सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायकका पनि नायक गिरिजाप्रसाद कोइरालाको आज नवौं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ।
कोइराला परिवार जहानियाँ राणाशासनको विरोध गरेबापत भारतको विहार राज्यको टेडी, सहर्षामा निर्वासत जीवन बिताइरहेको समयमा वि.सं. १९८१ मा कोइरालाको जन्म भएको थियो।
कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी दिव्या कोइरालाका कान्छा छोरा गिरिजाप्रसादको पूरै जीवन राजनीतिमै बित्यो।
नेकपा कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल गिरिजाप्रसाद कोइरालाले सुरु गरेको शान्ति प्रक्रियालाई अब पनि दिगो शान्तिका रुपमा अगाडि बढाउन अहिलेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसबीच उच्चस्तरको सहमति आवश्यक रहेको बताउँछन्।
वरिष्ठ नेता खनालले भने, ‘‘गिरिजाप्रसाद कोइराला लामो समयसम्म कम्युनिस्टसँग एकता नगर्ने पक्षमा उभिनुभयो तर जीवनको अन्तिमतिर आएपछि उहाँ कम्युनिस्टसँग सम्झौता गरेर जानुपर्ने पक्षमा उभिनुभयो। उहाँले १० वर्षसम्म युद्धमा रहेको नेकपा (माओवादी) लाई शान्ति प्रक्रियामा ल्याउने अगुवाइ गर्नुभयो, शान्ति सम्झौता गर्नुभयो र मुलुकमा शान्ति स्थापना गर्न महत्वपूर्ण निर्णय गर्नुभयो।’’
पूर्वप्रधानमन्त्री खनालले मुलुकलाई अहिले पनि दिगो शान्ति चाहिएको छ र कोइरालाले स्थापना गरेकाे शान्तिलाई सुदृढ बनाएर लैजानुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘‘यस्तो बेलामा नेकपा जस्तो शक्तिशाली पार्टी र प्रमुख विपक्षी दल नेपाली काँग्रेसबीच अहिले उच्चस्तरको सहमति आवश्यकता छ। त्यो समझदारी निर्माण गर्ने क्रममा दुवै पार्टीका नेताले गिरिजाप्रसाद कोइरालाले अन्त्यमा यी दुई शक्तिका बीचमा गरेको एकताको भावनाबाट सिक्न जरुरी छ।’’
लोकतन्त्र प्राप्तिपछि भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहबाट ‘एसियाकै महान् नेता’ को सम्मान पाएका कोइराला सशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल भएकाले पनि उनको नाम नेपालको राजनीतिक इतिहासमा चर्चित छ। संवैधानिक राजतन्त्रको पक्षमा रहेको काँग्रेस पार्टीलाई पार्टी सभापति हुँदा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजान सफल भए।
वि.सं. २०६३ कात्तिक २१ गते कोइराला तथा सात दलका नेताले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सँग मिलेर जनविद्रोहको अन्त्य र संविधानसभाको निर्वाचन गराउने सम्झौतामा हस्ताक्षर गरे। वि.सं. २०६३ मङ्सिर ५ गते सरकारको तर्फबाट प्रधानमन्त्री कोइराला र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरी ऐतिहासिक रूपमा ‘हिंसा र अशान्ति’ को राजनीतिलाई विश्राम दिने कार्य भयो।
पहिलो संविधानसभाको निर्वाचन गराएका कोइराला नेपालको पहिलो नागरिक राष्ट्राध्यक्ष भए। उनी प्रधानमन्त्री हुँदा नै संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लाने निर्णय गर्यो र राजतन्त्रको अन्त्य भयो।
विना रक्तपात २४० वर्ष पुरानो शाह राजतन्त्रलाई विस्थापत गर्न सफल भएकाले कोइरालालाई कतिपय राजनीतिज्ञले ‘क्रान्ति नायक, क्रान्तिकारी योद्धा’ को संज्ञा दिएका छन्। कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ गते शनिबार मण्डिखाटारस्थित छोरी सुजाता कोइरालाको निवासमा निधन भएकाे थियाे। गाेरखापत्र दैनिकमा खबर छ।