नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्कीलाई हिरासतमा राखि अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद थप गरेको छ ।काठमाडौं जिल्ला अदालतले राज्यविरुद्धको अपराधमा कार्कीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको हो। प्रहरीले आज कार्कीलाई मुद्दा चलाउन अदालतमा उपस्थित गराएको थियो।
कार्कीलाई शुक्रबार महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी प्रधान कार्यालयको संयुक्त टोलीले ललितपुर बालकुमारीस्थित कोठाबाट पक्राउ गरेको थियो।कार्की अहिले काठमाडौं परिसरको हिरासतमा छन्।
सरकारले विप्लव माओवादीका नेताहरुलाई राज्य विरुद्धको आपराधमा मुद्दा चलाउने नीति लिएको हो ।प्रहरीले विप्लव माओवादीका कार्यकर्तालाई कर्तव्य ज्यान मुद्दा, संगठित अपराध, हातहतियार तथा खरखजना मुद्दा चलाइरहेको छ। सरकारले प्रतिबन्ध लगाएसँगै ठूला नेता पक्राउ गर्न प्रहरीले देशभरि ‘अनौपचारिक सर्कुलर’ नै जारी गरेको छ। मुलुकी अपराध संहिता अनुसार यो अपराधमा २५ वर्षसम्म सजाय हुने व्यवस्था छ।
यसअघि क्रसर उद्योगमा बम बिस्फोट गराएको अभियोगमा पक्राउ परेका कार्कीलाई अदालतले साधारण तारेखमा रिहा गरेको थियो। कार्कीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको थियो।