पार्टीको आन्तरिक असन्तुष्टि साम्य बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्ब पदाधिकारी तथा शीर्ष नेताहरुको अनौपचारिक बैठक बोलाएका छन्।
केन्द्रीय कार्य समितिको बैठक बस्नु अघिल्लो दिन आज दिउँसोका लागि देउवा निबास बुढानीलकण्ठमा बोलाइएको बैठकमा पार्टीको अनुशासन समिति, निर्बाचन समिति, नेविसंघको नेतृत्व चयन तथा बिभाग गठन लगायतका बिषयमा छलफल हुने बताइएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले अनुशासन र निर्वाचन समिति बहुमतबाट गठन गर्न खोजिए केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि बैठक बस्नु एक दिनअघि सभापति देउवाले अनौपचारिक बैठक डाकेका हुन्। सभापति देउवाले समिति गठन गर्ने प्रयोजनका लागि चैत ४ गते केन्द्रीय कार्यसमिति बैठक डाकेका हुन्।
बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय पूर्णबहादुर खड्का र शशांक कोइराला, कोषाध्यक्ष सीतादेबी यादब, पूर्ब उपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, पूर्ब महामन्त्री कृष्णप्रसाद सिटौला, अर्जुन नरसिं केसी, बालकृष्ण खाँण, डा. रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, डा. शेखर कोइराला लगायतका नेताहरु सहभागी हुँदैछन्।
संस्थापन पक्षले सहमतिको प्रयास नगरेको पौडेल पक्षको गुनासो छ। तर पनि संस्थापन पक्षले भने समिति गठन अघि निरन्तर सहमतिको प्रयास गरिरहेको दाबी गरेको छ। यसैक्रममा सहमतिको प्रयासका लागि उपसभापति विमलेन्द्र निधि शनिबार राति बरिष्ठ नेता पौडेल निबास बोहोराटार पुगेका थिए। उपसभापति निधि र नेता पौडेलबीच राति अबेरसम्म कुराकानी भएको थियो।
भेटमा उपसभापति निधिले सबैलाई समेटेर अघि बढेपछि मात्रै तल्लो तहका कार्यकर्तामा सकारात्मक सन्देश जाने भएकाले आफूहरु सधैं सहमतिको पक्षमा रहेको पौडेलसंग बताएका थिए। सहमतिकै लागि त्यसअघि पनि महामन्त्री पूर्णबहादुर खड्का पटक–पटक पौडेल निबास गएर कुराकानी गरेका थिए। एक नेताका अनुसार पाँच सदस्यीय अनुशासन समितिमा संस्थापन पक्षले अध्यक्षसहित तीनजना र देउवा–सिटौला पक्षले दुई जना पाउने सहमति यसअघि नै भएको थियो। सोही सहमति अनुसार सभापति देउवाले पौडेल–सिटौलासंग दुई जनाको नाम मागेका छन्।
संस्थापन पक्षले निर्वाचन समितिमा पूर्ब संयोजकसमेत रहेका सांसद राधेश्याम अधिकारीलाई दोहोर्याउँने प्रस्ताब अघि सारेको छ। अधिकारीको नाममा सिटौला सहमत भए पनि पौडेल हरिहर दाहालाई संयोजक बनाउनु पर्ने अडानमा छन्।
अपजसिलो काम भएकोले पनि अनुशासन समितिमा बस्न हत्तपत्त नेताहरु तयार देखिदैनन्। सभापति देउवाले अनुशासन समितिमा बस्नका लागि गोपालमान श्रेष्ठ, चित्रलेखा यादब, रमेश रिजाल लगायतका नेताहरुलाई पनि आग्रह गरेको बताइन्छ। तर उनीहरुले अनिच्छा देखाएपछि सभापति देउवाले अनुशासन समितिमा बसेर सहयोग गर्न भनेपछि अर्का नेता भीष्मराज आङ्देम्बे तयार भएका हुन्।
अनुशासन समितिमा देउवाले संयोजक आङ्देम्बेसहित केन्द्रीय सदस्यद्धय देबेन्द्रराज कँडेल र किशोरसिं राठौरको नाम प्रस्ताब गरेका छन्। तर बरिष्ठ नेता पौडेल–सिटौला पक्ष संस्थापन पक्षले एकलौटी गर्न खोजेको आरोप लगाउँदै आएका छन्। जबकि संस्थापन पक्षले पौडेल–सिटौला समूहसंग अनुशासन समितिमा राख्ने दुईजना सदस्यको नाम यसअघि नै मागिसकेको छ। आफूले भनेको व्यक्तिलाई संयोजक बनाउनु पर्ने भन्दै पौडेल–सिटौलाले सदस्यको नाम नदिएको एक नेताले बताए। देउवाले फागुन १४ को बैठकमै अनुशासन समिति गठन गर्न खोजेका थिए। तर पौडेल–सिटौला पक्षको विरोधका कारण सो दिन गठन हुन सकेको थिएन।
संस्थापन र अर्को पक्षका नेताबीच रहेको अर्को बिबाद भनेको निर्बाचन समिति गठनको हो। संस्थापन पक्षले निर्बाचन समितिमा पूर्ब संयोजकसमेत रहेका सांसद राधेश्याम अधिकारीलाई दोहोर्याउने प्रस्ताब अघि सारेको छ। अधिकारीलाई संयोजक बनाउने संस्थापन पक्षको प्रस्ताबमा नेता कृष्णप्रसाद सिटौला पनि तयार देखिएका छन्। तर पौडेल पक्ष भने बरिष्ठ अधिबक्ता हरिहर दाहालाई निर्बाचन समितिको संयोजक बनाउनु पर्ने अडानमा छ। जसका कारण निर्बाचन समितिले समेत पूर्णता पाउन नसकेको हो।
यसैगरी, संस्थापन पक्षले कार्यसम्पादन समितिम ४० प्रतिशतको नाम दिन पौडेल पक्षीय नेताहरुसंग आग्रह गरेको छ। यसअघिसोही आधारमा पौडेलले दिएको नामसमेत समेटेर सभापति देउवाले २९ सदस्यीय कार्यसम्पादन समिति गठन गरेका थिए। एक नेताका अनुसार नेता पौडेलले फलानो नेतालाई कार्यसम्पादन समितिमा राख्नैपर्छ भनेर कसैका नाममा अडान लिएपछि सभापति देउवाले कार्यसम्पादन समितिको आकार बढाएका थिए। पछ िबिधान बिपरित गठन भएको भन्दै बिरोध भएसंगै कार्यसम्पादन समिति बिघटन गरिएको थियो।
अहिले अनुशासन समितिसंगै कार्यसम्पादन समिति पनि गठनको तयारी भइरहेको छ। तर बरिष्ठ नेता पौडेल भने बरिष्ठताका आधारमा मात्र कार्यसम्पादन समितिमा सदस्यहरु राख्नुपर्ने प्रस्ताब अगाडि सारेका छन्। जबकि हिजोका दिनमा बरिष्ठ,कनिष्ठ नभनी संस्थापन र पौडेल पक्षबाबीच भागबण्डाका आधारमा कार्यसम्पादन समिति गठन गरिएको थियो। ‘बरिष्ठताको आधार केलाई मान्ने’ भन्ने प्रश्न गर्दै कांग्रेसका एकजना नेता भन्छन्‘ पदमा रहेको आधारलाई मान्ने कि पार्टीका गरेको योगदानलाई आधार मान्ने?’ उनको भनाईका कतिपय नेताहरु पदमा रहनु भएन होला तर नेपाली कांग्रेसमा उहाँहरुको योगदान महत्वपूर्ण छ। ‘त्यसो भए उहाँहरुलाई के भन्ने’ ती नेताको प्रश्न छ।