नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको माओवादी समूहलाई प्रतिवन्ध लगाउन नहुनेमा जोड दिएका छन्।
उनले अहिले नै प्रतिबन्ध लगाएर बार्ताको ढोका बन्द गर्नुको साटो सहमतिमा बार्ताबाटै समस्याको समाधान गर्नुपर्नेमा जोड दिए। बुटवलमा शनिबार प्रेस युनियन रुपन्देहीले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा नेता खाँणले सीके राउतसँग सरकारले गरेको सहमतिका बुँदाहरुमा अस्पष्टता रहेको बताउदै राउतले भनेजस्तै मुलुकलाई खण्डित गर्ने विषयमा जनमत संग्रह हुनै नसक्ने प्रष्ट पारे।
संविधानमा नभएका कुराहरुमा पनि सरकारले प्रतिवद्धता गरेजस्तो सहमतिका बुँदामा रहेको उनको भनाई थियो। सरकार र सीके राउतबीचको सहमतिमा साझा धारणा सार्वजनिक गर्न माग समेत गरे। सीके राउत समूह राजनीतिको मुल धारमा आउनु राम्रो कुरा भए पनि सहमतिको अर्को दिन सीके राउतका कार्यकर्ताले जनकपुरमा गरेको प्रदर्शन र नाराहरुले पनि आशंकाहरु बढाएको उल्लेख गरे।
नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक समेत रहेका खाँणले नेपालका लागि सबैभन्दा उपयुक्त व्यवस्था संसदीय व्यवस्था भएको र त्यसमाथि प्रहार भई कमजोर नहोस भनेर नै काग्रेस सदनमा रचनात्मक र नम्र रुपमा प्रस्तुत भईरहेको बताए।
उनले भने ‘पार्टी कार्यकर्ता, शुभेच्छुक र आम नागरीकको काग्रेस सदनमा बढ्तै आक्रमक रुपमा प्रस्तुत भइदियोस भन्ने चाहना छ, काँग्रेस नरम भयो भन्ने आरोप छ तर संसदीय व्यवस्था विवादमा नआओस र कमजोर नहोसभनेर हामी नरम भएका हौं।’