प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदा आफूलाई लोकतान्त्रिक भन्ने दल र नेताहरुको रुवाबासी नसुहाउने बताएका छन्।
विराटनगर विमानस्थलमा आइतबार बिहान पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले चन्दा, आतंक, हत्या हिंसा र बम बड्काउँदै हिडेकाले विप्लवको नेकपामाथि प्रतिबन्ध लगाइएको बताएका हुन्।
उनले भने, ‘विप्लव समूह भनेर चिनिने समूह छ। धम्क्याएर लुटपाट गरेर, उद्यमी र व्यवसायीलाई धम्क्याएर उत्पात मच्चाएको छ, बम पड्काएको छ, मान्छे मारेको छ। अनि यस्तो आपराधिक काम गर्नेलाई प्रतिबन्ध लगाउँदा आफूलाई लोकतान्त्रिक पार्टी र नेता भन्नेहरुको रुवाबासी किन? भइरहेको छ। मैले बुझेको छैन।’
उनले सरकारले ठट्टा नगरेको भन्दै विप्लव समूहलाई हिंसात्मक गतिविधि छोड्न चेतावनी दिए। उनले भने,‘विप्लवलाई भन्न चाहन्छु सरकार ठट्टा गरिरहेको छैन। ध्वंसात्मक काम गर्न पाइँदैन। कसैले रुवाबासी गर्छ भने गरोस्। सरकारले निषेधमात्रै होइन यस्ता गतिविधि नियन्त्रण नै गर्छ।’
उनले विप्लव समूहलाई सरकारले प्रतिबन्धमात्रै नभएर नियन्त्रण नै गर्ने दाबी गरे।