मुन्नाभाइ एमबीबीएस भन्ने एउटा फिल्म छ। तिनै मुन्नाभाइको अर्को सिनेमा छ, लगे रहो मुन्नाभाइ । मुन्नाभाइ डाक्टर भए पनि एमबीबीएस भए पनि दिउँसै रक्सी खानुपर्ने । म पनि त्यो सिनेमा पहिलोपटक हेर्दै थिएँ हलमा । त्यो सिनेमाको एक ठाउँमा नायक सञ्जय दत्त बडो अप्ठेरोमा पर्छन्।
उनले एउटी सुन्दरी रेडियो उद्घोषिकालाई एकतर्फी प्रेम गर्न थालेका हुन्छन्। ती प्रेमिका यिनको गान्धीसम्बन्धी ज्ञानसँग प्रभावित भएर अलिअलि मुस्कुराइदिन थालेकी हुन्छिन्। एकदिन उनी गुण्डा हुन् र गान्धीबारे थाहा छैन भन्ने जानकारी कुनै प्रकारले ती महिलानजिक पुग्दा उनले गान्धीलाई सम्झिन्छन्। सिनेमामा उनको अवचेतनबाट काल्पनिक गान्धी बारम्बार आइरहेको देखाइएको छ।
जब यसपछि उनलाई ठूलै समस्या पर्छ, त्यसपछि बचाउन गान्धीसँग गुहार माग्छन्। सिनेमामा गान्धीले प्रष्टसँग भन्छन् ‘म तँलाई बचाइदिन्छु, तर तैंले मेरो एउटा कुरा मान्नुपर्छ।’ ‘तु एक काम करो तु सच बोलो’ सच बोल्ने भनेको के हो? हामी सबैलाई थाहा छ, गान्धीको आत्मकथाको नाम ‘सत्यसँग मेरो प्रयोग’।
२१औं शताब्दिमा आएर गान्धीको कुरा गर्दा सत्यलाई हेर्नुपर्छ । अझ भनौं, उनका बारेमा धेरै कुरा छन्। एक चरणमा उनी वर्ण व्यवस्थाका पक्षपाती थिए। अर्को चरणमा उनी कुनै पनि सम जातिको विवाहमा जाँदैनथे। कुनै समय आफूलाई ब्रिटिश सरकारका बफादार सिपाही भन्थे। अंग्रेजलाई सहयोग गर्न सिपाही भर्ती भएका थिए। कुनै समय श्रीमतीसँगको भगडामा पर्थे । दलितलाई मताधिकार दिन आन्दोलन गरे। नेहरूले नमान्दा नमान्दै भारतको संविधानको मस्यौदाकारका रूपमा अम्बेडकरलाई प्रमुख बनाउनु पर्यो।
यसबाट के प्रष्ट हुन्छ भने गान्धीको व्यक्तित्वमा थुप्रै अन्तरविरोध छ। उनको अन्तरविरोधको व्याख्या सबैभन्दा नजिकका शिष्य जवाहरलाल नेहरूले गरेका छन्। नेहरूको आत्मकथामा ठाउँ–ठाउँमा गान्धीको कुरा आउँछ। उनले गान्धीको झर्किपनाका विषयमा ठाउँ ठाउँमा उल्लेख गर्दै स्वाधिन भारतमा गान्धीको झर्किपना नचल्ने उल्लेख गरेका छन् ।
नेहरूले गान्धीलाई धार्मिक तरिकाले हेर्दा राजनीतिक प्राणी देख्छन्, राजनीतिक प्राणीका रूपमा हेर्दा धार्मिक देखिन्छन् । मुसलमानलाई भारत सरकारले पैसा दिएन भन्दै अनशन गर्छन्। त्यसैले गान्धीको व्यक्ति यति विचित्र छ यति बहुआयामिक छ। त्यसैले गान्धीको कुन कुरालाई पक्रने भन्ने गम्भीर विषय छ आजको २१औं शताव्दीमा।
तर खासगरी आजको नेपाली राजनीतिका लागि हामीले गान्धीको वास्तविक क्रान्तिकारिता अझै पनि रेखाङ्कन गरेका छैनौं। गान्धीवादी हुन नेपाली कांग्रेसले कति पटक हतियार बोक्यो। गान्धीको विषयमा सबैभन्दा ठूलो विशेषता छ, ‘तिमी जतिसुकै ठूलो अप्ठेरोमा पर्दा पनि आँखामा आँखा मिलाएर कुरा गर्न सक्नुपर्छ । अर्थात् गान्धीले सिकाएको कुरा भनेको तपार्इं आफ्नो आत्मसम्मानका साथ बाँच्नुस् । कोहीसँग पनि आत्माका विरूद्ध नडराउनुस् । यो नै गान्धीको केन्द्रीय शिक्षा हो।
गान्धीको २१औं शताव्दीमा तीनवटा मुख्य विशेषता छ। जुन नेपाली कांग्रेसले लिनुपर्छ। गान्धीले हिन्दू, मुसलमान एक आपसमा मिल्नुपर्छ भनेर जुन अभियान शुरू गर्नुभयो, त्यहाँ उहाँले हिन्दू, मुसलमानबीचको द्वन्द्वको समाधानका लागि लाग्नु भयो त्यस्तै खतरा नेपालमा पनि केही अघिसम्म थियो। मधेस र पहाड, जनजाति र खस, जनजाति र बाहुनको लडाईंको अवशेष आज पनि बाँकी छ। अमेरिका, बेलायतका शासकहरूमा पनि अहिले त्यो मनोविज्ञानले काम गरिरहेको छ। त्यसैले आज हामीले भन्नुपर्छ हामी सबै एक हौं। गान्धीजी भन्नुहुन्थ्यो, मानिसको अनगिन्ती पहिचान हुन्छ तर केन्द्रीय पहिचान हो मनुष्य।
सत्याग्रहमा एउटा त्रूटी भयो भने जति गाली अंग्रेजलाई गर्थे त्योभन्दा सय गुणा बढी आफ्ना साथीहरूलाई गर्थे। सत्याग्रह गर्ने भनेको छ, आगो लगाउँन पाइन्छ ? त्यो आन्दोलन बन्द गर भन्थे। ६ बर्षसम्म राजनीतिमा हात हाल्दिन भनेर बसे। चर्खा आन्दोलन भयो। महिला जागृति आन्दोलन, गाई सेवाको आन्दोलन, ग्राम सफाइको आन्दोलन गान्धीको जीवनमा यस्ता रचनात्मक कार्यक्रम अत्यन्त महत्वपूर्ण थियो। आज हामीहरूको समस्या के छ भने टिकट पाएमा फलानो नेता जिन्दाबाद, नपाए मूर्दाबाद। गान्धीजीले रचनात्मक काम दिन्थे, चर्खा चलाउँथे।
त्यसैले म आज कांग्रेसका नेताहरूलाई भन्छु कि पार्टीले जबर्जस्त रूपमा रचनात्मक कार्यको अभियान चलाओस् अनि गान्धीवादी भइन्छ। ताकि यसबाट मान्छेले रोजगार पाउन्। एनजीओ, सामुदायिक वन लगायतका सबै कुरा कम्युनिष्ट पार्टीका नेताहरूसंग छ। त्यसकारण पनि कांग्रेसले रचनात्मक कार्यक्रम चलाउन जरूरी छ ।
गान्धीले आफ्नो आत्मकथामा लेखेका छन् ‘म राजनीति गर्न राजनीतिमा आएको होइन। आत्मसाक्षात्कारका लागि राजनीतिमा आएको हुँ ।’ उनको बुझाईमा हरेक मानिसमा ईश्वरको अंश थियो । उनी आफूलाई प्रश्न गर्थे ‘म को हुँ, कहाँबाट आएको हुँ’ भन्थे । प्रधानमन्त्री बन्छु भन्ने थिएन । गान्धीलाई धेरैले धार्मिक भनेर व्यंग्य पनि गरेका छन् ।
तर, साँचो कुरा त्यसो होइन। प्रारम्भमा गान्धी भन्थे भगवान सत्य हुन् । तर पछि उनी भन्न थाले सत्य नै भगवान हुन्। नबुझ्नेहरूले मात्र गान्धीलाई पुरातनवादी भन्ने गरेका हुन्। त्यसकारण माक्र्सका नामबाट २० औं शताब्दीमा जुन खालको उथलपुथल आएको थियो, त्यसैगरी गान्धीका नामबाट २१ औं शताब्दीमा उथलपुथल आउनेछ।
१९६४ मा जेलबाट छुटेर महेन्द्रनारायण निधि पुतलीसडकस्थित घरमा आउनु भयो। म विद्यार्थीका रूपमा उहाँको घरमा बस्दा हिंस्रक राजनीतिको कुरा गर्दा उहाँले पहिलो पटक गान्धीका बारेमा सुनाउनु भयो । त्यतिबेला पत्यार लागेको थिएन। उमेर छिप्पिदै गयो, पत्यार लागेको छ।
(नेता गिरीले महेन्द्रनारायण निधि प्रतिष्ठानद्वारा मंगलबार राजधानीमा आयोजित महात्मा गान्धीसम्बन्धी विचार गोष्ठीमा व्यक्त गरेका विचारको सम्पादित अंश)