शायद भारतमा संकटकाल समाप्तिपछिको नोभेम्बर महिना थियो । तीब्र राजनीतिक ध्रुबिकरण भइरहेको समय । पटनामा रहनु भएका बीपी कोईराला जेपी (जयप्रकाश नारायण) को गाँउ सिताबदियरा जाने हुनुभयो। पटनाको ‘आर ब्लक’ प्रवासी जीवन बिताईरहेका नेपाली कांग्रेसका धेरैजना त्यता जान उत्सुक भए ।आर ब्लक बिधान सभाका सदस्यहरूको सरकारी आवास क्षेत्र थियो । बिराटनगरको सीमावर्ती फारबिसगंज तिरबाट प्रभावशाली विधायक रहनुभएका सरजु मिश्राले आफ्नो नाममा तोकिएको निवास नेपाली काँग्रेसको प्रवास कार्यालय संचालनका लागि दिनु भएको थियो ।
भारतमा जनता पार्टी बन्दै थियो । जय प्रकाश नारायणको अभियान थियो – संपूर्ण क्रांति । संकटकालभन्दा पहिले नै जेपीले संपूर्ण क्रान्तिका लागि आह्वान गर्नु भएको थियो । त्यसैका तहत सामाजिक रूपान्तरणका लागि चन्द्रशेखरजीले सिताबदियरामा ‘जाति तोडो’ सम्मेलन आयोजना गर्नु भएको थियो । जयप्रकाश नारायण र बीपी कोईराला त्यस सम्मेलनमा विशिष्ट आमन्त्रित हुनुहुन्थ्यो ।
भारतको यो नितान्त आन्तरिक बिषयमा बीपी किन फस्ने? यो गनगन काँग्रेसभित्र थियो । बेमतलबमा इंदिरा गांधी रिसाउलिन भन्ने कुरा चक्र बास्तोलाले बीपीसमक्ष राखेको हामीले सुनेका थियौ । गिनेचुनेकामध्ये चक्रजी पनि एक थिए जो बीपीका अगाडि निर्धक्क विमति राख्न सक्थे । यद्यपि जयप्रकाश नारायणले आग्रह गरेकाले बीपी जान लाग्नु भएको हामीले थाहा पाएका थियौं ।
त्यहाँ भारतीय काँग्रेस पार्टीको ओरालो लाग्ने क्रम देखिईसकेको थियो ।अंग्रेजबिरोधी स्वतन्त्रता आन्दोलनका बखतदेखि भारतीय काँग्रेसले आर्जन गरेको राष्ट्रिय स्वरूप टुट्दै गएको थियो । भारतका केही मुख्य प्रदेशहरूको राजनीति भने सामाजिक–जातीय मुद्दाहरूमा ध्रुवीकरण हुँदै गएको थियो । यसैबीच जसरी भए पनि इन्दिरा गांधीलाई हराउनु पर्छ भन्ने भावनात्मक बिषयले बिपक्षी एकताको कमजोर त्यान्द्रोसम्म बनाएको थियो । यसैको जगमा जनता पार्टी बन्यो ।
चन्द्रशेखर बीपीसंग गफिएर भन्नु हुन्थ्यो– बिहार, यूपी आदि प्रदेशको राजनीति जातिवादतिर गैसक्यो । बीपीको चाहना थियो, ‘समाजवादीहरू एउटा शक्ति बनुन् ।’ भारतीय राजनीतिमा त्यतिखेर विकसित हुँदै गएका कतिपय घटना बीपीका लागि एकखाले प्रयोग पनि थियो । उत्तर भारतका मुख्य प्रान्तहरू उत्तरप्रदेश, हरियाणा, बिहार आदिमा ह्वात्तै बढेको जातिवादी रूझानले निकट भविष्यमै धार्मिक विचारबाट चल्ने राजनीतिक पार्टीलाई टिकाऊ विकल्पको रूपमा प्रस्तुत गर्ने आँकलन बीपी र चन्द्रशेखर दुबैको थियो।
चन्द्रशेखर, बीपीमा सामाजिक चेतनाको बिलक्षणता देख्नु हुन्थ्यो । तर, अबको भारतीय राजनीतिमा बैचारिक आधारमा कुनै बिकल्प दिन सकिन्छ कि भन्ने कुरामा निरास देखिनु हुन्थ्यो । यदि आफू समाजवादी बिचारधाराको पार्टी बनाउनेतिर लाग्ने हो भने इन्दिरा गान्धीको विकल्प दिन सकिदैन भन्ने चन्द्रशेखरको चेतको बीपीले कुनै बिकल्प दिने अवस्था पनि थिएन ।
आजको उत्तर प्रदेशका जल्दाबल्दा पार्टी– मायावती नेतृत्वको बहुजन समाजवादी पार्टीका महामंत्री सुधिन्द्र भदौरिया उ बेला बिएचयूका प्रखर छात्र नेता थिए । बीपी कोईरालालाई समाजवादी बिचारका मुर्धन्य एशियाली नेता मान्दथे ।
डा. बाबुराम भट्टराई प्रधानमन्त्रीको रूपमा दिल्ली भ्रमणमा जानु भएको थियो । सन्चारमन्त्रीको रूपमा म पनि सहभागी थिएँ । दिल्लीको लिलावती होटेलमा सुधिन्द्रले त्यस बेलाको घटनाक्रम र बीपीको चिन्तनलाई याद गर्दै मलाई भनेका थिए, ‘बीपीले त पटकपटक चर्चा गर्थे कि भारतीय राजनीतिमा पार्टीहरूको राष्ट्रिय स्वरूप खण्डित हुँदैछ । ‘जातिवाद’ दलहरू गठनको आधार हुँदैछ । यदि जातिगत आधारमा दलहरूलाई चलाउने प्रयास भयो भने धर्मको आधारमा चल्ने पार्टीहरूले जातिवादी सोचलाई पछार्ने छन् ।’ सुधिन्द्र आज स्वयं दलित केन्द्रीत पार्टीमा छन् । दिल्लीमा मैले पटनालाई संझेको थिए ।
म सोच्छु, ‘बीपीमा दक्षिण एशियाली मुलुकहरूकै सामाजिक संरचनाका बारेमा अद्भूत र बिलक्षण ज्ञान थियो । ’आजको भारतलाई हेरौं – उत्तर प्रदेशमा मुलायम सिंह र मायावतीहरु, बिहारमा लालु यादव र नितीश कुमारहरु, हरियाणामा देबीलालहरूले जातिवादलाई प्रश्रय दिए । यादब–मुसलमान–दलित–जाट समिकरण बनाए । काँग्रेस जस्ता पार्टीहरूको राष्ट्रिय स्वरूप बिखण्डित हुँदै गयो । धर्मको आधारमा संगठित भारतीय जनता पार्टीले सबैलाई पटकन दियो, पछार्यो ।
मलाई लाग्छ, हामीले पनि यसबाट लिने केही शिक्षा छ । यसबारे कुनै दिन लेखौला ।
पूर्वमन्त्री जयप्रकाश आनन्दको फेसबुकबाट साभार