प्रदेश ५ का मन्त्री तथा सांसदहरु शनिबार दिनभर बुटवल १४ मा रहेको ब्रम्हकुमारी ईश्वरी विश्वविद्यालय ग्लोवल पिस रिट्रिट सेन्टरमा देखिए । उनीहरुले दिनभर जसो मानिसको आत्मा तथा त्यसको महत्वका विषयमा प्रशिक्षण पनि लिए ।
व्यक्ति र समाजलाई नै शान्तिको मार्गमा हिडाउने भन्दै समाजमा राम्रो प्रभाव जमाईरहेको अन्तराष्ट्रिय संस्था ईश्वरीय विश्वविद्यालयमा पुगेका सबै मन्त्री र अधिकाश सांसदहरुले जिव आत्मा तथा त्यसका विशेषताका विषयमा धेरै ज्ञान हासिल पनि गरे । उनीहरु दिनभरी नै धार्मिक प्रवचन सहितको प्रशिक्षण सुनेर हाँसिरहेका थिए । दिनैपिच्छे नरिवल फुटालेर शिलान्यास र उद्घाटन गर्ने मन्त्री तथा सांसदहरु दुःख, रिस, डाहा र ईष्र्याजस्ता कुराहरु मनबाट कसरी हटाउन सकिन्छ भन्ने कुरा चाखपुर्ण रुपमा सुनेर वसेका थिए ।
बीच–बीचमा गरिएको गित संगित ध्यान र प्रयोगात्मक अभ्यासले उनीहरुलाई दिन बितेको पत्तै थिएन । उनीहरुका लागि खाजा नास्तादेखि खानाको व्यवस्था पनि गरिएको थियो ।
संस्थाले आफूलाई कुनै एउटा धर्म त मान्दैन तर आफैमा एउटा धार्मिक संस्था भने हो । हुन त हामीले सिद्धान्तका कुरा गर्ने हो भने कम्युनिष्ट पार्टीको दर्शन र सिद्धान्तले धर्मलाई अफिमका रुपमा चित्रण गरेको छ । जसको समाजमा यति ठूलो स्थान हुनै सक्दैन पनि भनेको छ । तर त्यही कम्युनिष्ट पार्टीका मन्त्री नेता र सांसदले दिनभर मान्छेको आत्मा र त्यसको व्यवस्थापनका विषयमा रुचिपुर्वक प्रशिक्षण लिएका छन् । यसबाट सिंगो प्रदेश ५ लाइृ नै फाईदा पुग्ने विश्वविद्यालयका सचिव व्रम्हकुमार नरेन्द्रले प्रतिक्रिया दिएका छन् ।
प्रशिक्षण कार्यक्रमको सिंगो व्यवस्थापन नै प्रदेश ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको थियो । मन्त्री कूलप्रसाद केसीले काम गर्दा गर्दा थाकेको अवस्थामा ध्यान गर्ने हो भने शरीरमा फूर्ति आउने प्रतिक्रिया दिए ।
ओम शान्तिका रुपमा चिनिएको यो विश्वविद्यालयका अन्तराष्ट्रिय प्रशिक्षकर राजु घलेले मानिसले आफ्नो शरीर भित्रको आत्मालाई रिचार्ज गर्न सके धेरै काम हुने बताए । उनले त्यही आत्मालाई नियन्त्रणमा राख्न सके व्यक्ति सुखी र खुशी हुने पनि बताए । उनले पटक–पटक नेताहरुलाई स्वार्थ छोड्न र आफ्नो मुखलाई नियन्त्रण गर्न पनि सुझाव दिएका थिए ।
सो अवसरमा प्रदेश ५ मा मन्त्रीहरु केसीसहित भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरी, वन वातावरण मन्त्री लिला गिरी, कृषि मन्त्री आरती पौडेल सहभागी थिए ।
कार्यक्रमा मन्त्रालयका सचिव सहित कर्मचारी तथा प्रदेश सांसदहरुको ठुलो संख्यामा उपस्थिति थियो । प्रतिपक्षी र सत्तारुढ सबै पक्षका सांसदहरु पनि कार्यक्रममा सहभागी भएका थिए । प्रदेश ५ मा नेपाल कम्युनिष्ट पार्टीको दुईतिहाई मत सहितको सरकार रहेको छ ।
ईश्वरीय विश्वविद्यालयका प्रमुख कमला दिदिले समाजलाई शान्तिको मार्गमा लैजान लागि आफूुहरु प्रदेश र स्थानीय सरकारसंग मिलेर काम गर्न तयार रहेको बताईन् । उनले समाजको सहयोगमा आफुहरुले अझै धेरै कार्यक्रम संचालन गर्ने पनि बताईन् । उक्त सेन्टरमा आवासीय सुविधा सहितको मेडिटेसन कक्षाहरु तथा दैनिक अवलोकनका लागि आन्तरिक पर्यटकहरु पुग्ने गर्दछन् ।