प्रदेश २ का समाजिक विकासमन्त्री नवल किशोर साहले परीक्षा अनुगमन गर्ने क्रममा शिक्षकलाई गालीगलौज गर्दै दुव्र्यवहार गरेको गरेको भन्दै नेपाल शिक्षक संघले उनको तत्काल राजीनामाको माग गरेको छ ।
एसर्इर्इ अनुगमन गर्ने क्रममा आज विहान ९ बजे जनकपुरको सरस्वती नमुना मावि केन्द्र पुगेका मन्त्री साहले गालीगलौज गर्दै जातपातको नाउमा शिक्षकलाई अपमान गरेको भन्दै संघले मन्त्रीको तत्काल राजीनामाको माग गरेको हो । परीक्षा व्यवस्थापनमा खटिएका गार्डहरुले परिचयपत्रमा फोटो नटाँसेको भन्दै गालीगलौज गरेको संघले विद्यालयमै पत्रकार सम्मेलन गरी आरोप लगाएको छ ।
पूर्वाग्रही तरिकाबाट मन्त्री साहले केन्द्रमा कार्यरत निरीक्षक र केन्द्राध्यक्षलाई समेत गालीगलौज गरेको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ‘दलित वर्गका शिक्षक बेचन रामलाई चमार जातको संस्कार हुँदैन भन्ने गैरमानवीय र गैर संवैधानिक व्यवहार गरेको हुँदा जिल्लामा ११ हजार २ सय ८५ जना परिक्षार्थीको भविष्यसँग खेलवाड गरिएको छ,’ पत्रकार सम्मेलनमा शिक्षक संघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादवले भने ।
मन्त्रीको व्यवहारप्रति जिल्ला र प्रदेश दुबै कार्यसमितिले खेद प्रकट गर्दै उनको राजीनामा माग गरेको हो । मन्त्री साहको व्यवहारप्रति संघले दलित आयोग र परीक्षा समन्वय समिति, प्रदेश सरकार एवं संघीय सरकारसँग छानविन गरी आवश्यक कार्बाहीको माग गरेको छ । मन्त्री साहमाथि कार्बाही नभए संघले आन्दोलनका कार्यक्रम तय गर्न बाध्य हुने शिक्षक संघका धनुषा अध्यक्ष राम सिनेही यादवद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
मन्त्री साह परीक्षा केन्द्रमा पुग्दा विद्यालयका शिक्षक शंकरकुमार दासलाई कार्ड झुण्डयाएको नदेखेपछि उनलाई परीक्षा हलबाट निकाल्न भनेको विद्यालयका केन्द्राध्यक्ष सत्यनारायण मण्डलले बताए । मन्त्री साहले परिचयपत्रमा फोटो किन नटाँसेको भन्दै दासलाई प्रश्न गरेका थिए । केन्द्राध्यक्ष मण्डलले उनी आफ्नै विद्यालयको शिक्षक रहेको भन्दै जवाफ फर्काएका थिए । उनको जवफपछि मन्त्री साहले आफूलाई अभद्र भाषाको प्रयोग गरेको केन्द्राध्यक्ष मण्डलले दावी गरे । ‘तिमी खतम हेडमास्टर रहेछौ । तिमीलाई कसले हेडमास्टर बनायो ? तिमीलाई कसले केन्द्राध्यक्ष बनायो ? कुनै काम छैन तिम्रो, तिमीलाई सस्पेण्ड गरिदिन्छु भन्दै धम्की दिए,’ मण्डलले गुनासो पोखे ।
सरस्वती मावि परीक्षा केन्द्रमा १४ वटा कोठामा ४१० विद्यार्थीको नामावली रहेकोमा जम्मा ४०८ परिक्षार्थी सहभागी भएका थिए । परीक्षा मर्यादित तथा व्यवस्थित बनाउन प्रत्येक कोठामा १–१ वटा, ४ जना घुम्ती र केन्द्राध्यक्ष गरी जम्मा २३ जना गार्ड खटिएका थिए । त्यसमध्ये ५ जना शिक्षकको परिचयपत्रमा फोटो नटाँसेको केन्द्राध्यक्ष तथा विद्यालयका प्रध्यापक सत्यनारायण मण्डलको भनाइ छ । अनुगमनकै क्रममा मन्त्री साहले अन्य शिक्षकको परिचयपत्र समेत हेरेका थिए ।
परिचय पत्र खोज्दै उनी गार्डमा खटिएका विद्यालयका शिक्षक बेचन रामकहाँ पनि पुगेका थिए । परिचय पत्रमा फोटो नदेखेपछि मन्त्री साहले किन फोटो नटाँसेको भन्दै आफुलाई प्रश्न गरेको शिक्षक रामले बताए ।‘ परिचय पत्रमा फोटो नदेपछि मैले भने सर फोटो सहितको अर्को परिचयपत्र पनि छ मसँग यो हेर्नुस,’ रामले भने । यति कुरा भन्दा मन्त्री साहले आफू पढेलेको नरहेको भन्दै जागीरबाटै निकालिदिने धम्की दिएको उनको आरोप छ ।
पछि चमार जातको रहेकाले उनलाई संस्कार नरहेको भन्दै हिडेको शिक्षक रामको आरोप छ । उनले न्यायका लागि शिक्षक संघमार्फत कानुनी उपचार खोज्ने उल्लेख गरे । यसअघि पनि मन्त्री साह पटकपटक विवादित हुँदै आएका छन् । मन्त्री साहले सप्तरीमा एक सार्वजनिक कार्यक्रममै पत्रकारलाई जुत्ताले हान्ने अभिव्यक्ति दिएपछि विवादित बनेका थिए । पछि विज्ञप्ती जारी गर्दै आफ्नो शब्द फिर्ता लिएका थिए । यता मन्त्री साहले एक–दुइ शिक्षकबाहेक कसैले परिचयपत्र नबोकेकाले आफूले परिचयपत्र किन नबोकेको भन्दै प्रश्न गरेको बताए । ‘एक जना शिक्षकले एउटा कार्ड देखाउँदै यो ल भन्दै जवाफ फर्काएपछि बोल्न आउँदैन भनें,’ मन्त्री साहले भने । उनले विद्यार्थीले चोरी गर्दा सुपरिन्टेन्डेन्टले केही नगरेको र कार्डको विषयमा सोध्दा ढिलो गरि आएकाले कार्ड दिन नसकेकाले उनलाई सस्पेन्ड गर्ने चेतावनी दिएको स्वीकार गरे । तर जातपातको आरोप निराधार रहेको मन्त्री साहले दावी गरे । राजीनामा मागेको प्रश्नमा मन्त्री साहले भने, ‘के कालागि राजीनामा, चोरी गर्न दिने ? परीक्षामा कडाइ नगर्ने ?’