संविधान दिवसका दिन प्रधानमन्त्री शेरबहादुर देउवाको अगाडि टुँडिखेलमा सेनाले तोप पड्कायो। पंचायतकालमा जस्तो सेनाले टुँडिखेलमा तोप पड्काउँदैमा संविधान दिवस मनाएको औचित्य पूरा हुँदैन। कम्तीमा कांग्रेसले संविधान दिवस मनाउन देशव्यापी सर्कुलर गर्नुपर्ने थियो। प्रत्येक वर्ष कांग्रेसको तल्लो तहको इकाइसम्म संविधान दिवस मनाउनुपर्छ। यसले संविधानलाई संस्थागत र दिगो बनाउँछ। प्रत्येक विद्यालय र सरकारी कार्यालयमा संविधान दिवस मनाउनुपर्ने थियो।
तर आजको दिनमा संविधान भनेकै राजनीति भएको छ। संविधान भनेकै चुनाब जित्ने भएको छ। संविधान भनेको पावरमा पुग्ने भएको छ। संविधान भनेकै पावरको दुरुपयोग गर्ने भएको छ। देश निर्माणको एजेण्डा कहाँ छ? कुन पार्टीले, कुन नेताबाट अहिले देश निर्माणको एजेण्डामा गुण र दोषका आधारमा छलफल भएको छ?
संसदीय व्यबस्था नै हाम्रो दर्शन हो। तर अहिलेको संविधान संसदीय व्यबस्थाको दर्शनको बिपरित छ। यसको व्याख्या गर्दिन, यतिमात्रै भन्छु म, यो संविधानले संसदीय व्यबस्थालाई धेरै नै छेकवार लगाएको छ। जस्तो, संविधानको धारा ७६ (५) बिल्कुलै संसदीय व्यबस्थाको बिपरित हो। यो आतंककारी धारा हो। यो कसले लुकाएर राखेको हो थाहा छैन।
हुन त कांग्रेसीहरु उत्तेजित हुन्छन् भन्ने मलाई थाहा छ। म पुरानो कांग्रेस परें, उत्तेजित छैन। त्यहि धाराले गर्दा हाम्रो शेरबहादुरजी प्रधानमन्त्री हुनु भएको छ। तपाईले के भन्या भनेर तपाईहरु तात्नुहोला। म देखिरहेको छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुभयो संविधान सक्किरहको छ। हामी त्यसैगरी प्रधानमन्त्री पाउँछौं अनि संविधान खान्छौं। किनभने धारा ७६ (५) ले राजनीतिक शक्ति आर्जनलाई समर्थन गरेको छ। पहिले माधव नेपालजीहरुले समर्थन गर्नुभयो। अनि अदालतमा केश पुग्यो। अदालतले त्यो सदर नगरेको भए शेरबहादुरजीको सरकार गठन हुदैनथ्यो। ह्वीपलाई तोडिदिएको छ। दलीय व्यबस्थालाई पनि तोडिदिएको छ दलको प्रधानमन्त्री हुनेलाई पनि तोडिदिएको छ। अनि के गर्देको छ भने जुन दलको मान्छेले जता सहि गरे पनि हुन्छ। प्रधानमन्त्री हुन पाउछ भनेको छ।
अहिले शेरबहादुरजीलाई समर्थन गर्नेहरुले अर्को प्रधानमन्त्री प्रस्तावित गरे के हुन्छ? पाउने कि नपाउने? धारा ७६ (५) अन्तर्गत हाम्ीले फलानोलाई प्रधानमन्त्री प्रस्ताब गरेका छौं भन्न पाउने कि नपाउने? त्यसकारण म व्याख्या गर्दिन तपाईहरु आफ्नो किसिमले सोच्नुस्। म यति नै भन्छु कि अहिलेको संविधान संसदीय प्रणालीका आधारभूत सिद्धान्त र दर्शनको बर्खिलाप छ।
२०४७ सालको संविधान बनाउने मध्येका अहिले म र माधव नेपाल मात्र बाँकी छौं। मैले सोेचेको थिएँ २०४७ को संविधान त यसरी जादैन होला भनेर। संगै काम गर्ने मेरो साथी हुनुहुन्थ्यो, उहाँ संविधान सभाको नाम लियो कि थुक्न थाल्नुहुन्थ्यो, २०४७ सालको संविधान मर्छ भनेर । कता कता जसरी २०४७ को संविधानलाई शहीद बनायौं यो संविधानलाई पनि शहीद बनाउनु पर्ने अबस्था नआओस्। यो हाम्रो अन्तिम संविधान होस्।
संविधान दिवस कसरी मनाउनु पथ्र्यो? किन मनाउने? पार्टीका सबै तहमा यसको शिक्षा दिनुपर्छ। संविधान भनेको हरेक मान्छेको अधिकारबाट शुरु हुन्छ। मेरो देशमा कसरी सरकार गठन हुन्छ? के हो चुनाव? जनप्रतिनिधि के हो? उसको दायित्व के हुन्छ? भनेर हरेक बर्गलाई सिकाउँछ। त्यसकारण कांग्रेसले हरेक बर्ष हरेक इकाईमा संविधान दिवस मनाओस्। खासगरी स्कुलका विद्यार्थीमाझ पुग्ने गरी सर्कुलर जारी गरोस्।
हामीले देखेका छौं भारतमा संविधान दिवस कसरी मनाइन्छ? अमेरिका जस्तो ठाउँमा जहाँ धेरै चाडपर्व हुदैन त्याँहा पनि मैले देखेको छु। भयंकरसँग संविधान दिवस मनाउछन् उनीहरुले।
हामीले जतिसुकै दिवस मनाए पनि हाम्रो मूल दिन भनेकै फागुन ७ हो। संविधान सभाकै कुरा गर्ने हो भने पनि त्यहि दिनदेखि शुरु भएको हो। हरेक संविधान पूर्ण हुदैन। त्यसकारण अहिलेको संविधानमा पनि सुधार्नु पर्ने कुरा छन्।
संविधानमा कमसे कम दर्शनगत समानता चाहिन्छ। जस्तो अहिले कम्युनिष्टहरु यो संसदीय व्यबस्था मान्ने हुन् कि हैनन्, दार्शनिक पक्ष प्रष्ट हुनुपर्छ। के उनीहरु संसदीय प्रणालीमा बिश्वास गरेरै आएका हुन् त? कमसे कम संविधानको एउटा दर्शनमा बिश्वास गर्नुपर्छ। त्यसैले त अमेरिका, भारतमा संसदीय व्यबस्थामा कहिल्यै प्रश्न उठ्दैन।
संविधानका बारेमा अहिले दुईवटा ‘स्कुल अफ थट’ देखिन्छ, एउटा संविधानलाई अद्योपान्त खारेज नै गर्ने। उपलब्धीहरुलाई उल्ट्याउन यसलाई भत्काउनुपर्छ भन्नेछ। अर्काे जे जति राम्रो छ, सुधार्दै लैजाने भन्नेछ। त्यसमा हामी कहाँ छौं भन्ने आत्ममूल्यांकन आवश्यक छ। संविधानमा आमूल परिवर्तन ल्याउने कि संशोधन गर्दै राम्रो बनाउने?
त्यसकारण हामीले सोच्नुपर्छ। बिघटनको कुरा हेर्नुहुन्छ भने त्यो संविधानलाई आमूल खारेज गर्ने धारा हो। त्यसकारण यो संविधानको आमूल परिबर्तन गर्ने लक्षण देखिइसकेको छ। तर यो सविधानलाई टिकाएरै अघि बढौं,यसको पुनर्लेखन गरौं, विकास गरौं। संविधानको आधारभूत स्वरुप कहि पनि बदलिदैन। भारतमा आधारभूत स्वरुप बदलिदैन भनेर इन्दिरा गान्धीको मूभ पछि सिद्धान्तहरु प्रतिपादन भएका छन्। संशोधन, पुनर्लेखनबाट नै यो संविधान जोगाउनु पर्छ। संविधानमा जे जति कमजोरी भए पनि पुनर्लेखन गरेर अघि बढ्नुपर्छ।
महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्धारा संविधान दिवसका अवसरमा ३ असोजमा आयोजित बर्तमान राजनीतिक अभ्यास र संविधान बिषयक छलफल कार्यक्रममा व्यक्त बिचारको संपादित अंश