नेपाली कांग्रेसले महासमितिको ‘कोर्स’ पूरा गरेको छ। बैठकबाट धेरै आशा र अपेक्षा गरिएको थियो। महासमिति बैठक केही उत्तरसहित केही अनुत्तरकाबीच सकिएको छ। देशैभरिका महासमिति सदस्यहरु र विदेशस्थित जनसम्पर्क समिति अन्तर्गतका महासमिति सदस्यहरुको उपस्थितिमा महासमिति बैठक सम्पन्न भएको छ।
जनसम्पर्क समिति दक्षिण कोरियाको सभापति र महासमिति सदस्यको हैसियतले म पनि महासमिति बैठकमा भाग लिन नेपाल आएकी थिएँ। बैठकपछि दक्षिण कोरिया फर्किने तरखरमा छु। महासमितिले पराजयपछिको कांग्रेसलाई भविष्यका लागि पूर्ण र प्रष्ट बाटो दिनेछ, सिङ्गो कांग्रेस पंक्तिलाई उत्साह र उर्जाले भरिभराउ गर्नेछ भन्ने सोचेकी थिएँ। तर, महासमिति कार्यसम्पादनमा सीमित भएको महसुस गरेकी छु।
यसले मेरो व्यक्तिगत जीवनमा केही सोच्नैपर्ने बनाएको छ। म नेपाली कांग्रेसका लागि नेपालमै बसेर योगदान गर्न चाहन्छु। मैले सोचेँ, अब भविष्यको सशक्त कांग्रेस निर्माणको दायित्व कुनै व्यक्तिको मात्र होइन, कुनै एक पुस्ताको मात्र होइन, अनि कुनै एक विचारको मात्र होइन। यो सामूहिक प्रयत्नले मात्र सम्भव छ, सामूहिक भावनाले मात्र सम्भव छ। हाम्रो सचेत, सक्षम र गतिशील युवा जोस र होसले कांग्रेसलाई उर्जा मिल्नेछ। नेतृत्वबाट मात्र आश गरेर हामी कसैको दायित्व पूरा हुँदैन। नेतृत्व एक्लैले मात्र पनि पूरा गर्न सक्दैन।
हाम्रो काँधमा पार्टी पुनःनिर्माणको गहन जिम्मेवारी आएको छ। प्रत्येक तहका कांग्रेसीले सोच्नुपर्ने कुरा यही हो। हामीले केही नवीन सोच र नवीन कर्ममा उर्जा र जाँगर लगाउनै पर्छ भन्ने निक्र्यौलमा पुगेकी छु। म चाहन्छु नेपालमै बसेर अप्ठ्यारोमा रहेको, देशको राजनीतिको किनारमा पुगेको कांग्रेसका लागि योगदान गर्न, साथ दिन। म दक्षिण कोरियाको सिओल नेशनल युनिभर्सिटीमा वातावरण विज्ञानको पीएचडी विद्यार्थी हुँ। साथै, वातावरण मन्त्रालय अन्तर्गतको कोरिया इन्भाइरोमेन्ट कर्पोरेशनमा रिसर्चरको रुपमा काम गर्दैछु। आगामी वर्ष पढाइ पूरा भएपछि नेपाल फर्किएर कांग्रेसलाई साथ दिने निर्णयमा पुगेकी छु।
आधुनिक नेपाल निर्माणका लागि बीपी कोइरालाले जस्तो अवस्थामा नेपाली कांग्रेसको स्थापना गर्नु भयो, क्रान्तिको स्वर मुखरित गर्नु भयो र सिङ्गो देशको प्रत्येक तह र तप्कालाई जोडेर निरंकुशताविरुद्ध लडेर आधुनिक र स्वतन्त्र नेपालको जग बसाल्नु भयो, हामी कांग्रेस हुनुको कारण र आकर्षणको विषय यही हो।
इतिहासमा नेपाली जनताको पक्षमा हर समय उभिएको कांग्रेस, लडेको कांग्रेस आज नेपालको राजनीतिमा पछाडि परेको छ। हामी नवयौवन कांग्रेसीहरुलाई सबैभन्दा धेरै दुखेको पक्ष यही हो। त्यो नेतृत्वदायी कांग्रेस खोइँ? त्यो वैभवशाली कांग्रेस खोइँ? त्यो पराक्रमी कांग्रेस खोइँ? त्यो गतिशील कांग्रेस खोइँ? त्यो मार्ग निर्देशक कांग्रेस खोइँ? त्यो अन्तर्राष्ट्रिय ख्याति र प्रतिष्ठा भएको कांग्रेस खोइँ? हामीले अबको कांग्रेसभित्रको राजनीतिमा यी प्रश्नको उत्तर खोज्नु पर्ने हुन्छ। कांग्रेस नव निर्माणका लागि। कांग्रेस आधुनिकीकरणका लागि।
महासमिति बैठक प्रस्तुत राजनीतिक र आर्थिक ‘डकुमेन्ट’ मा इतिहासको राम्रा कामको मात्र चर्चा परिचर्चा गरियो। गम्भीर भुल र त्रुटिको समीक्षा नै भएन। प्रजातन्त्र पुनःस्थापना पछाडि पार्टी सत्तामा रहँदा पार्टीले बोलेको समाजवाद उपर के–के काम भए या भएनन् छलफल नै भएन। छलफल हुनुपर्छ कि पर्दैन? हुनुपर्ने थियो कि थिएन? विगतका कमजोरीहरुको समीक्षा र भविष्यका लागि गल्ती नगर्ने अठोट शक्तिशाली कांग्रेस निर्माणको पहिलो कदम हो।
कांग्रेस हार्दै गर्दा पार्टीले मात्र हारेन, कांग्रेसी मात्रैले हारेनौं। देशको सिङ्गो लोकतन्त्र र लोकतान्त्रिक पद्धतिले हार्नु पर्ने दिन आएको छ। यो सानो कुरा हो? नेपाली कांग्रेसको जन्म किन भएको थियोे? के कांग्रेस पुर्खाहरुले यसैका लागि जीवन दिएका हुन्? कम्युनिस्ट पार्टीको सरकार छ, चौतर्फी सत्ताको आक्रमण भएको छ, हुँदैछ। राज्य धेरै कुरामा अनुदार हुँदै गएको छ।
महिला र निरीह जनताको अवस्था झनै दयनीय बनाइएको छ। लोकतन्त्रको नाममा लोकतन्त्रको चिरहरण भएको र हुँदै गरेको कुनै नेपालीलाई मन परेको छैन, चित्त बुझेको छैन। जनताको यो भावनालाई कांग्रेसले मिहिन रुपमा बुझ्न जरुरी छ, त्यसका लागि कांग्रेसले आफूलाई बुद्धिमता पूर्वक तयार गर्न जरुरी छ।
गएको निर्वाचनमा पार्टी पराजयको जसअपजसकै सेरोफेरोमा पार्टीको नेतृत्व पंक्ति अल्मलियो। पार्टी हारको वैचारिक र सैद्धान्तिक कारणको गम्भीर अनुसन्धान र भविष्यका लागि उत्तम आधारहरुको खोजी र अनुसन्धानका लागि राष्ट्रिय बहस हुनुपर्थ्यो।