जिल्ला अदालत कञ्चनपुरले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रमाण नष्ट गरेको र अनुसन्धानका क्रममा अभियुक्तलाई यातना दिएको आरोप लागेका ६ प्रहरी अदालतकाे आदेशपछि धरौटीमा रिहा भएका छन्।
अाज न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले डिएसपी ज्ञानबहादुर सेठी तथा प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई दुई मुद्दामा र अन्य चार जनालाई एक मुद्दामा धरौटीमा छोड्न आदेश दिएको थियाे।
अदालतले डिएसपी सेठी, इन्सपेक्टर खड्कासँग यातनामा ५–५ लाख र सार्वजनिक न्याय मुद्दामा ४–४ लाख धरौटी भराएर छोड्न आदेश दिएको छ। प्रहरी निरक्षक जगदीश भट्टसँग ४ लाख, सई हरिसिंह धामी ३ लाख ५० हजार, रामसिंह धामी ३ लाख र प्रहरी जवान चाँदनी साउदसँग २ लाख ५० हजार धरौटी माग गरिएको थियाे।
निर्मलाको बलात्कारपछि हत्या गरेको प्रमाण मेटाउन सहयोग गरेको र हत्या आरोपमा पक्राउ परेका अभियुक्तलाई यातना दिएको भन्दै नयाँ मुलुकी ऐनको व्यवस्था अनुसार ६ जना प्रहरीलाई फागुन २३ गते जिल्ला अदालत उपस्थित गराइएको थियो।
एसपी दिल्लीराज विष्ट र डिएसपी अगुंर जिसी भने अदालतमा उपस्थित भएका छैनन्। उनीहरुलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ। निर्मला हत्या प्रकरणमा अनुसन्धानको क्रममा अभियुक्तलाई यातना दिएको र प्रमाण नष्ट गरेको गत पुस ३ गते जिल्ला अदालतमा ८ प्रहरीविरुद्ध मुद्दा दायर भएको थियो।
गत साउन १० गते साथीको घरबाट फर्किने क्रममा बलात्कारपछि हत्या गरिएको अवस्थामा त्यसको भोलिपल्ट साउन ११ गते निर्मलाको शव उखुबारीमा भेटिएको थियो।