दिगो विकास लक्ष्य तथा सुशासन प्रवर्द्धनका लागि राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले पहिलो चरणमा तीन वटा प्रदेशमा अनुगमन गर्ने भएको छ।
त्यस क्रममा सरोकार भएका निकायसँग छलफल समेत गरिनेछ। समितिको आइतबार बसेकाे बैठकले पहिलो चरणमा प्रदेश नं १, २ र ३ मा अनुगमन एवं छलफल गर्ने निर्णय भएको सभापति तारादेवी भट्टले जानकारी दिइन्। अनुगमनका क्रममा प्रदेश सरकारका दिगो विकास र सुशासनसँग सम्बन्धित विषयमा काम गर्ने मन्त्रालय एवं विभागका अधिकारीको सहभागिता रहने जनाइएको छ।
सङ्घीय संसद्को चालु अधिवेशन समापन भएसँगै प्रदेश अनुगमनको कार्यक्रम तय गरिने उनले बताइन्। बैठकमा सांसद दीनानाथ शर्मा, सरिता प्रसाइँ, रमेश रायमाझीलगायतले समितिको कार्यक्षेत्र तोकिएको विषयमा अनुगमन गरी सुधारका लागि सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिएका थिए।
समितिले शुक्रबार संघीय संसद् सचिवालयभित्रको पुराना सामानलगायत चमेना गृहको अवस्थाकाबारेमा स्थलगत अनुगमन गरेको थियो। दिगो विकास र सुशासनका विषयमा अनुगमन जारी रहने जनाइएको छ।