नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले रुपन्देहीको देवदहमा तरुण दलका कार्यकर्ता अनिस पुरीको हत्या सुनियोजित भएको आरोप लगाएका छन् ।
उनले राजनीतिक प्रतिशोधकै कारण आफ्ना कार्यकर्तालाई हत्या गरिएको भन्दै तरुणहरु थप सचेत र संगठित भएर अघि बढ्नु पर्ने बताए । हत्या गरिएका तरुण दलका कार्यकर्ता पुरीको घरमा आज तरुण दलले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै बस्नेतले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समयमा आफना कार्यकर्ता माथि भएको घटनाहरुले धर्यको बाँध टुट्न सक्ने चेतावनी पनि दिए । बस्नेतले अब तरुणहरु चुप लागेर नबस्ने चेतावनी दिदै प्रतिवादको अवस्था आउन नदिन सरकारलाई आग्रह गरे।
नेपाल तरुण दल जिल्ला कार्य समिती रुपन्देहीले आयोजना गरेको कार्यक्रममा बस्नेतले वास्तविक हत्यारालाई कारवाही नभए तरुणहरु आफै कारवाहीका लागि सडकमा उत्रिने चेतावनी दिए ।
कार्यक्रममा नेपाल तरुण दल क्षेत्रीय अध्यक्ष नविनराज आचार्य,देवदहका अध्यक्ष मोहन बहादुर जि.सी. जिल्ला सचिव रमेश शाही लगायतले पुरीको हत्याबाट विचल्लीत नभई हत्यामा सम्लग्नहरुलाई कारवाहीका लागि दवाव श्रृजना गर्न आग्रह गरे।