नयाँ शक्ति पार्टीका संयोजक, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पत्नी हिसिला यामीसँग हाल अमेरिका भ्रमणमा छन्। आफ्नो भ्रमणलाई उनले 'अध्यन भ्रमण' भनेका छन्। अमेरिका अाेर्लिएकै दिन वासिङ्टन डिसीमा आयोजित एक अन्तर्क्रियामा उनले अमेरिकामा रहेका नेपालीहरूको सिप र श्रोत नेपालको समृद्धिमा कसरी प्रयाेग गर्न सकिन्छ भनेर अन्तर्क्रिया गर्ने र अमेरिकाको समृद्धि अवधारणाको जानकारी हासिल गर्ने मुख्य उद्देश्यले अमेरिका भ्रमणमा निस्किएको बताएका थिए।
केही वर्ष अघिसम्म माओवादी 'जनयुद्ध' वा 'क्रान्ति'को महिमाबारेमा चर्चा गरेर नथाक्ने विज्ञान विषयका अब्बल विद्यार्थी डा. भट्टराई विज्ञान जस्तै विचार पनि परिवर्तन हुने बताउँदै भन्छन्,'म कुनै बेला एउटा राजनीतिक विचार बोकेर आन्दोलनमा लागेको थिएँ। तर, विचार पनि समयानुकुल परिवर्तनशील हुने भएकाले कुनै कालखण्डमा बोकेर हिँडेको विचार सधै त्यही नै समातेर हिड्नु पर्छ भन्ने छैन।'
उनले माओवाद वा माओवादीको नाम उच्चारण नगरी जनयुद्ध वा क्रान्ति शब्दहरूको साटो आन्दोलन प्रयोग गर्न थालेका छन्। कुनैबेला भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध नै मुख्य साध्य बनाएर माओवादी आन्दोलन चर्काएका डा. भट्टराईले ह्वाइट हाउस अगाडि उभिएर खिचेको फोटो फेसबुकमा सगर्व पोस्ट गर्नुले भनाइमा मात्र होइन ब्यवहारले पनि देखाएको छ कि उनको विचारमा परिवर्तन आएकै हो भनेर।
तर, माओवादी जनयुद्धका मुख्य सर्जक एवं रणनीतिकार डा. भट्टराईमा विचारको युटर्न कसरी वा के कारणले भयो त्यो उनले बताएका छैनन्, सायद त्यो पनि कुनै दिन प्रष्टसँग भन्लान्। सबैलाई थाहा भएको कुरा हो उनी पढाइमा अब्बल विद्यार्थी हुन्, सधै फर्स्ट क्लास फर्स्ट। तर, उनलाई चर्चित बनाउन सबैभन्दा महत्वपूर्ण भूमिका रहेको राजनीतिक विचार 'माओवाद' किन अब्बल साबित भएन? जसका कारण उनी अहिले छुट्टै पहिचान बनाउन देश विदेशका नेपालीहरूबीच वान टू वान अन्तर्क्रियामा छन्।
नेपालको राजनीतिक दृश्यमा भट्टराई आज शक्तिका हिसाबले लगभग शुन्यमा छन्। उनी सांसद त छन्। तर, हिजो उनले हाँकेको माओवादी आन्दोलनले सबैभन्दा बढी प्रहार गरेको पार्टी नेपाली कांग्रेसको भरमा। उनको पार्टी नयाँ शक्ति त छ। तर, केही पटके पार्टी परिवर्तनकारीहरू बाहेक उनी लगभग एक्लो बृहस्पति नै हो पार्टीमा, बाइ डिफल्ट उनीसँगै रहने हिसिला यमीलाई छोडेर। आज पनि उनलाई धेरै मान्छेहरू माओवादी आन्दोलनको एक प्रमुख रणनीतिकार भनेरै चिन्छन्।
भट्टराई भने आजका दिनमा आफूलाई माओवादी जनयुद्धको रणनीतिकार भन्दा देश विकासका लागि छुट्टै योजना बोकेको एउटा विद्वान नेताको रूपमा स्थापित गर्न खोजिरहेका छन्। जनयुद्ध अहिले आएर एउटा कालखण्डको विचार भएको छ। उनी चाहन्छन्-माओवादी आन्दोलनको इतिहासले उनलाई नापछ्याओस्।
डा. भट्टराईले अहिले नेपालको समृद्धिबारे जुन गहन विचारहरू ब्यक्त गरिरहेका छन्, त्यसमा असहमति वा आपत्ति जनाउनु पर्ने कुनै कारण छैन। सारा नेपालीले चाहना गरेको कुरा उनले ब्यक्त गरिरहेका विचारले समेटेका छन्। डा. भट्टराईलाई पनि राम्ररी थाहा छ उनको विचार, सोच र योजना जति सुकै राम्रा भएपनि, नेपालको सम्वृद्धिको अचुक सुत्र प्रस्तुत गरे पनि अहिलेको सरकारले कुरा सुन्ने छैन। डा. साबलाई यो पनि राम्ररी थाहा छ कि नेपालमा हत्तपत्त प्रमुख प्रतिपक्षको त कुरा सुनिदैन भने उनको कुरा के सुनिएला। झन् पुष्पकमल दाहालको प्रभाव रहेको सत्ताले।
विश्व अर्थराजनीतिका वक्ता भट्टराईका लागि युरोप र अमेरिकाको अध्ययन भ्रमण त बाहाना मात्र हो। डा. भट्टराईले आज खोजेको केवल जनमत हो। उनी त्यसैका लागि प्रयासरत छन् नेपालमा उनको खासै दाल गलेको छैन। त्यसैले विदेश भ्रमणमा छन्। उनको चाहना माओवादीको छाप हटोस् र एउटा विशुद्ध छुट्टै दृष्टिकोण बोकेको नेता अरू भन्दा अलग नेताको छाप बसोस् भन्ने हो।
उनी मात्रै होइन १० वर्ष जनयुद्ध लडेका तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पनि माओवादीको परिचय मेटाउन चाहन्छन्।एमालेसँग पार्टी एकीकरणको मुख्य एउटा कारण पनि यही हो। उनीहरूले सार्वजनिकरूपमा नभने पनि महसुस चाहिँ पक्कै गरेको हुनुपर्छ। माओवादी जनयुद्ध एउटा प्रतिसोधात्मक क्रुर हिंसामा परिणत भएको थियो। राज्य सत्तासँग कुनै लाभ नलिएका हजारौं निहत्था नेपालीको ज्यान लियो माओवादी हिंसाले। मुलुकलाई दशकौं पछाडि धकेल्यो, सामाजिक सद्भाव पुरै लथालिङ्ग भयो।
माअाेवादी हिंसाका कारण कायल भएका नेपाली जनताले शान्ति सम्झौतालाई स्वीकार गरेर पर्खिरहे कि अब नेपालमा साच्चिकै परिवर्तन आउँछ भनेर। तर, त्यो आशामाथि सबैभन्दा ठूलो तुसारापात गरायो माओवादीले नै। माओवादीको जनयुद्ध जनताको जीवनशैली परिवर्तन नभएर केवल सत्ता प्राप्ति वा सत्ता साझेदारीमात्रै थियो भन्ने कुरा माअाेवादीकै क्रियाकलापबाट छर्लङ्गै भयो। माओवादी नेताहरूको जीवनशैली एकाएक विलासी भयो।
माअाेवादी हिंसाका कारण १७ हजार बढीको ज्यान गयो, हजारौं घाइते भए, हजारौं माओवादी लडाकूसमेत अलपत्र पारिए। समग्रमा माओवादीका क्रियाकलापकै कारण जनयुद्धको औचित्य पुष्टि हुन सकेन। निर्वाचनमा माओवादीको जनमत खस्कियाे। माओवादीको पगरी दाहालले पनि धेरै समय थेग्न सकेनन् र एमालेसँग मिसिए। दाहाललाई पनि त्यो हिंसाको आत्मग्लानी पक्कै भएको हुनुपर्छ, राजनीतिक जीवन जोगाउन जतिसुकै नाटक गरे पनि।
डा. भट्टराईले पनि जति मिलाएर तर्क गरेपनि नेतृत्वमा बेइमानीपन देखेर नै उनी पार्टीबाट अलग भएर नयाँ शक्तिको अभियानमा लागेका हुन्।कुनै बेला नेपालका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेविरूद्ध भट्टराई र दाहालले आगो ओकल्थे। यी दुवै पार्टी सामन्ती र पूँजीपति बर्गको पृष्टपोषक हुन् भन्ने उनीहरूको ठम्याई थियो। तर, समय चक्रसँगै दाहाल एमालेसँग विलय हुनु पुगे र भट्टराई कांग्रेससँग नजिक छन्।
आज कुनै पार्टी विशेषभन्दा माथि उठेर निष्पक्ष रूपमा, कसैलाई कुनै आरोप नलगार्इ, सबै पार्टीलाई समदूरीमा राखेर अत्यन्तै शालिन ढंगले भट्टराईका अभिव्यक्ति आइरहेका छन्। यो मिलन र सामिप्यताको कारण उनीहरूले हिजोका दिनमा चाहेजस्तै कांग्रेस र एमाले परिवर्तन भएर हो वा उनीहरू कांग्रेस र एमालेजस्तै भएर हो? त्यो अर्को छलफलको विषय हो।
आजसम्मका घटनाक्रमले देखाउँछ कि डा. भट्टराईको विचारमा परिवर्तन आएको पक्कै हो। तर, उनका बारेमा आमनेपाली जनताको विचारमा परिवर्तन आयो कि आएन भन्ने कुरा महत्वपूर्ण हो। विचार परिवर्तनशील हुन्छ भनेर उनले जतिसुकै सम्झाउन खोजे पनि हिजो हिंसाको मारमा परेर नेपाली जनताको हृदयमा लागेका घाउहरू त्यति सजिलै मेटिने छैनन्। घाउ मेटाउने मौका नेकपा माअाेवादीले नपाएको पक्कै होइन, तर पूर्णतः असफल रह्यो। अर्घाखाँचीका राममणि ज्ञवाली र शोभाखर भुषाल, लमजुङका मुक्तिनाथ अधिकारी, गोरखाका नारायण पोखरेल, वीरगञ्जका गोपाल गिरी, दैलेखका डेकेन्द्र थापा, रूकुमका यदु गौतमका जीवित परिवारले डा. भट्टराईमा आएको परिवर्तन नस्वीकारेसम्म के उनको अभियानले सफलता पाउला?
माथि उल्लेख गरिएका नामहरू देशकै मुटु कमाउने केही प्रतिनिधि घटनाहरू हुन्। यस्ता हजारौं परिवारलाई परेको पीडाको सम्बोधन हुने गरी भट्टराईको कदम अघि बढ्नु जरूरी छ। हो माओवादी द्वन्द्वका दौरान राज्य पक्षबाट पनि थुप्रै निर्दोषहरू नमारिएका होइनन्। शान्ति सम्झौता पछि पटक-पटक सत्तामा पुगेको माओवादीले द्वन्द्व पीडितहरूलाई न्याय दिने नीतिलाई प्रमुख एजेण्डा बनाउनु पर्थ्यो। तर, त्यो कहिल्यै भएन। बरू माओवादी लडाकूहरूलाई सरकारले दिएको रकम नै हिनामिना गरेको समाचार बाहिर आयो। त्यतिञ्जेलसम्म डा. भट्टराई नेकपा माओवादीमा सेकेन्ड म्यान थिए। त्यसकारण हामी सबैले उनीबाट जवाफदेहिताको अपेक्षा गरेका छौं।
त्यसैले अब डा. भट्टराईले जनयुद्धका दौरान भएका हिंसाको समिक्षा गर्नु जरूरी छ। र, भएका गल्ती स्वीकार गर्नु जरूरी छ। जबसम्म बिनाकारण मारिएका ती निहात्थाजनको परिवारलाई आश्वस्त पार्ने काम गर्दैनन् तबसम्म उनले जतिनै विचारमा परिवर्तन आएको बताउँदै शान्त, शालिन र सौम्य भाषामा आफूलाई प्रस्तुत गरेपनि नेपालको सत्ताको केन्द्रमा पुग्न उनलाई कठिन छ। जसले गर्दा न त अमेरिका, युरोपको जस्तो। उनले भने जसरी अाैद्याेगिक क्रान्तिमार्फत तीब्र गतिमा नेपालको विकास गर्ने उनको योजना सफल हुनेछ, न त हाम्रो सपना साकार गर्न सक्ने छन्।