अफ्रिकी मुलुक मोजाम्बिकमा आएको ‘इदाई’ नामको आँधीबाट १ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । राष्ट्रपति फिलिप न्युसीले सोमबार प्रभावित क्षेत्रको हवाई भ्रमण गर्दै शवहरु नदीमा तैरिरहेको बताएका छन् ।
१७७ किलोमिटर प्रतिघण्टाका दरले आएको आँधीका साथै तटीय शहर बेइरानजिक पहिरो आएर गत बिहीबार क्षति पुगेपनि उद्दारकर्मीहरु आइतबारमात्र प्रभावित क्षेत्रमा पुगेका थिए । बेइरा शहरमा ५ लाख मानिसका घर क्षतिग्रस्त भएका छन् । राष्ट्रसंघीय खाद्य कार्यक्रमका गेराल्ड बर्कले क्षति नपुगेको कुनै घर नभएको र विद्युत तथा सन्चार सम्पर्क विच्छेद भएको जनाएका छन् । शहरका सडकभरि ढलेका विद्युत पोल छन् । अन्तर्राष्ट्रिय रेडक्रसले क्षति व्यापक र भयानक भएको जनाएको छ । भवनका अवशेष र रुख ढलेर १५०० मानिस घाइते भएका छन् ।
जिम्बाबेमा ९८ जनाको मृत्यु भएको छ भने २१७ जना हराइरहेका छन् । मृत्यु हुनेमध्ये स्कुले बालबालिकासमेत रहेको जनाइएको छ । मलावीमा १ सय २२ जनाको मृत्यु भएको छ ।