राजनीति लोभलालचबाट कहिल्यै पनि मुक्त हुँदैन। न त्रेता युगमा रामको पालामा थियो, न द्वापर युगमा कृष्णका पालामा थियो न त गान्धीकै पालामा।
समाजवादको उदय माक्र्सवादबाट होइन। यो युरोपमा भएको औद्योगिक क्रान्तिबाट आएको हो। उत्पादन र सम्पन्नताको विराट रुपबाट आएको हो। माक्र्सवाद, समाजवाद, लोकतान्त्रिक समाजवाद लगायतका वादहरु त्यतिबेलै आएका हुन्। बुझ्न जरुरी के छ भने पूँजीवाद र साम्यवादमा केही फरक छैन। यसमा लोकतान्त्रिक समाजवादलाई बीचमा घचेट्न मिल्दैन।
वर्णशीनले समाजवादलाई शान्तस्वरुप भनेका थिए। रोजाले जतिसुकै समाजवाद भने पनि व्यक्तिगत स्वतन्त्रता हनन् गर्न पाइँदैन भनेकी थिइन् । पूँजीवादको विषयमा लेनिनसँग उनको भिन्न मत थियो। उनै रोजा सशस्त्र क्रान्ति गर्ने क्रममा जर्मनमा शहीद भइन्। उनको मुख्य इच्छा कुनै पनि व्यवस्थाका नाममा व्यक्तिगत स्वतन्त्रता हनन् गर्न पाइदंैन भन्ने थियो। लेनिनले संविधानसभा विघटन गर्दा तिमीले ठूलो अपराध गर्यौं भनेकी थिइन्।
तर आधारभूत रुपमा रोजा लग्जम्बर्ग, वर्णशीन, लेनिन सबै औद्योगिक क्रान्ति गर्ने, बिजुलीको रेल चलाउने, चन्द्रमामा मान्छे पठाउने अनि समाजवाद ल्याउने लाइनमा थिए। जुन लाइनमा अहिले अमेरिका, रुस लगायतका विकसित देश सफल पनि भएका छन्।
२० औं शताव्दीको प्रारम्भमा गान्धीलाई एकजना पत्रकारले सोधे ‘हाम्रो देश बेलायत जस्तो कहिले बन्छ?’ जवाफमा गान्धीले भने ‘भारत अबको तीन पुस्ता त के तीन युगमा पनि बेलायत जस्तो बन्दैन। मुठीभर जनताले विश्वको ४० प्रतिशतभन्दा बढी जनतालाई दमन, शोषण गरेर पूँजी निर्माण गरी विश्वका कुना कुनामा रहेका सुन, जवाहरतमा कब्जा गर्न र मध्यपूर्वको तेल लुट्न पाएपछि मात्रै भारत बेलायतजस्तो बन्न सक्छ।’
गान्धीले भनेका थिए ‘भारतले बेलायतको जस्तो जीवनस्तर पाउन भारतभन्दा ६ गुणा ठूलो ६ वटा देशलाई उपनिवेश बनाउनु पर्छ।’
गान्धी अर्थशास्त्री पनि होइनन्। अर्थशास्त्र भन्ने विषय धेरै पुरानो होइन, समाजशास्त्र भन्ने विषय त अस्ति भर्खरै मात्र आएको हो। यो देशमा कौटिल्यको अर्थशास्त्र भन्ने पुस्तक प्रचलित छ, नाउँ भने अर्थशास्त्र छ तर त्यहाँ अर्थशास्त्रका कुरा छैनन्।
अर्थशास्त्र राजनीतिकी दासी थिइन्। प्रारम्भमा पनि ‘पोलिटिक इकोनोमी’ राजनीति अर्थशास्त्र भनिन्थ्यो। अर्थशास्त्र भन्ने अलग विषय थिएन। अर्थशास्त्रबारे जानकारी दिन अर्थशास्त्र नै पढेको हुनुपर्छ भन्ने पनि छैन। गान्धीको भनाइको सार भनेकै देशमा जमीन कति छ, जनसंख्या कति छ, राष्ट्रको कुल पूँजी कति छ, ऋण कति छ, त्यो सबै जोडेपछि त्यसैका आधारमा देशको विकास हुन्छ भन्ने थियो।
बेलायत र अमेरिकाले जुन किसिमको सभ्यता उत्पत्ति गरेका छन् त्यो आवश्यकता होइन, ग्रीड (लालचा) मा आधारित छ। त्यसैले अब देशलाई आवश्यकतामा आधारित अर्थशास्त्र बनाउनुस् र एडम स्मिथ र रिकार्डोले भनेका कुराहरु बिर्सनुुस् भनेका थिए गान्धीले।
नेपालको सम्बन्धमा बीपी कोइराला पनि अर्थशास्त्री थिएनन्। राज्यसत्ता सञ्चालन गर्दा विशेषज्ञको रुपमा अर्थशास्त्री राख्ने गरिन्छ। उनीहरुको काम योजना बनाएर कार्यान्वयन गर्दाका पाटा केलाउने हो। बीपीले गाई पाल्न भन्नु भएको थियो। म जान्ने भएर ४० वटा गाई पालेको ती गाईबाट घाटा लाग्यो। अहिले पनि १४ लाख रुपैयाँ बैंकमा ऋण छ। त्यसैले म भन्छु, विकास भनेको राजनीतिक प्रक्रिया हो। अब अहिले बीपीका कुरालाई परिमार्जन र परिस्कृत गर्नै पर्छ। बीपीका कुरामा भुस पनि छ, गुदी पनि छ। भुस र गुदी के लिने तपाईहरुकै जिम्मा।
अर्थात् विकास प्रक्रियामा जनता र पार्टीका कार्यकर्तालाई समावेश गरिदैंन, विकासका योजना प्राविधिक टेक्नोक्र्याटका भरमा छाडिन्छ भने त्यसले राम्रो काम गर्दैन। किनभने विकासको सम्पूर्ण प्रक्रियालाई पञ्चायती पाराबाट अघि बढायौं। त्यो हाम्रो ३० बर्षको सबैभन्दा ठूलो गल्ती थियो। प्रजातन्त्र आए पनि पुलिस उस्तै जबरजस्त छ, इन्जिनियर उस्तै अटेरी छ, बैंक उस्तै डरलाग्दो छ। कांग्रेसले तीन करोड मोवाईल हाम्रो सरकारको पालामा ल्यायौं भनेर फुँइ लाउनु पर्दैन। किनभने विकास भनेको आफसेआफ अगाडि बढ्छ। विश्वमा सर्बत्र मोबाईल आएपछि नेपालमा नआई सुखै पाउँदैन।
चीनमा जनसंख्या बढेकाले उनीहरुको आवश्यकता पूर्ति गर्न विकास गर्नु परेको हो। लेनिनले मजदुरको नेतृत्वमा क्रान्ति हुन्छ भने। माओले भने किसानहरुको नेतृत्वमा क्रान्ति हुन्छ।
अहिले नेपालका कम्युनिष्टहरुले माओलाई विर्सिसके, प्रचण्डपथ पनि छाडिसके। चीनका माओ र भारतका गान्धीको कार्य पद्धतिमा अद्भूत समानता छ। दुवै किसानमुखी, जनमुखी थिए। दुवैजना भन्ने गर्थे, ‘जनताबाट सिक, अनि जनतालाई सिकाऊ।’ तर हामी जनतासँग सिक्न चाहँदैनौ। विकासको नाउँमा विदेशी साँढेको कथा जस्तै हाम्रो राजनीति। उन्नत जातका बाच्छा बाच्छी निकालेर त्यसबाट राम्रो आम्दानी गर्न विदेशी साँढे ल्याएर किसानले बाली लगाउन खोज्दा वरिपरी घुमेछ मात्र। पछि सोध्दा उसले भन्यो– म त ‘कन्सलटेन्ट,’ काम त अरुले नै गर्ने हो। हाम्रो विकास प्रक्रिया त्यस्तै भएको छ।
कांग्रेस भन्छ, हामी लेनिनको जस्तो होइनौं र भारतको जस्तो समाजवादी पनि होइनौं। हामी प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने दल हौं।
हुन त कांग्रेसले गान्धीबाट प्रेरणा लिएर प्रजातान्त्रिक समाजवाद अंगालेको भए पनि गान्धी र लेनिनले भने जस्तो समाजवाद कांग्रेसले अंगिकार गरेको छैन। समाजवादको विषयमा अध्ययन गर्दा कम्युनिष्टलाई तह लगाउन वर्णशीन पढ्नै पर्छ। तर नेपालको परिवेशमा समाजवादको कुरा गर्दा माओले गर्न खोजेका प्रयोगमा जे जति गल्ति भए पनि गान्धीले गर्न खोजेका प्रयोगका गल्ती भए पनि दुवैका समानताका आधारमा हामीले नयाँ समाजवाद अंगिकार गर्नैपर्छ। अहिलेका कम्युनिष्टहरु भ्रममा छन्। पहिला माओ ठीक भन्नेहरु अहिले देङ नै ठीक भन्ने अवस्थामा पुगेका छन्। देङले चीनको विकासमा ठूलो योगदान गरे। चीनको विकासको विषयमा अहिले विश्वभर चर्चा छ। म दावाका साथ भन्छु, अबको केही समयपछि चीनका कारण विश्वयुद्ध निम्तिदैछ, या त आन्तरिक द्वन्द्वबाट भष्म हुन्छ।
लोकतान्त्रिक समाजवादीहरुले नेपालमा हवाई रेल होइन, पहिला गाउँलाई समृद्ध गर्नुपर्छ। व्यक्तिका न्यूनतम आवश्यकता पूरा गर्नुपर्छ। माओ र गान्धीले भने जस्तै जनताबाट पहिला सिकेर फेरी जनतालाई सिकाउनु पर्छ। गान्धीको मृत्युपछि उनका कुराहरु जवाहरलाल नेहरुले सुनेन्। उनले पहिला जमीन राष्ट्रियकरण गरे, नातीका पालामा निजीकरण भयो। यसले भारतको अर्थव्यवस्था चौपट भएको थियो।
नेपालमा प्रारम्भिक बीपीमा द्विविधा थियो, उहाँमा युरोपको प्रभाव थियो। कांग्रेसका कार्यकतामा बीपीले भनेको भनेपछि सबै कुरा राम्रो मानिन्थ्यो, म भन्छु बीपीले भनेको कुरा पनि गल्ति थियो। उहाँले भनेका सबै कुरा समयसापेक्ष रुपमा ठीक थिएनन्।
आजको दिनमा हामीले समानताका माध्यमबाट सम्पन्नता र सम्पन्नताका माध्यमबाट समानता ल्याउने अर्थशास्त्रको विकास गर्नु परेको छ। अहिले विश्वमा उत्पादन र वितरणको खुबै चर्चा हुन्छ। यसमा पहिला उत्पादन कि वितरण भन्ने बहस पनि छ। उत्पादन र वितरण भनेको कैंचीको दुईवटा धार जस्तै हुन्। यसमा कसले पहिला काट्यो भन्ने हुदैंन। पहिला हामीले उत्पादन, उत्पादन मात्र भन्यौ तर परिस्थितिले न उत्पादन हुन दियो न त रोजगारीनै सिर्जना भयो।
(नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लेखेको ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद’ पुस्तक विमोचन समारोहमा नेता प्रदीप गिरिले दिएको मन्तव्यको सम्पादित अंश।)