नेपाली कांग्रेसले प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्ने व्यवस्था संबिधान बिपरित भन्दै विरोध जनाएको छ।
राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ मा प्रधानमन्त्रीको एकल निर्णयमा सेना परिचालन गर्ने व्यवस्था राखिएकोप्रति आपत्ति जनाउँदै कांग्रेसले त्यसलाई संविधान विपरित भएको बताएको छ।
विधेयकको दफा ६ को उपदफा (३) मा उल्लेखित ‘तत्काल परिषदको बैठक बस्न सम्भव नभएमा अध्यक्षले सेना परिचालनका लागि नेपाल सरकार समक्ष सिफारिस गर्न सक्नेछ’ भन्ने प्रावधान संविधान प्रतिकुल हुने कांग्रेस संसदीय दलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा प्रकाशित बिज्ञप्तिमा नेपालको संविधानको धारा २६७ उपधारा (६) मा सेना परिचालन गर्ने अवस्था आएमा मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट घोषणा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराइएको छ।
विज्ञप्तिमा अगाडि भनिएको छ ‘यसरी संविधानको व्यवस्था विपरित राष्ट्रिय सुरक्षा परिषद् र नेपाली सेनाको भूमिकालाई अबमूल्यन गर्दै राष्ट्रियतालाई कमजोर पार्ने दुस्साहसका साथ ल्याइएको यो विधेयकलाई यथाशीघ्र फिर्ता गर्दै संवैधानिक व्यवस्थाको अनुकूल हुने गरी विधेयक ल्याउन नेपाल सरकारसँग नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ।’