बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको कुनै व्यक्तिको हत्या गर्ने योजना नरहेको स्पष्ट पारेको छ।
एक कार्यक्रममा प्रचण्डले आफूलाई हत्या गर्ने योजना बनाई मान्छेसमेत खटाएको भनी नेकपा अध्यक्ष पुष्पकमल दाहालको सार्वजनिक अभिव्यक्तिलाई उसले भत्र्सनायोग्य र सफेद झूट भएको बताएको छ। उसले आफ्नो पार्टीको कुनै व्यक्तिको हत्या गर्ने योजना नरहेको दाबी गरेको छ।
पार्टीको मुखपत्र ई–रातोखबर डट कमले पार्टीलाई उद्यृत गर्दै लेखेको छ, ‘पछिल्लो क्रममा नेकपालाई दमन गर्ने षड्यन्त्रबमोजिम यस्ता तथ्यहीन, भ्रामक कुराहरू आइरहेका छन्। यो कुरामा कुरामा कत्ति पनि सत्यता रहेको छैन। जनता र राष्ट्रका पक्षमा संघर्ष गर्दै आएको एउटा क्रान्तिकारी पार्टीलाई बदनाम गर्न अनावश्यक लाञ्छना लगाएर धमिलो पानीमा माछा मार्ने योजना यो सरकार र उसका आसेपासेले अफवाह फैलाएका हुन्।’
नेकपाले भनेको छ, ‘देशलाई युद्धमा धकेलेर जनतामा त्रास फैलाई तर मार्ने देशीविदेशी प्रतिक्रियावादीको घिनलाग्दो खेल सुरु भएको छ। यसलाई सबै देशभक्त, सच्चा लोकतन्त्रवादीहरूले मौकामा भण्डाफोर गर्नु पर्दछ।’
‘बरु प्रचण्ड नै यसरी व्यक्तिहत्याका कुरा गर्दथे। अहिले देश र जनताप्रति गरेको गद्दारी र यो सरकारप्रति जनताको दिनानुदिनको आक्रोशलाई कम गरी लुटको स्वर्ग बचाइराख्न योजनाबद्ध यस्ता समाचारहरू बनाइएका छन्’ बिप्लव नेतृत्वको माओवादीले भनेको छ।
नेकपाले भनेको छ, ‘केपी–बादल कम्पनीले जनताका पक्षमा सशक्त आवाज उठाइरहेको र जनतामा लोकप्रिय बन्दै गइरहेको एक राजनीतिक पार्टीमाथि सामाजिक फासिवादी तरिकाले प्रतिबन्ध घोषणा गर्नुका साथै देशैभरि अप्रेसन चलाएको छ। यो कम्पनीले युद्ध लाद्न खोजिरहेको छ। यसैको एउटा हथकण्डा हत्याको प्रचार हो।’