सेवाग्राहीसँग घुस माग्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका प्रहरी सहायक निरीक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
मुद्दा तामेलीमा राखीदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग्ने प्रहरी सहायक निरीक्षक (असई) जन्म अधिकारीविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। असई अधिकारीले एक जना सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेको अडियो फेला परेपछिट अख्तियारको टोलीले पक्राउ गरेको थियो।
चन्दननाथ उच्च मावि शिक्षकविरुद्ध आयोगमा उजुरी परेको र त्यो मुद्दालाई तामेलीमा राखिदिने भन्दै असई अधिकारीले १४ हजार रुपैयाँ घूस लिइसकेको खुलेको छ। अधिकारीलाई अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले गत माघ १३ गते पक्राउ गरी अनुसन्धान थालेको थियो।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराधमा १४ हजार ८ सय, तथा सोही ऐनको दफा १५ बमोजिम समेत माग दाबी गरिएको छ।