कुनै पनि भूमिको राजनीति कस्तो हुने भन्ने कुरा राजनीतिक नेतृत्वको चरित्र, इमान्दारिता र नैतिकतामाथि निर्भर हुन्छ। मधेसको राजनीति अहिले मुख्य दुई भागमा बाँडिएको छ । एउटा यस्तो राजनीति छ जुन देशबाट ‘आजादी’ चाहन्छन् । अर्को देशभित्रै आजादी खोज्नेहरु छन् । देशभित्र खोज्ने आजादीको पक्षधर म स्वयं पनि हुँ। नेपालमा स्वायत्त मधेस प्रदेश हुनुपर्छ । मधेसी जनता अधिकारसम्पन्न हुनुपर्छ । मधेसीलाई सम्पूर्ण मानवअधिकार दिनुपर्छ।
मधेसलाई अधिकारसम्पन्न बनाउने भन्दै अहिलेका नेताहरु मधेसमा ‘ढुलमुल’ राजनीति गर्दैछन्। हालैका दिनमा आफूलाई ठुलो नेता भनाउने एकजनाले हाम्रो माग सम्बोधन नभए मधेस देश नै अलग हुने अभिव्यक्ति दिएका छन्। त्यस्तो भन्नेले बुुझ्नुपर्छ, जब तपाईसँग राजनीतिक अठोट छैन, दृढता, इमान्दारिता, नैतिकता छैन, तब तपाई के को नेता? सैद्धान्तिक अडानले मात्र राजनीति हुन्छ। यस्तो नभए त्यस्तो भइहाल्छ भन्नेहरुको राजनैतिक अडान, क्षमता के? यो, द्वैध राजनीति हो।
कहिले नेताहरु भन्छन्, यो मधेसविरोधी संविधान हो, कहिले भन्छन् यो संविधान काम नलाग्ने संविधान हो, यसको पुनर्लेखन हुुनुपर्छ । पुनर्लेखन वा संशोधन नभए भागै नलिने भन्ने। दुई चरणको चुनावमा भाग नलिएका उनीहरुले तेस्रो चरणको चुनावमा भाग लिए। के यही हो सैद्धान्तिक अडान? त्यसैकारण उनीहरुका केही प्रमुख नेताहरु समेत अलग भएका हुन्। मधेसविरोधी संविधान भन्ने अनि त्यही संविधान मानेर चुनाव पनि लड्ने? अनि भन्छन् हामी सडकदेखि संसदसम्म लड्छौँ।
यदि अडान हो भने उनीहरु यो संविधानलाई मानेर किन शपथ लिए? संविधानको विरोध गरेर शपथग्रहण गरेको भए पो जनताले विश्वास गर्थे। तर, आफूलाई ठूलो मधेसवादी कहलाउनेहरु पहिला आफैं शपथ लिए र पछि अरुलाई पनि सपथ खुवाए किनकि ती नेताहरुलाई राज्यको ढुकुटीबाट पैसा कमाउनु थियो। अनि जनताले उनीहरुमाथि किन विश्वास गर्ने? यही संविधानलाई मानेर मन्त्री बने, मुख्यमन्त्री बने, राज्यको सुख सुविधा तलब भत्ता लिन्छन् । तर, संविधान दिवसमा कालो दिवस मनाउछन् के यही नैतिकता हो? द्वैधचरित्र, अनैतिक राजनीति, अराजनीतिक चरित्र नभने यसलाई के भन्ने?
एकातर्फ संविधान दिवस नमनाउनेलाई केन्द्र सरकारले संविधानविरोधी भन्छ। तर, सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव छन्, रत्नेश्वरलाल कायस्थ प्रदेश २ मा ओली सरकारका प्रतिनिधि छन्।
उपप्रधानमन्त्रीले संविधान दिवस बहिस्कार गरेका छन्। संविधान दिवस बहिस्कार गर्ने मानिस संविधानविरोधी भएन? र, संविधान विरोधी व्यक्तिलाई प्रधानमन्त्रीले मन्त्रिमण्डलमा राख्छन्। प्रधानमन्त्री ओली नैतिकहीन, अराजनैतिक भएनन् ? यो प्रश्न प्रधानमन्त्री ओलीमाथि उठ्छ।
प्रदेश २ मा यही संविधानको सपथ खाएर मन्त्री बनेकाहरुमाथि पनि नैतिकताको प्रश्न उठ्छ। अराजनैतिक चरित्र देखाउने प्रदेश सरकारलाई जनताले किन विश्वास गर्ने? यो एक किसिमले वेश्यावृति राजनीति हो।
हामी आन्दोलनमा रहेको बेला सदभावना पार्टीबाट जनतामा विश्वास दिलाएका थियौँ कि हामी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि मधेसलाई राष्ट्रको मूलप्रबाहमा समाहित गर्छौँ। पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरे तर, राजनीतिक र सामाजिक एकिकरण गर्न सकेनन्।
जबसम्म भौगोलिक एकीकरणसँगै राजनीतिक र सामाजिक एकीकरण हुँदैन तबसम्म राज्य राष्ट्र बन्न सकदैन। अहिले नेपाल राज्य छ तर, राष्ट्रको रुपमा निर्माण हुन सकेको छैन। मधेसीमा अहिले यो भावना छ कि देश त मेरो छ, म नेपाली छु तर, यो राज्य मेरो छैन। मधेसीमा यो राज्य मेरो हो भन्ने भावना आएपछि मात्र राज्य राष्ट्र बन्छ। मधेसीप्रतिको हेराईमा राज्यको सुधार नआएकाले मधेसका युवाहरु सिके राउतका विचारप्रति आकर्षित भइरहेका छन्।
सिके राउतको प्रभाव बढ्नुमा मधेसलाई हाँकिरहेका नेताहरु पनि उत्तिकै जिम्मेवार छन्, जति केन्द्रीय सरकार छ। मधेसको राजनीति गर्नेहरुमाथि जनताले प्रश्न गरिरहेका छन्। मधेसका नेताहरुले सिके राउतको विचारधारालाई बढावा दिइराखेका छन्। अहिले पनि मधेसका मसिहा भनाउने नेताहरु तथा केन्द्रीय सरकारले गहन रुपमा विचार नगरी आफ्नो रबैयामा सुधार नगरे भोलिका दिनमा के हुने भन्न सकिदैन।
यहाँका नेताहरु मधेसको हकहित, अधिकार र विकासका कुरा गर्छन्। तर, मन्त्री बनेपछि सयौं गाडी अघिपछि कुदाएर आफूलाई राजाभन्दा पनि ठूलो गराउन खोज्छन्। आफूलाई जनप्रतिनिधि भनाउने र राजामा के फरक भयो त? अनि उनीहरुमाथि जनताले के आधारमा, किन विश्वास गर्ने?
राजनीतिमा समयसापेक्ष काम गरिन्छ। तर जनताले चाहे म फेरी पनि सक्रिय राजनीतिमा फर्किन्छु। लोकतन्त्र, मधेसवाद र नेपालभित्र मधेसको आजादीका लागि सधैँ लडिरहन्छु। मधेसवादी दलबाट असन्तुष्ट नेताहरु पनि मेरो सम्पर्कमा छन्, जो मलाई सक्रिय राजनीतिमा अगाडि बढ्न आग्रह गरिरहेका छन्।