ठूलो प्रतिक्षापछि नेपाली कांग्रेसको महासमितिको बैठक आउँदो मंसिरमा बस्दैछ। प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन परिणामपछि नेता–कार्यकर्ता एउटै ठाउँमा बसेर पार्टीको नयाँ रणनीति तय गर्ने भएकाले पनि महासमिति बैठकलाई कांग्रेसमा बढी महत्वका साथ हेरिएको छ, जुन स्वाभाविकै हो।
कतिपयले भन्ने गरेको वा कांग्रेस राम्रो बनोस् भनेर चाहना राख्ने समालोचकहरु प्रश्न गर्छन्, ‘कांग्रेस निर्वाचन हारेको पीडाबाट कहिले बाहिर आउने हो?’ होे, यति महत्वपूर्ण निर्वाचनमा पार्टीले पराजय भोग्दा हामी दुःखी छौं, कार्यकर्ता दुःखी छन् र समर्थक, सुभेच्छुक पनि उत्तिकै दुःखी नै छन्।
केही दिन पीडामा पनि भयौं होला तर, अब त्यो समय सकिएको छ। निर्वाचनमा जे भयो त्यसलाई सिरानी लगाएर निराशाका सपना देख्नेमा हामी छैनौं, न त उसरी सपना देख्ने फुर्सद नै कांग्रेसलाई छ। त्यसैले पनि आगामी महासमिति बैठकमा कांग्रेसले गर्नैपर्ने केही काम छन्।
नेता कार्यकर्तामा उत्साह
कांग्रेसलाई आजको दिनमा सभापतिदेखि दूरदराज कुनै गाउँका कार्यकर्तालाई ऊर्जाको अभाव छ। कारण जेसुकै होस्, नेता–कार्यकर्तामा ऊर्जा हराएको छ। यो महासमिति बैठकले नेता–कार्यकर्तामा ऊर्जा भर्ने काम गर्नुपर्छ। मानिसमा ऊर्जा भर्ने, उत्साहित बनाउने भनेको सहज त पक्कै छैन। असहज र कठिन मोडमा कांर्यकर्तामा ऊर्जा भर्न सक्नु नै नेतृत्वको क्षमता हो।
त्यसकारण यसपटकको महासमिति बैठकमा नेताहरुले देशभरबाट जम्मा भएर आएका कांग्रेसजनमा नयाँ ऊर्जा दिएर पठाउनुपर्नेछ। हामीलाई थाहा छ, कांग्रेस कार्यकतालाई चाहिएको ऊर्जा कुनै सपिङ महलमा किन्न पाइँदैन, न त पैसा तिरेर कहींबाट आयात गर्न सकिन्छ। यो त केवल पार्टीको मुल नेतृत्व र शीर्ष नेताहरुले दिने उचित कार्यक्रम हो। सही दिशा र पार्टीको नयाँ रणनीतिले मात्र पूरै कांग्रेसजनमा ऊर्जा भर्न सकिन्छ। यसका लागि नेताहरुले केवल महासमितिलाई एक फगत कर्मकाण्डभन्दा माथि सोचेर सही विचार दिनैपर्छ। यसका लागि सबैभन्दा बढी दायित्व पार्टी सभापति र शीर्ष नेतृत्वसहितका पदाधिकारीहरुको काँधमा छ।
पार्टी नेतृत्वले मुलरुपमा ख्याल गर्नुपर्छ, यो महासमिति बैठक आफ्नो कार्यकालमा गरें भनेर देखाउने कर्मकाण्ड होइन, न त यो ग्रहदानको रुद्री नै हो। पार्टीभित्र हाम्राबीचमा धेरै मतभेदहरु होलान् तर, नेतृत्वले सोच्नुपर्छ, नेपालमा कांग्रेस कस्तो अवस्थामा रहने, कांग्रेस राष्ट्रिय राजनीतिमा केन्द्रमा भएर बस्ने कि ‘भिजेको बिरालो’ जस्तो टीठ लाग्दो बनाउने सभापतिको हातमा धेरै हदसम्म जिम्मेवारी रहन्छ।
यसको अर्थ वरिष्ठ नेतासहित अरु नेताहरुको भूमिका छैन, उहाँहरुले जे गरेपनि हुन्छ भन्न खोजेका होइन र यस्तो छुट सभापतिलाई मात्र होइन, कुनैपनि कांग्रेसजनलाई छैन। महासमितिको बैठकलाई पनि केवल औपचारिक मात्र बनाउने हो भने यस्तो महासमितिको बैठक नगर्दै राम्रो हुन्छ। देशभरका कार्यकर्ता आउँदा जसरी आएपनि हुन्छ तर, महासमिति सकेर जिल्ला, गाउँ फर्किंदा कार्यकर्ता चाहिँ धारिलो तरबार भएर गएनन् भने त्यो कांग्रेसका लागि दुःखद् मात्र होइन, दुर्भाग्यपूर्ण हुनेछ।
संयोगलाई सौभाग्य बनाउने अवसर
निर्वाचनमा पार्टीले हारेको सत्य हो, त्यसको सबैभन्दा वढी जिम्मेवारीको अंश सभापतिले लिनैपर्छ। त्यो नैतिक दायित्व पनि हो तर, एउटा जीवन्त राजनीतिक दलका लागि पार्टी हार जित त्यति ठूलो कुरा होइन, यो चलिरहने एउटा नियमित प्रक्रिया हो। तर, यति भन्दैमा हामी हारलाई जितमा बदल्न केही गर्दैनौं भन्ने होइन।
हाम्रा लागि पार्टीलाई जिताउनुभन्दा देशलाई जिताउनु ठूलो कुरा थियो, लोकतन्त्रलाई जिताउने विषय ठूलो थियो, हाम्रै नेतृत्वमा संविधान र तीनै तहको निर्वाचन सम्पन्न गर्यौं। जित्नका लागि त अर्को निर्वाचन हाम्रा लागि हो, यो आत्मविश्वास हामीसँग छ।
अब संयोगको कुरा गरौं, कांग्रेसमा धेरैले भन्न हिच्किचाउने तर, सत्य कुरा यतिबेलाको शीर्ष नेतृत्व वीपीबाट दीक्षितमात्र होइन, वीपीदेखि गणेशमान, सुवर्ण शमशेर, किसुनजी, गिरिजाबाबु र सुशील कोइरलासम्मका सफल र सक्षम नेताहरुको संगत र दीक्षित कार्यकर्ताले भरिएको छ।
नेपालका हरेक परिवर्तन र क्रान्तिमा ०३६ र ०४६, ०६२-६३ को आन्दोलनमा सशक्त र प्रभावशाली भूमिका निर्वाह गरेका नेताहरु एकै साथ नेतृत्वमा छन्। जसले लोकतन्त्रका हरेक उकाली ओरालीमा ऐतिहासिक भूमिका निर्वाह गरेका छन्।
लोकतन्त्रको मूल्यमा कहिल्यै कुनै पनि कसैसित सम्झौता गरेनन्। तसर्थः यी तीनै पुस्ताको परीक्षण पनि हो। यदि यो संयुक्त पुस्ता पनि असफल भयो भने कांग्रेसका लागि यो भन्दा ठूलो दुर्भाग्य केही हुँदैन। त्यसैले यो संयोगलाई आगामी महासमिति बैठकले सौभाग्यमा परिणत गर्ने कार्यक्रम ल्याउने र आगामी निर्वाचनमा दुई तिहाईभन्दा बढी मत ल्याएर जित्ने गरी हिँड्न ढिलो गर्नु हुँदैन।
अन्त्यमा, अर्को एउटा सत्य कुरा भन्नुपर्छ। देशलाई ठूलो संक्रमणबाट पार लगाएको कांग्रेस आज आफै संक्रमण भोगिरहे जस्तो देखिन्छ। यो संक्रमणको पार केवल कांग्रेस आफैले लगाउन सक्छ, यो कांग्रेस बनाउने बेला हो, कांग्रेस हेर्दा एउटा पार्टी जस्तो देखिएपनि यो केवल एउटा पार्टी मात्र होइन। यो नेपालको लोकतन्त्र र राष्ट्रियताको अर्को नाम हो। कांग्रेस समृद्ध, परिवर्तन र लोकतन्त्रको उपमा हो।
तसर्थः नेताहरुले आगामी महाधिवेशनमा सभापति को बन्ने भन्दा पनि आगामी निर्वाचनमा कसरी कांग्रेसलाई जिताउने, कसरी देशलाई समृद्ध बनाउने र कसरी लोकतन्त्रलाई बलियो बनाउने भनेर काम गरेमा राजनीतिमा हावादारी गफ गर्ने, राजनीतिलाई केवल हावा गफ बनाएर र जसरी पनि सत्तामा पुग्नुपर्छ भन्ने सोच राखेका दलहरुको भविष्य आफै समाप्त भएर जानेछ। अहिले पूरै कांग्रेसजनको दिव्यदृष्टि कांग्रेस बलियो बनाउनेमा केन्द्रित हुन जरुरी छ। त्यसैले महासमितिको बैठक कर्मकाण्डी गरेर टुंग्याउने भन्दा पनि पार्टीलाई नयाँ जीवन दिन सक्नुपर्छ।