मन्त्रिमण्डल पुनर्गठनको चर्चा भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आफू पदबाट हट्न लागेको संकेत गरेका छन्। मन्त्री यादबले यस्तो संकेत पाएपछि कर्मचारीले समेत टेर्न छाडेको भन्दै गुनासो व्यक्त गरे।
विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा भावुक हुँदै उद्योगमन्त्री यादवले लगानी सम्मेलनपछि आफू मन्त्री पदमा कायम नरहने संकेत गरेका हुन्। उनले भने ‘मन्त्री पदबाट हटाउने तयारीपछि कर्मचारीका हाकिमलेसमेत टेर्न छोडेका छन्।’
मन्त्री हुँदा यो गर्छु भनेर जे सोचिएको थियो, त्यस अनुसार काम गर्न नसकेको उनले स्वीकारे। तर आफूले गलत काम भने नगरेको दाबी गरे। मन्त्री यादबले भने ‘एउटा कुरामा विश्वास गर्नुस् मैले गडबड गरेको छैन। कुनै ठाउँमा गडबड गरेको पाउनु भयो भने सजाय भोग्न तयार छु।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको मन्त्रीको कार्यसम्पादन मूल्यांकनमा यादब पनि कमजोर देखिएका छन्। सो मूल्यांकनपछि मन्त्रिमण्डल हेरफेर गर्नेबारे प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको हो। कार्यसम्पादनमा कामजोर देखिएका मन्त्रीलाई हटाएर नयाँ मन्त्री पठाउन दाहाल पनि सहमत भएका छन्।