जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच आज काठमाडौंमा श्रमसमझदारी भएको छ ।
नेपाल सरकारका तर्फबाट श्रम मन्त्रालयका कार्यवाहक सचिव रामप्रसाद घिमिरे तथा जापानका तर्फबाट जापानी राजदूत मासामिची साइगोले नेपाली श्रमिकहरू पठाउने विषयमा सहयोग समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। जापानले पहिलोपटक श्रम भिसामा सोझै नेपालबाट कामदार लैजान लागेको हो । जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार लैजाँदैछ ।
समझदारीअनुसार दुई देशका सरकारी संयन्त्रको समन्वयमा कामदार भर्ना हुनेछन् । तेस्रो पक्ष संलग्न हुँदा उच्च ठगी हुने भएकाले कोरियामाजस्तै सरकारीतवरबाट लैजान लागिएको हो । श्रम मन्त्रालयले स्थापना गर्ने वैदेशिक रोजगार विभागअन्तर्गतको शाखाले जापानी रोजगारदाताले माग गरेअनुसारका कामदार पठाउन सहजीकरण गर्नेछ । जापानले दक्ष र अदक्ष कामदार लैजानेछ ।
जापानले आवश्यकताअनुसार प्रत्येक वर्ष कामदार लैजाने जनाएको छ । ५ वर्षभित्र ३ लाख ४२ हजार दक्ष–अदक्ष विदेशी श्रमिकलाई रोजगारी दिने जापानी नीति छ । कुन–कुन देशबाट कति कामदार लैजाने भन्ने निर्णय जापानले बाहिर ल्याइसकेको छैन ।
यसअघि दक्षिण कोरिया र इजरायलमा सरकारी तवरबाटै कामदार पठाउने गरिएको छ । दक्षिण कोरिया सफल मोडल हो भने इजरायल असफल जस्तै छ ।
कामदार कम हुँदै गएपछि जापानले विदेशी कामदार ल्याउने नीति लिएको हो । उसले कृषि, उत्पादन र केयरगिभरका क्षेत्रमा रोजगारी दिने जनाएको छ । नेपालबाट भने केयरगिभरका क्षेत्रमा बढी कामदार लैजाने योजना छ ।जापानी भाषा प्रवीणता परीक्षण ९जेएलपीटी० को चौथो तह उत्तीर्ण गर्ने व्यत्ति जापानका लागि योग्य हुनेछन् । कामदारको लागत शुल्कलगायत भने तोक्न बाँकी नै छ ।