राजपा नेपालले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
आइतबार दिउँसो तीन बजे बसेको बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले उभिएर बैठक अवरुद्ध गरेका हुन्। सभामुख कृष्णबहादुर महराले पटक-पटक बस्न आग्रह गरेपनि राजपाका सांसदहरुले मानेनन्। त्यसपछि सभामुख महराले राजपाका नेता लक्ष्मणलाल कर्णलाई बोल्न समय दिएका थिए।
बैठकमा बोल्दै सांसद कार्णले पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्व गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने बताए। कर्णले भने,‘बहुत दुर्भाग्य भयो, आज पनि हामीले बैठक अवरुद्ध गर्नु पर्ने भयो। किनकि सरकारले हाम्राे माग अझै पूरा गरेन। लाल संयोजकत्वको समितिले बुझाएको प्रतिवेदन किन सार्वजनिक भएन?’
सभामुख महराले आफूले सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै बस्न आग्रह गरेका थिए। तर, राजपाका सांसदहरुले उठेर विरोध जनाइराखेपछि सभामुख महराले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन्।