मुलुकभरका कानुन व्यवसायीलाई यतिबेला चुनाव लागेको छ । चैत १६ गते हुने निर्वाचनका लागि कानुन व्यवसायी २ अलग समूह बनाएर प्रचारमा जुटेका छन् ।
वृहत लोकतान्त्रिक समूहको नेतृत्व सुनिलकुमार पोखरेलले गरेका छन् । उनी नेपाल बारका पूर्व महासचिव हुन् । यसैगरी पेसागत प्रगतिशील तथा समावेशी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठनले गरेका छन् ।
श्रेष्ठ नेतृत्वको समूहले पोखरामा चुनावी प्रचार गरिसकेको छ । पोखरेल नेतृत्वको समूह भने अहिले चुनावी प्रचारका क्रममा पोखरा आएपुगेको छ । डेमिक्रेटिक लयर्स एसोसिएसन कास्कीले बिहीबार पोखरेल नेतृत्व समूहको परिचयात्मक कार्यक्रम गरेको छ । लोकतान्त्रिक समूहका पोखरेलले अबको बार नेतृत्व केन्द्रित नभएर नीति केन्द्रित हुने बताए । समाधानसँग कुरा गर्दै उनले बारलाई व्यवसायिक बौद्धिक संस्था बनाउन आफू लागिपर्ने प्रतिबद्धता जनाए ।
उनले बार जहिल्यै पनि राजनीतिक रुपमा तटस्थ हुनुपर्ने बताए । उनले भने,‘वकिललाई राजनीति गर्ने छुट छ, तर बार स्वयंले राजनीति गर्न हुँदैन ।’ राजनीतिक दलहरुले संविधान उल्लंघन गर्दाका बेला बारले सही बाटोमा ल्याउनका लागि बारले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र अब पनि गरिरहने उनको भनाइ थियो । उनले भने,‘तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी सरकारको कार्यकारी प्रमुख भएका बेला हामीले नै अवाज उठाएका हौं ।’
विधिको शासन, मानवअधिकार, लोकतन्त्रको सम्बद्र्धन र न्यायपालिककाको स्वतन्त्रताको लागि बारले कहिल्यै पनि कन्जुस्याइँ नगर्ने उनले प्रतिबद्धता समेत जनाए । अदालतमा पछिल्लो समयमा राजनीतिक हस्तक्षेप बढेको, कानुन व्यवसायी नै विचौलीयाको भूमिकामा देखा पर्न थालेको प्रति आफूहरु सजग रहेको उनको भनाइ थियो ।
डिएलएको नेतृत्वको पोखरेल समूहलाई राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र विकेकशील साझाको समेत समर्थन छ । झापाबाट चुनावी अभियान थालेको समूहले कञ्चनपुरसम्म पुगेर आफ्ना धारणा सार्वजनिक गरिसकेको छ । ‘हामी जहाँ पुग्यौं, त्यहाँबाट प्राप्त प्रेरणाबाट हामी निकै उत्साहित छौं,’ पोखरेलले भने ।