नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले गरेका क्रियाकलापहरु जनभावना अनुसार नभएको आरोप लगाएका छन् । साथै उनले सीके राउतसंग हतारमा सम्झौता गरेर सरकारले फुर्सदमा पछुताउनु टिप्पणी गरे ।
पाल्पा जानेक्रममा आज भैरहवामा पत्रकारहरुसंग कुराकानी गर्दै सभापति देउवाले सम्झौतापछि सीके राउतका तर्फबाट भएका क्रियाकलापहरु गलत भएको बताए।उनले देशको राष्ट्रिय एकतामा खलल पुर्याउने क्रियाकला गर्न कसैलाई छुट नभएको समेत स्पष्ट पारे ।
सभापति देउवाले विप्लवलाई शान्तिपूर्ण मार्गमा ल्याउनुको सट्टा सरकारले प्रतिवन्धको निर्णय गरेर समाजमा असान्त फैलाएको आरोप समेत लगाए ।
पुर्वप्रधानमन्त्री समेत रहेका देउवाले सीके राउत र विप्लवलाई शान्तिपुर्णमा मार्गवाट अघि बढ्न आग्रह गरे।
देशको परिर्वतनका लागि शान्तिपुर्ण बाटाको विकल्प नभएको टिप्पणी गर्दै देउवाले प्रधानमन्त्री ओलीले त्यसतर्फ ध्यान दिनु पर्ने सुझाव दिए ।
नेपाल मगर संघको शनिबार हुने प्रदेश स्तरिय कार्यक्रमको उद्घाटनका लागि सभापति देउवासहितका नेताहरु पाल्पा तर्फ लागेका हुन् । सो अवसरमा पार्टीका सहमहामन्त्री डा प्रकाशसरण महत, पार्टिका नेताहरु वालकृष्ण खांण, भीष्मराज आङदावे लगायतको पनि सहभागिता रहेको छ ।
पाल्पा जानु अघि सभापति देउवासहितका नेताहरुले केही दिनअघि हत्या गरिएका नेपाल तरुण दलका कार्यकर्ता अनिस पुरीको घरमा पुगेर परिवारसंग भेटघाट गरेका थिए । सो अवसरमा आयोजना गरिएको शोकसभामा वोल्दै देउवाले देशका विभिन्न स्थानमा कांग्रेसका कार्यकर्ताहरु माथि भैरहेको कुटपिट र हत्याको पार्टीले उचित जवाफ दिने बताए । उनंले त्यसका लागि पार्टीलाई वलियो बनाउन सबै एक भएर संगठनमा लाग्न पनि आग्रह गरे ।