यतिबेला हामी संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरणमा छौं। संघीयतामा सबैभन्दा बढी अल्झिराख्ने मान्छे को हो? भनेर कसैले सोध्यो चित्रबहादुर केसीभन्दा माथि प्रधानमन्त्री केपी ओलीको नाम लिन्छु। चित्रबहादुर केसीले संघीयता मलाई मन पर्दैन भन्न पाउनुहुन्छ। यो उहाँको अधिकार हो। त्यो अधिकारलाई हामीले सम्मान गर्नुपर्छ। उहाँलाई त्यो अधिकार संविधानले दिएको छ।
तर, संघीय नेपालको प्रधानमन्त्री ओली हुनुहुन्छ, उहाँ यो संघीयता भन्ने व्यवस्था नै नेपालका निम्ति थोपरिएको व्यवस्था हो, दुर्भाग्यपूर्ण हो, अभिसाप हो, यो चल्दै चल्दैन भन्ने भित्रबाट ठान्नुहुन्छ। यो व्यवस्था असफल रहेको व्यक्त गर्न व्यग्र हुनुहुन्छ भने त्यो भन्दा दुर्भाग्यपूर्ण अवस्था केही हुन सक्दैन। त्यसैले नेपाली कांग्रेसको यो ड्युटी हो। अब हामीसँग संघीयता चलेन भन्ने सुविधा छैन। संघीयतालाई सफल बनाउने जिम्मेवारी पनि कांग्रेसकै हो। कांग्रेस सरकारमा पो नगएको हो।
संविधान कार्यान्वयनको सन्दर्भमा त कांग्रेस लिडर हो। अस्ती भर्खर संविधानका १८ वटा मौलिक हललाई हामीले ८–१० दिनभित्र संसदबाट पारित गरायौं। कांग्रेसले एक दिनमात्र पनि सदनमा अवरोध सिर्जना गर्न चाहेको भए आजै एकखालको संवैधानिक संकट आइसकेको हुन्थ्यो। संविधान निर्माणको अन्तिम चरणमा एक मिनेट पनि कांग्रेसले सदनको कारवाही तलमाथि हुन दिएन। त्यस्तै, संविधान कार्यान्वयनको सन्दर्भमा हामी लिडर हो भन्ने जिम्मेवारी बोध थियो। स्थानीय, प्रदेश र संघीय सरकारलाई सफल मनाउने काम पनि कांग्रेसको हो।
हामी प्रष्ट हुनुपर्छ कि यो संविधानको सफलता संघीयताको कार्यान्वयनसँग मात्र जोडिएको छैन। समावेशिताको कुरा भन्न जति सजिलो छ कार्यान्वयन गर्न त्यति गाह्रो छ। अहिले पनि हामी हेर्न सक्छौं काठमाडौं र मधेसको बीचमा ठूलो दूरी देखिएको छ। अब कांग्रेसले दाबीका साथ अगाडि आएर भन्न सक्नुपर्छ मधेसले काठमाडौंलाई हेर्यौं भने चुच्चो ढाकाटोपी लगाएको केपी ओली देख्छ। माथिबाट तलसम्म चटक्क परेको केपी ओली देख्छ।
काठमाडौंबाट मधेसतिर हेर्ने हो भने माथिबाट तलसम्म सेतो धोती लगाएको राजेन्द्र महतो देख्छ। अब हामीले मधेस र काठमाडौंका युवकलाई मात्र होइन सबै नागरिकलाई भन्न सक्नुपर्छ बीचमा कांग्रेस उभिएको छ। बीचमा उभिएको कांग्रेसलाई तपाईँले राम्रोसँग हेर्नुभयो भने धोती लगाएको देख्नुहुन्छ। त्यो भन्दा राम्रोसँग हेर्नुभयो भने टोपी लगाएको देख्नुहुन्छ।
आजको दिनमा नेपालभित्र मधेस र काठमाडौंलाई जोड्ने ताकत न राजेन्द्र महतोले राख्नुहुन्छ, न केपी ओलीले राख्नुहुन्छ। त्यो ताकत कसैले राख्छ भने कांग्रेसले मात्र राख्छ। अधिकार दिएर होइन अधिकार सम्पन्न गराएर प्रतिष्ठालाई स्थापित गराएर मधेसको अधिकारको लडाइलाई सम्मान गरेर, पहिचानको लडाइलाई सम्मान गरेर मधेसको मात्र होइन यहाँको दलित, जनजाति, मुस्लिम सबैको अधिकार बराबर छ भन्ने कुरा कांग्रेसले मात्र स्थापित गराउन सक्छ।
संघीय समाजवादी फोरम हिजो यही संविधानलाई मान्दैनौं भनेर लडाइमा गएको थियो। त्यसलाई म सम्मान गर्छु। तर, फोरम नै सरकारमा छ। अब पनि प्रदेश नम्बर २ मा छाती ठोकेर मधेसको नेतृत्व कसैले गर्न सक्छ भने मधेसलाई काठमाडौंसँग लडेर हक अधिकार दिलाउन सक्छ भने त्यो केबल कांग्रेसले मात्र गर्न सक्छ। त्यो गर्ने क्षमता हामीले राख्नुपर्छ।
संविधानको अर्को विषय भनेको शासनसँग जोडिएको छ। त्यो बेलामा हामीले सबैलाई अब आन्दोलन सम्पन्न हुन्छ, गणतन्त्र आउँछ, त्यसपछि देशमा सब ठीकठाक हुन्छ भन्थ्यौं। त्यसको केही वर्षपछि जनतालाई संविधान सभा आयो। अब संविधान बन्छ अनि संविधान बनेपछि सब ठीकठाक हुन्छ भन्यौं। माओवादीसँग शान्ति प्रक्रिया टुंगिन्छ सब ठीकठाक हुन्छ भन्यौं। अनि अस्ती के भन्यौं भने चुनाव सकिन्छ सब ठीकठाक हुन्छ। अब के हुने हो? अब भन्न बाँकी केही पनि छैन। मान्छेले यो पनि काम लागेन त्यो पनि काम लागेन अब पुराना पो काम लाग्छन् कि भन्न थालेका छन्।
नेपाल आजको दिनमा सबैभन्दा बढी युवा भएको देश हो। वर्षको पाँच लाख युवालाई अहिले नेपालमा जागिर चाहिन्छ। सरकारले जतिसुुकै कुरा गरे पनि मुस्किलले ३० हजार युवालाई जागिर दिन सकिँदैन। वर्षमा चार लाख केटाकेटीले काम पाउँदैनन्। अनि खाडीमा काम गर्न जान्छन्। उनीहरुले कमाएको ढुकुटीको आडमा देश चलेको छ।
तर, यो लामो समयसम्म चल्दैन। जुद्ध शमशेरपछि सबैभन्दा बढी अवसर पाएको केपी ओली नेतृत्वको सरकारले विदेशिएका ती तन्नेरीलाई फर्काउने कुरा त छोड्दिनुस् यहाँबाट रोक्न पनि सकेको छैन। यसमा सरकारलाई कांग्रेसले गर्न सकेन भनेर मात्र हुँदैन। हामीले पाँच वर्षपछि चुनाव जित्छौं भनिरहेका छौं। यसले हामीलाई उत्साहित बनाउँछ।
एउटा कोठामा बसेको गैरकांग्रेस जसले चुनावमा कम्युनिष्ट पार्टीलाई भोट हल्यो वा राजपा र फोरमलाई भोट हाल्यो उसलाई पाँच वर्षपछि कांग्रेस आउँछ भनेर उत्साहितसँगै पाँच वर्षपछि आएको कांग्रेसले के गर्छ भन्ने कुराको उत्तर हामीले दिन सक्नुपर्छ। हिजोभन्दा फरक के गर्छ भन्न सक्नुपर्छ। यो–यो कार्यक्रम बनाएका छौं भनेर भन्न सक्नुपर्छ। त्यसो गर्न सकेमात्र पार्टीबाट विरक्तिएका मानिसहरु हामीसँग हुनेछन्।
पछिल्लो चरणमा सुशील कोइरालाको नेतृत्वमा मुलुकले संविधान पाएको हो। संघीय प्रणालीको पहिलो चुनाव शेरबहादुर देउवा नेतृत्वको सरकारले गराएको हो। हो, संविधानमा कतिपय सच्याउनुपर्ने कुराहरुको आवाज उठेको छ। त्यो आवाजलाई कांग्रेसले हिजो पनि सम्मान गरेको थियो आज पनि सम्मान गर्छ। सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउँछ भने कांग्रेस संविधान संशोधनको पक्षमा उभिन तयार छ।
हिजोका दिनमा नेपाली जनाताले माओवादी शान्ति प्रक्रियामा आओस् भन्ने चाहेका थिए, त्यो पूरा भयो। संविधान बनोस् भन्ने जनताको चाहना थियो, त्यो पुरा भयो। त्यसपछि स्थिर सरकार आओस् भनेका थिए जनताले, स्थिर सकार पनि आयो। नेपाल सम्वत्, दशैं, तिहार छठ जस्ता चाडपर्बको आम नेपालीमा उल्लास हुनुपर्ने थियो। कांग्रेसजनलाई निर्वाचन हारेको पीडा भएपनि आम जनता बडो खुसी हुनुपर्ने नि। सडकमा भेटिएका वा आफन्तजन कसैलाई सोध्यौं भने कोही पनि ढुक्कसँग चाडवाड मनाउन लागेका छैनन्। नेपाल कम्युनिष्ट पार्टी होस् या संघीय फोरम या राजपालाई भोट हाल्नेहरुलाई पनि यो चाडपर्वले उत्साह जगाउन सकेको छैन।
एक वर्षअघि भोट हालेको मानिसहरु आफूले गरेको मतदानमा पञ्चाताप गरेको कुरा ६–७ महिनामै छर्लङ्गै भएको छ। यसबीचमा हामीले महसुस गर्नुपर्ने कुरा भनेको जनताप्रति कांग्रेसको जिम्मेवारी बढेको छ। संघीय फोरमसँग, राजपासँग वा नेपाल कम्युनिष्ट पार्टीसँग विरक्तिएका छन् मतदाता। उनीहरुसँग मात्र विरक्तिएका छैनन्। कांग्रेसले आफूलाई सुधार्न सकेन र एकपटक फेरि म सम्हाल्छु भनेर पुर्नदाबी गर्न सकेन भने ती पार्टीसँग विरक्तिएका मतदाता सिंगो प्रणालीसँग विरक्तिने खतरा आउन सक्छ। त्यस हिसाबले कांग्रेसलाई आफ्नो जिम्मेवारी पूरा गर्ने अवसर पनि हो यो।
(-नेका सर्लाही काठमाडाैं सम्पर्क समितिले अायाेजना गरेकाे कार्यक्रममा थापाले व्यक्त गरेकाे विचारकाे सम्पादित अंश)