दाङको दुई गाउँपालिकाको सीमामा उत्खनन विवाद छलफलबाट टुंग्याइएको छ। राप्ती गाउँपालिकाले राप्ती नदीमा नदीजन्य पदार्थ उत्खनन गर्न गरेको ठेक्का आह्वान गरेको क्षेत्र गढवा गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने भनेपछि विवाद सिर्जना भएको थियो।
आइतबार आयोजित बैठकमा भएको सहमतिअनुसार राप्ती गाउँपालिकाले उक्त नदीको चार स्थानमा वातावरणीय प्रभाव मूल्याङ्कन गरेकामा खुरुरिया, भानपुर र बगरापुरमा बोलपत्रमार्फत् नदीजन्य वस्तु उत्खनन गर्न पाउने भएको छ। यस्तै मझेरीया घाटमा गढवा गाउँपालिकाले उत्खनन गर्न पाउने भएको छ।
जिल्ला समन्वय समितिका सभापति जीतेन्द्रमान नेपालीको अध्यक्षता तथा प्रदेशसभा सदस्य इन्द्रजित थारू, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलगायतको सहभागितामा भएको छलफलले उक्त सहमति गरेको हो।
राप्ती नदीको सीमा विवादलाई दीर्घकालीन रुपमा समाधान गर्न नदीको मध्य भागलाई आधार मानेर नीतिगत रुपमा समाधान खोजिनुपर्ने प्रदेशसभा सदस्य इन्द्रजित थारूले बताए। 'सातसय २१ मिटर राप्ती नदीको क्षेत्र हो भने यसको आधा–आधा मानेर प्राकृतिक स्रोतको बाँडफाँट गरिने गरी अघि बढ्दा सजिलो हुन्छ', उनले भने,'दीर्घकालीन समाधानका लागि यस प्रकारको नीति बनाउन जरुरी छ।' रासस