भारतीय जनता पार्टी (भाजपा) लाई पूर्वोत्त र भारतमा ठूलो झड्का लागेको छ । त्यहाँ २ दिनमा २३ शीर्ष नेताहरुले भाजपा छाडेका छन् ।
अरुणाचल प्रदेशमा मात्र २ मन्त्री, ६ सांसदसहित २० नेताहरुले भाजपा छाडेका हुन् । उनीहरु नेशनल पिपल्स पार्टी (एनपीपी) प्रवेश गरेका छन् । अरुणाचलका गृहमन्त्री कुमार वाई, पर्यटन मन्त्री जरकार गामलिन, भाजपा महासचिव जरपुम गामबिनले पार्टी छाडेका हुन् ।
६० सदस्यीय विधान सभामा भाजपासँग अझै ४० सांसद छन् । गत आइतबार नै भाजपाले राज्य विधानसभाका लागि ५४ सिटमा आफ्नो उम्मेदवारी घोषणा गरेको थियो । अरुणाचलमा ११ अप्रिलमा २ लोकसभा सिटका साथ विधानसभा चुनावका लागि मतदान हँुदैछ ।
भाजपाका सांसद प्रवेश गरेको एनपीपीले अरुणाचलमा कम्तीमा पनि ४० सिटमा उम्मेदवारी दिने बताएको छ । हाल अरुणाचलमा एनपीपी र भाजपा गठबन्धनको सरकार छ ।