नयाँ शक्ति पार्टी नेपालले सरकारको हतारोमा चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको आरोप लगाएको छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रतिबन्ध सरकारको हतारोमा गरिएको अराजनीतिक र अपरिपक्व निर्णय भएको टिप्पणी गरे। उनले विप्लव समूहलाई वैचारिक राजनीतिक ढंगले जनताबाट एक्ल्याउनुपर्नेमा प्रतिबन्ध लगाएर सरकारले गल्ती गरेको बताए।
उनले सत्तारुढ नेकपाले विप्लवको पार्टीलाई लुटेरा भन्नु नैतिक रुपमा पनि नमिल्ने भन्दै राज्य आफैले लुटतन्त्रलाई संस्थागत गरिरहेको अवस्थामा विद्रोही शक्तिलाई लुटेरा चित्रण गर्ने नैतिक तथा राजनीतिक अधिकार कमजोर हुने तर्क गरे। भट्टराईले संसदीय व्यवस्थामा प्रधानमन्त्रीले सबै अधिकार आफूमा केन्द्रित नहुने बताए।
एकल निर्णयले सेना परिचालन गर्ने व्यवस्था गरिएको विधेयकमाथि समेत उनले प्रश्न उठाए। उनले टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका सांसद रेशम चौधरीलाई अविलम्ब रिहा गर्नु पर्ने बताए। भट्टराईले टीकापुर विद्रोहलाई राजनीतिक रुपले नै सम्बोधन गर्नुपर्ने तर्क पनि गरे।
सीके राउत निःशर्त आफ्ना पूर्व मान्यता र अडानलाई परित्याग गर्न तत्पर भएका हुन् भने राजनीतिक मुलधारमा आउनु स्वागतयोग्य भएको तर, सम्झौतामा उल्लेखित शब्दको भावना र घटनाक्रम त्यस्तो नदेखिएको भट्टराईको टिप्पणी छ।