प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कारण शान्ति सुरक्षामा गम्भीर प्रश्न उठ्दा पनि सरकार ठट्टामात्रै गरेर बसिरहेको आरोप लगाएको छ।
सोमबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै कांग्रेसका सांसद राधेश्याम अधिकारीले विप्लवका गतिविधिका कारण शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठेको तर, सरकार ख्याल ठट्टामात्रै गरेर बसिरहेको आरोप लगाएका हुन्। उनले भने,‘मुलुकमा युद्धको डरलाग्दो स्थिति दोहोरिन लागिसकेको छ। तर, सरकार त्यसप्रति गम्भीर होइन ख्याल ठट्टामात्रै गरेर बसिरहेको छ।’
सांसद अधिकारीले सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई गम्भीरतापूर्वक नलिएर समस्या बल्झाउन लागि परेको आरोप पनि लगाए। उनले विप्लव नेतृत्वको पार्टीलाई सरकारले लुटेरा समूहका संज्ञा दिएर कानूनी ढंगलेमात्र समाधान खोज्नुगलत भएको बताए।
‘विप्लव समूहले हतियारको राजनीति र चन्दा आतंक सुरु गरिसकेको छ। सरकारले लुटेरा समूह भनेर कानुनी ढंगले मात्र समाधान खोजिरहेको छ,’उनले भने,‘यो काम गलत हो।’ सांसद अधिकारीले विप्लवलाई राजनीतिरुपमा वार्ता गरेर शान्तिपूर्ण बाटोमा ल्याउने काम सरकारको भएको बताए।
उनले विप्लव समूहलाई अनेक थरि टिप्प्णी गरेर प्रधानमन्त्री केपी शर्मा ओली आफैले समस्या चर्काउन खोजेको आरोप लगाए।