प्रहरीले नेकपा माओवादी विप्लव समूहको अपराधिक क्रियाकलापमा संलग्न चारजनालाई पक्राउ गरेको छ।
काभ्रे जिल्लाको साविक शिखरआम्बोटे गाविस ८ हालको रोशी गाउँपालिका २ काफलेडाँडाबाट मंगलबार साँझ विप्लव समूहका झापाका शिव धिताल, दाङका नृपबहादुर विक, भोजपुरका डिकेन्द्र राई र सिन्धुपाल्चोकका विशाल तामाङलाई पक्राउ गरेको हो। उनीहरुलाई नियन्त्रणमा लिने क्रममा अपराध अनुसन्धान महाशाखा टेकुको टोली र विप्लव समूहबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ।
महाभारत लेकमा पर्ने काफलेडाँडा दूर्गममा पर्छ। खानिखोलाको डाँडागाउँ, बेथान्चोकको भुग्देउ महांकाल, रोशीको शिखरआम्बोटे र महाभारतको महादेवटार गरी चारवटा गाउँपालिकाको संगम रहेको त्यस क्षेत्रमा मोबाइल लोकेसनका आधारमा अपराध अनुसन्धान महाशाखाको टोली पुगेको थियो।
जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्कालाईसमेत जानकारी नदिई महाशाखाको टोली विप्लव समूहलाई पक्राउ गर्न पुगेको थियो। महाशाखाको टोली राति ११ बजे फर्किएको थियो। महाशाखाका अनुसार विप्लव समूहको गतिविधिबारे सूचना आएपछि महाशाखाका एसपी सोमेन्द्र राठौर र डीएसपी रुगम कुँवर नेतृत्वको टोली काभ्रे पुगेको थियो।
देशमा हिंसात्मक गतिविधि बढाएको भन्दै गएको फागुन २८ गते चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको थियो। निर्णयको पालना गर्दै प्रहरी त्यस ठाउँमा पुगेको प्रहरी स्रोतको भनाई छ। जिल्लामा घटना पछि सुरक्षा निकाय उच्च सतर्कता अपनाईएको सुरक्षा निकायले जानकारी दिएको छ।