सरकारले, हाम्रो पार्टीका नेताहरूले प्रतिकात्मक काम गर्नुपर्छ। त्यतिबेला १००० रूपैयाँ तलब घटाएर केही त हुँदैनथ्यो। तर, देश बनाउने हो भने प्रधानमन्त्रीले म १००० छोड्छु भन्दा किसानलाई भन्न सक्नुहुन्छ तपाईँ १० रूपैयाँ छोडिदिनुुस्। आफू केही पनि नछोड्ने जनतालाई चााहिँ छोड भन्ने? म आफ्नो तलब कटौती गर्छु त्यति भएपछि जनतालाई भन्ने हक लाग्छ भनेर वीपीले त्यसो गर्नु भएको हो। त्यसपछि उहाँले आफ्नो बिलासिता, खानपान, चिया खर्चमा कटौती गर्नुभयो। अहिलेका प्रधानमन्त्रीले उपचारमा मात्र करोडौं रूपैयाँ खर्च गर्नु भएको छ। अनि जनताले खर्च माग्दा तलाईँ दिन्न भन्ने नैतिकता कहाँ हुन्छ? जबकि आम नेपाली आजका दिनमा उपचार गर्नु पर्दा खसी, बोका, अन्न बेच्नु परेको छ।
तर, त्यो नैतिकता भएको वीपीको सरकार टिकेन। १८ महिनामात्र सरकार चल्यो। त्यसपछि वीपी जेल पर्नुभयो। जेलमा पनि अनसन गर्नुभयो। आज वीपीले राजा र मेरो घाँटी जोडिएको छ भनेर भन्नु भएको थियो भनेर विपक्षीले भन्छन् भने उनीहरूलाई सम्झाउनु सक्नुपर्छ हाम्रो पार्टीले समय पर्दा संघर्षको हरेक चुनौती स्वीकारेको छ। त्यसपछि वीपी बाहिर जानुभयो। एक वर्ष उहाँले प्रतिक्षा गर्नुभयो। सुवर्णजीले राजा महेन्द्रलाई संवैधानिक निकासको आशा राखेर प्रस्ताव अगाडि सार्नु भएको थियो, जुन राजा महेन्द्रले स्वीकारेनन्। त्यसपछि वीपीले ओखलढुंगा काण्ड गराउनु भयो। केशव कोइराला, लिला ठगी, गोकर्ण आदि ओखलढुंगा काण्डमा शहीद भए। जुन वीपीको नेतृत्वमा भएको हो। पछि भारत सरकारको रबैया र हिन्दूस्तानमा आपतकालीन अबस्था देखेर भारतमा कानुनको शासन समाप्त भएको देखेर वीपी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको हो। तर, उहाँले प्रजातन्त्रका सवालमा कसैसँग कुनै किसिमको सम्झौता गर्नु भएन।
आज वीपीको नाम लिएर विभिन्न पार्टीका नेताले म पो वीपीको सच्चा उत्तराधिकारी हुँ भनेर आएका छन्। हतियारको क्रान्ति हामीले मात्र गरेको हो र कांग्रेसले पनि गरेको छ भनेर एक पटक एमाले नेताहरूले भने। सुन्दरीजलमा गएर माओवादी अध्यक्ष पुष्पकमल दाहालले म पो वीपीको उत्तराधिकारी हुँ भनेर बोले। त्यसकारण मलाई के लाग्छ भने वीपीलाई कम्युनिष्टले बुझेको हात्तीले अन्धा छामेजस्तो हो।
वीपीको व्यक्तित्व र विचारलाई कसरी हेर्ने?
मास्र्कवादको सिद्धान्त अनुसार भौतिकवाद र वर्ग संघर्षमा विश्वास गर्छ। तर, समानता, स्वतन्त्रता, लोकतन्त्रका सिद्धान्त के हुन्? २००७ सालमा वीपीले जे गर्नुभयो, त्यो त्यतिमात्र सम्भव थियो। सम्झौता गरेर अन्तरिम विधान निकाल्नु भयो। जसमा भनिएको थियो–संविधान सभाको कुरा। ढिलो चाँडो नेपालमा संविधानसभा हुन्छ भनेर। त्यतिबेला नेपाल पूर्ण स्वतन्त्र भएको थिएन। आज पनि पूर्ण स्वतन्त्र भएको छैन।
स्वतन्त्रता अत्यन्त लामो यात्रा हो। प्रजातन्त्र अत्यन्त लामो यात्रा हो। यो यही हो भन्ने होइन। स्वतन्त्रबाट स्वतन्त्रता हुने हो। त्यसक्रममा हामीले वीपीको राजनीतिक जीवनी हेर्यौं भने उहाँको झण्डै ४० वर्षको राजनीतिक जीवनमा हिन्दूस्तानको १० वर्ष जोड्दा झण्डै ५० वर्षे सक्रिय जीवन देखिन्छ। यसमा उहाँले अनेक किसिमका जीत हासिल गर्नुभयो र अनेक किसिमका हार पनि खानु भयो। सबैको एउटै लक्ष्य थियो कि मानव जातिलाई कसरी बढीभन्दा बढी स्वतन्त्र, समृद्ध प्रदान गर्ने? मानव जातिलाई समृद्ध कसरी बनाउने र बढीभन्दा बढी हित कसरी गर्ने भन्ने कुरामा उहाँ निरन्तर लागिरहनु भयो।
२००७ सालमा अनसन बस्नु भयो, त्यो अनसनै प्रजातन्त्र हो। पछि हतियार बन्द क्रान्ति गर्नु भएको थियो त्यो नै प्रजातन्त्र हो क्रान्ति हो। त्यतिबेला कम्युनिष्टसँग एकता गर्नु भएको थिएन। आज कतिपयले कम्युनिष्टसँग एकता गर्नु वीपी विरोधी हो, वीपीका पालामा आरक्षण थिएन, अहिले आरक्षण दिनु वीपी विरोधी हो, धर्मनिरपेक्षको कुरा पनि वीपी भए गर्नु हुँदैनथ्यो भनेर उठाएका छन्। यसबाट वीपीको मात्र अर्थ नबुझेको होइन, भट्टराईको मात्र अर्थ नबुझेको होइन, त्यसले समग्रमा प्रजातन्त्रको अर्थ नबुझेको देखिन्छ।
वीपीलाई रिहा गर्ने क्रममा सवर्ण शमशेरले आफ्नो कार्यक्रम स्थगित गरेर राजासँग सहयोगको वार्ता चलाउनु भयो। त्यसमा सूर्यप्रसादजीको पनि भूमिका थियो। सुवर्णसँग सहमत नभएर अहिंसात्मक बाटो मात्र नेपालको राजनीतिको एकमात्र बाटो हुन्छ भनेर महेन्द्रनारायण निधि, बोधप्रसाद उपाध्यायजस्ता कांग्रेसका नेताहरूले राजालाई धपाउने पनि होइन, बोर्डर पारी बम पड्काएर तर्साउने पनि होइन भन्नुभयो। वीपी कोइराला छुटेपछि आफ्ना सबै साथीसँग बसेर आगामी पार्टीको रणनीति कार्यक्रम बनाउनेबारे छलफल गर्नुभयो।
वीपीले आफ्नो जीवनक्रमका अनेक चरणमा जब जब एक्लै कुनै निर्णय गर्ने कोशिश गर्नुभयो उहाँले सफलता पाउनु भएन। जब जब मिलेर निर्णय गर्न थाल्नु भयो, किसुनजी, महेन्द्रनारायण, सुवर्णजीसँग सल्लाह गरेर जान थालेपछि उहाँ सफल हुनु भयो। जब एउटा मानिसले भनेको कुरा चरितार्थ हुन्छ, उसले भनेको सबैले छर्लङ्ग देख्छ त्यसपछि मूल्यांकन हुन्छ। वीपीले नेपाली समाजमा त्यो छाप छाड्नु भयो। आजको प्रजातन्त्र २००७ साल, २०१५ साल, २०४६ सालको जनआन्दोलनको उपलब्धीमा टेकेर आएको हो। यी सबै चरणमा वीपीको योगदान छ। त्यसकारण आज वीपीले यो कुरा चाहनु भएको थियो, वीपीले त्यो कुरा चाहनु भएको थिएन भन्नु वीपीको अबमूल्यन गर्नु हो।
राजतन्त्रका बारेमा
वीपीले भन्नु भएको थियो राजा भनेको व्यक्ति होइन। व्यक्ति त त्रिभुवन असल थिए होला, वीरेन्द्र असल थिए होला। यो आजको युगमा सम्भव छैन। युगको एउटा धर्म हुन्छ। त्यसलाई युगधर्म भनिन्छ। आजको युगमा जनताको शासन चल्छ, जुन पद्धतिबाट चलेपनि।
वीपीले कुनै पनि प्रसंगमा कम्युनिष्टहरूसँग संयुक्त मोर्चा बनाउन चाहनु भएको थिएन। तर, २०३६ सालको जनमत संग्रहमा कुनै कुनै ठाउँमा कम्युनिष्टहरूसँग मिलेर काम गरौं भन्ने भएको थियो। वीपी त्यतिबेला सम्झाएर हुन्छ कि, फकाएर हुन्छ कि, बुझाएर हुन्छ कि राजालाई रातारात सरकार नपाएपनि, आम चुनाव नपाएपनि, जनतालाई अधिकार बहाल गर्ने कार्यनीतिमा हुनुहुन्थ्यो। त्यतिबेला विश्व दुई ध्रूबमा बाडिएको थियो, सोभियत युनियन र अमेरिका।
अन्तर्राष्ट्रिय राजनीतिले त्यति बेलादेखि नै नेपालमा तिखो नजर राखेको थियो। वीपीलाई नेपालमा नागरिक अधिकार चाहिएको थियो। त्यसैले वीपीले पुष्पलालसँग भन्नु भएको थियो–‘ल तिमीहरू हाम्रो राजनीतिक कार्यनीति स्वीकार, हामी तिम्रो आर्थिक कार्यनीति स्वीकार्छांै।’ उहाँले कम्युनिष्टलाई अछुत मान्नु भएको थिएन। शीतयुद्धताका बेला अमेरिकी खेमाले कम्युनिष्टलाई अछुत मान्दा तिमी मेरो राजनीतिक कार्यक्रम स्वीकार भन्नु भएको थियो। वीपीलाई शंका थियो कम्युनिष्टहरू राजासँग हातेमालो गरेर जनमतसंग्रहमा समेत हराउँछन्। तत्कालीन मालेले बहुदल पक्षलाई साथ दिएन। नभन्दै त्यस्तै भयो।
आजका कम्युनिष्ट कहीँ पनि कम्युनिष्ट छैनन्। आजका कम्युनिष्टले सबै ठाउँमा बहुदलीय ब्यवस्था अंगीकार गरिसकेका छन्। आजभन्दा ५० वर्ष अगाडि जुन दृष्टिकोण थियो, कम्युनिष्टप्रति त्यही दृष्टिकोण राख्नु जरूरी छैन। हाम्रा पिता पुर्खाका पालामा जातिगत छुवाछुत थियो। कहीँ छुइँदा छिटो हालेर खाने चलन थियो। अहिले त्यस्तो छैन। अहिले हामीले कम्युनिष्टसँग मिलेर पटक–पटक सरकार बनाएका छौं। अथवा कम्युनिष्टसँग बसेर आन्दोलन गरेका आधारमा ठीक, बेठीक भन्नु उचित छ? कसैले भन्न सक्छ ठीक हो, कसैले भन्न सक्छ बेठीक हो। तर, त्यसमा वीपी, सुवर्ण, गणेशमानको नाम लिएर त्यसो भन्नु ठीक होइन। २०४६ सालकै कुरा गर्ने हो भने गणेशमान सिंहको नेतृत्वमा कम्युनिष्टलाई साथमा लिएर आन्दोलन भएको हो।
कांग्रेसका कुनै नेताले हाम्रो प्रमुख शत्रू कम्युनिष्ट हो, होइन मधेसवादी हो, होइन, राप्रपा हो भन्ने कुरा एउटा हो। तर, यो कुरा वीपीले भन्नु भएको हो, सुवर्णले भन्नु भएको हो भन्नु कठमुल्ला हो। अर्को कुरा हिन्दू धर्मका सम्बन्धमा पनि वीपीको स्पष्ट विचार थियो। २००७ सालको अन्तरिम संविधानमा हिन्दू थिएन। महेन्द्रले चोरबाटो हुँदै घुमाउँदै ल्याए। २०१९ सालमा मिलाए। बाबुराम भट्टराईले हालै एक कार्यक्रममा भन्नु भएको कुरा आएको छ कि हिजो भारतले हिन्दू राष्ट्र राख्न दबाब दिएको थियो, जुन दबाब हामीले मानेनौं। त्यसै कारण नेपालमा नाकाबन्दी गर्यो भनेर भन्नु भएको छ। यसरी हिन्दू राज्य राख्न भारत, अमेरिका, चीनले दबाब दिएपनि, तीनवटै महादेशबाट दबाब आएपनि सिद्धान्ततः यो गलत हो। तिनले आफ्नो देशमा गरेर देखाउन् न त। त्यसकारण हाम्रा नेताहरूले, प्रधानमन्त्रीहरूले, भाबी प्रधानमन्त्री बन्न खोज्नेहरूले आफ्नो मुलुकमा बनाएर देखाउ न भन्नु सक्नुपर्छ। हामीलाई अर्ति–उपदेश दिनेहरूलाई कसले रोकेको छ र?
धर्मका आधारमा आधुनिक राज्य बन्न सक्दैन। तिमीहरूले बनाउ न भन्ने महावीर कोही छ भने पहिला आफ्नो देशमा बनाएर देखाउन्। अनि नेपाललाई उपदेश दिनु। प्रश्न धर्मको होइन, मुख्य कुरा राज्य के का आधारमा हुन्छ? भन्दा सिद्धान्तका आधारमा बन्छ। त्यसकारण कांग्रेस यसमा अल्मलिनु हुँदैन। कांग्रेसले राज्यका सिद्धान्तलाई गहिरो अध्ययन गरेर यस कुरामा अडिग रहेको हो। आजको दिनमा नेपालमा सबैभन्दा ठूलो खतरा नागरिक स्वतन्त्रता रहेछ। अहिले खतरा आइसकेको छैन। कानुन, विधान र सिद्धान्त के हो भने तपाईँ कहाँ उभिनु भएको छ भन्ने कुरा महत्वपूर्ण छैन। तपार्इँको वर्तमान कदमले कता संकेत गर्दैछ भन्ने महत्वपूर्ण कुरा हो।
पछिल्लो समय केही महत्वपूर्ण विषय उठेका छन्। उदाहरणका लागि न्यायालय। प्रधानन्यायाधीशको विषयमा विवाद उठेको छ। ब्रिटिश शासनले भारतमा अदालतको परम्परा प्रारम्भ गरेको दिनदेखि कहिल्यै पनि त्यहाँ बरियाताक्रम मिचेको थिएन। पहिलो पटक सन् १९७३ मे महिनामा तेस्रो नम्बरमा रहेका प्रधानन्यायाधीशलाई नियुक्त गरेपछि बरिष्ठतम् दुई जना न्यायाधीशले राजीनामा दिए, इन्दिरा गान्धीका पालामा। त्यसमा जयप्रकाश नारायणले बक्तव्य दिए। सबाल गान्धी कता जाँदैछन् भन्ने महत्वपूर्ण कुरा हो।
आज नेपालमा जसरी सरकार अगाडि बढेको छ त्यहाँ समाजबादको कुरा छाडिदिनुु्। अहिलेको मूल प्रश्न के नागरिक अधिकार सुरक्षित रहला? अहिले आफूलाई वीपीका अनुयायी भन्नेले कृष्णप्रसाद, गणेशमान, महेन्द्रनारायणलाई सम्झनेले उहाँले के भन्नु भएको थियो भनेर शास्त्र उल्लेख गरेर काम छैन। वर्तमान सरकारका अधिनायकबादी रबैया छन् तिनका बिरूद्ध एकजुट भएर सबैलाई साथ लिएर औंल्याएर भन्नुपर्छ। विदेश जान लागेका कुलप्रसाद कोइरालालाई विमानस्थलबाट फर्काएको कुरालाई कोइराला भएर फर्काएको होला भनेको त कम्युनिष्टलाई फर्काए पनि कमसेकम लेनिनलाई त नफर्काउनु पर्ने। लेनिनलाई पनि विमानस्थलबाट फर्काउने काम गरे। यी सबै व्यक्तिगत स्वार्थमा काम भएको छ। जबकि वीपीले जहिले पनि व्यक्तिगत स्वतन्त्रतालाई महत्व दिनुहुन्थ्यो।
वीपी आफ्नो स्वार्थका लागि बाँच्नु भएन। पार्टीका लागि, जनताका लागि बाँच्नु भयो। अत्यन्त अप्ठेरो अबस्थामा परेर कुहिन लागेको पार्टीलाई हिन्दूस्तानबाट नेपालमा ल्याउनु भयो। आजको उपलब्धी हामीले वीपीको शिक्षाको जगमा छौं भन्ने हो। हामी धेरै अगाडि बढ्नु परेको छ। तर, धेरै अगाडि बढ्ने क्रममा अतितलाई कोट्याएर हुँदैन। त्यसकारण श्राद्धमा बिरालो बाँधेजस्तो हामीले गर्नु हुँदैन। अहिले नेपालमा विकासको कुरा भएको छ। वीपीले विदेशी प्रविधिभन्दा पनि आफ्नो श्रमको ज्याँदा उपयोग गर्नुपर्छ भन्नु भएको थियो विकासको सन्दर्भमा। हामीले वीपीको कुरा सुनेनौं। ५० लाख युवा विदेशिएका छन्। अमेरिकाको विकासको मोडल लिनु हुँदैन भनेर भन्नु भएको हो। उहाँले कानुनको शासन, नागरिक स्वतन्त्रताका लागि लडेको लडाई, हिन्दूस्तानमा संकटकालका बेला इन्दिरा गान्धीसँग बस्नु भन्दा राजाको जेलमा थुनिन गरेको निर्णयलाई सम्झनु पर्छ। विकासका सन्दर्भमा चीन र अमेरिकाको मोडल होइन, कुटिर उद्योग सञ्चालन गर्ने भन्ने थियो।
त्यागको जिन्दगी थियो। सादा जीवन उच्च विचार थियो। हामी उभिएको ठाउँ देखेर वीपी आज भएको भए हामीलाई स्यावास तिमी मेरो योग्य उत्तराधिकारी भएछौं यतिले पुग्दैन अगाडि बढ भन्नुहुन्थ्यो। आफ्नाबारेमा केही नसोचेर सधै अरूका बारेमा सोच्ने व्यक्ति हुनुहुन्थ्यो वीपी।
-वीपी जयन्तीकाे अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा अाइतबार अायाेजित कार्यक्रममा नेता गिरीले व्यक्त गरेका विचारकाे सम्पादित अंश