जनकपुर केन्द्र बनाएर मधेशको धार्मिक यात्रामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले जानकी मन्दिरमा पुजाअर्चना गरेका छन् । आज दिउँसो पूर्वराजा शाहले करिब दश मिनेट मन्दिरमा पूजा अर्चना गरेका हुन् ।
पूजाअर्चना पछि संचारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वराजा शाहले मुलुकमा शान्ति हाेस् भन्ने आफुहरुको इच्छा रहेको बताए । ‘सबै नेपाली जहाँ बसेपनि सुख शान्तिले बसोस, यही हाम्रो कामना हो, उनले भने, ‘अहिलेको समय देशमा प्रगति हुन शान्ति छैन । शान्ति चाहिन्छ त्यसैले सबैलाई सन्देश दिनुस ।’
मुलुक वास्तवमै अशान्त भइसकेको हो भन्ने प्रश्नमा पूर्वराजा शाहले जनताको मनोबल परिस्थती कस्तो रहेको उनीहरुसँग नै सोध्न आग्रह गरे । ‘मधेस बारेहामी पहिलेदेखि नै भन्दै छौँ, मधेस भन्दैनौ हामी तराइ भन्छौँ त्यो नेपालकै एउटा भु भाग हो,’ उनले भने ।
मन्दिरमा पूजाअर्चनापछि उनी विवाहमण्डप पनि पुगेका थिए । यसअघि बिहीबार सर्लाहीको मलंगवामा दुर्गा मन्दिरमा पूजापाठ गरेका थिए । जनकपुरबाटै पूर्वराजा शाहको २ चैतमा उदयपुरको गाइघाट पुगेर राधाकृष्ण मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ । गाइघाटबाट पुनः जनकपुर फर्केर ३ चैतमा उनको सप्तरीको सखडा भगवतीमा पूजाअर्चना गर्ने कार्यक्रम छ ।
पूर्वराजा शाहका स्वकीय सचिव सागर तिम्लिसनाका अनुसार पुर्वराजा शाहले विभित्र मठमन्दिर पुगेर पूजापाठ गर्नुका साथै आफ्ना समर्थकहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । पूर्वराजा शाहको यसअघि २२ फागुनबाट मधेश भ्रमण गर्ने कार्यक्रम रहेपनि आमा रत्नराज्य लक्ष्मी शाहको स्वास्थ्यमा समस्या आएपछि स्थगित भएको थियो ।