तदर्थ समिति गठनको माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्।
केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरु आउन थालेपछि संघका कार्यकर्ता सोमबार धर्नामा बसेका हुन्। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेविसंघ नेता, कार्यकर्ताले १२ औं महाधिवेशन गर्नका लागि नेविसंघको तदर्थ समिति बनाउनुपर्ने माग गरेका हुन्।
संघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले नेविसंघको विधान कार्यान्वयन गर्नुपर्ने, तदर्थ समिति गठनमा ३२ वर्षे उमेर हद कायम राख्नुपर्नेलगायत माग राखेर महाधिवेशनको वातावरण बनाउन दबाब दिन धर्ना गरिएको बताए। आफ्नो कार्यकाल सकेर थपिएको समयभित्र पनि १२ औं महाधिवेशन गर्न नसक्दा सभापति नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहीन छ।