नवलपरासीमा नेक्रवित्रम चन्द नेतृत्वको समूहले मोटो रकम चन्दा माग्दै स्थानीय तहका कर्मचारीलाई पत्र थमाउन थालेको छ। नगरपालिकामा ५० लाख र गाउँपालिकामा ५ लाखसम्म माग्दै आएको उक्त समूहले नियमित बजेटबाट नमिले विभिन्न योजनाको ठेक्का रकमबाट बुझाउन दबाब दिइरहेको छ।
पूर्वी पहाडी गाउँपालिका बुलिङटारमा चन्द समूहका वीरगन्ज इन्चार्जका नामबाट बुझाइएको पत्रमा चैत १४ भित्र रकम दिइसक्न उर्दी छ। पत्रमा गाउँपालिका कार्यालयले कालीगण्डकी, देउसत खोला, फुलमादीलगायत नदी खोलाबाट ढुंगागिट्टी उठाउन लगाएको ठेक्का रकमबाट पार्टी चलाउन भन्दै पहिलो किस्ता १० लाख ५० हजार मागिएको छ। पूर्वी पहाडी भेगमा चन्द समूहका गगन उपनामका नेता सक्रिय छन्। उनैले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीलाई पत्र थमाएका हुन्। अधिकारीले त्यसरी चन्दा दिने स्रोत आफूहरूको नभएको भन्दै अस्वीकार गरेका थिए। अधिकारीसहित उक्त गाउँपालिकाका तीन कर्मचारी बिहीबारदेखि कार्यालय छाडेर हिँडेका छन्। लेखापाल रघुनाथ काफ्ले र इन्जिनियर सञ्जय कुमालले पनि गाउँपालिका छाडेका हुन्।
गाउँपालिकाले चैत ७ मा ढुंगागिट्टी संकलनका लागि चितवनको हिरोज कन्स्ट्रक्सनलाई ५० लाखमा ठेक्का दिएको थियो। चन्द समूहले जिल्लाका सबै नगर र गाउँपालिकामा रकम तोकेरै पत्र पठाएको छ। बुलिङटारसँगै दुर्गमका बौदीकाली, विनयीत्रिवेणी र हुप्सेकोट गाउँपालिकामा उक्त समूहको गतिविधि तीव्र छ।
यी चारै गाउँपालिकामा सशस्त्र प्रहरी र सेनाको उपस्थिति छैन। बुलिङटारमा सइ कमान्डको एउटा प्रहरी चौकी मात्र छ। बुलिङटारका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने खोलाबाट गाउँभरिका ट्याक्टरले आफूखुसी ढुंगागिट्टी निकाल्ने गरेकोमा टेन्डर आह्वानपछि पनि त्यो क्रम नरोकिएपछि काम गर्न नसक्ने देखेर गाउँपालिका छाडेको दाबी गरे। ट्र्याक्टर नियन्त्रणमा लिन खोज्दा गाउँपालिका अध्यक्षले सहयोग नगरेको उनको भनाइ छ। कान्तिपुरमा खबर छ।