जनकपुर बमकाण्डको अन्तिम सुनुवाइ आज दोस्रो दिन पनि जारी छ । जनकपुरको रामानन्द चोकमा पाँच जनाको ज्यान जानेगरी भएको विस्फोटमा झण्डै ७ वर्षपछि अन्तिम सुनुवाइ शुरु भएको हो ।
बम विस्फोटका मुख्य योजनाकार पूर्वराज्यमन्त्री सञ्जय साह (टक्ला) रहेको दाबी गर्दै दायर मुद्दामा आइतबार सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता शम्भु गौतमले बहस गरेका थिए । उक्त त्रासदीपूर्ण घटनाको दुई भूमिगत सशस्त्र समूहले जिम्मेवारी लिए पनि मुख्य योजनाकार पूर्वमन्त्री साह रहेको दाबी गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको थियो । कार्यालयले २०६९ जेठ २९ मा ८ जना र २०७० चैत २४ गते साहसहित ६ जनाविरुद्ध पूरक अभियोगपत्र दायर गरेको हो । घटनामा संलग्न रहेको दाबीसहित सरकारी वकिल कार्यालयले जयप्रकाश चौधरी, मुकेश कर्ण, सुरेश कर्ण, रिपेन्द्र झा, जितेन्द्र कर्ण, आदित्य देव, सशस्त्र समूहका नाइके चौधरी, राजन मुक्ति, पूर्वमन्त्री साह, फूलकुमार यादव, उमेश तिवारी, सुजितकुमार पाण्डे र ओमप्रकाश यादवविरुद्ध अभियोगपत्र दायर गरेको छ ।
बम विस्फोटका मुख्य योजनाकार भनिएका तत्कालीन सांसद संजयकुमार साह अहिले पुर्पक्षका लागि हिरासतमा छन । साहका साथै घटनामा संलग्न रहेको आरोपमा तराई जनतान्त्रिक पार्टी मधेश नामक भूमिगत संगठनका अध्यक्ष मुकेश चौधरी, ओमप्रकाश यादव, मुकेश कर्णलगायतका व्यक्तिहरु समेत पुर्पक्षका लागि थुनामा छन् । २०६५ जेठ १४ देखि २०६९ जेठ १४ सम्म संविधानसभाको सभासद रहेका साह ०६५ भदौदेखि ०६९ पुससम्म भौतिक योजना तथा निर्माण राज्यमन्त्री थिए । यही घटनामा संलग्न देखिएको आरोपमा फौजदारी मुद्दा चलेपछि ०७१ साल वैशाख ३० गतेदेखि साह सांसद पदबाट निलम्बित भएका थिए ।
भूमिगत समूहमा सक्रिय रहेका मुकेश चौधरीले बम विस्फोट गराउनबारे तत्कालीन सांसद संजयसँग भएको कुराकानीको टेप सार्वजनिक गरेपछि घटनामा उनको नाउँ मुछिएको थियो । घटनाका नाइके भनिएका मुकेश चौधरी पक्राउ परेपछि तत्कालीन सांसद साहको समेत पोल खुलेको थियो । चौधरीलगत्तै पक्राउ परेका ओमप्रकाश यादवले पनि जीवनाथ चौधरीको हत्याका लागि रामानन्द चोकमा संजयले विस्फोट गराउन लगाएको बयान दिएका थिए ।
ओमप्रकाश यादव पक्राउ परेको सूचना पाएलगत्तै तत्कालीन सांसद संजय कोठामै मोबाइल छाडेर काठमाडौं छोडेका थिए । आफ्ना सहयोगीहरु मार्फत जनकपुरमा सम्पर्क गरिरहेका संजयलाई विस्फोट भएको दुई वर्षपछि प्रहरीले दिल्लीबाट पक्राउ गरेको थियो ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्याल संयोजकत्वको समितिले प्रारम्भिक अध्ययनपछि अञ्चल प्रहरी कार्यालय जनकपुरमा गरेको पत्रकार सम्मेलनमा विस्फोटमा राजनीतिक संलग्नता रहेको आशंका व्यक्त गरेका थिए ।
के हो जनकपुर बमकाण्ड घटना ?
१८ बैशाख २०६९ मा मिथिला राज्य संघर्ष समितिले पुर्व निर्धारित कार्यक्रम अनुसार जनकपुरको रामानन्द चोकमा सडकमा धर्ना दिई विरोध प्रदर्शन गर्दै थिए । मधेस केन्द्रित दलहरु सम्मिलित संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा समग्र मधेस एक स्वायत्त प्रदेशको अडान राखिरहेका बेला आफ्नो ऐतिहासिक पहिचान गुम्ने भन्दै मिथिला राज्य संघर्ष समितिले मिथिला राज्य माग गरिरहेका थिए । आत्मीयताको पहिचान, स्वायत्तताको बोधको लागि, हक अधिकारको लागि, संवैधानिक सुनिश्चतता गर्नको लागि भन्दै ‘हमरा चाही मिथिला राज’ नाराका साथ रंगमञ्चका कलाकार, साहित्यकार, समाजसेवीहरुले मिथिला आन्दोलनको अगुवाइ गरेका थिए । शान्तिपुर्वक धर्नामा बसेका बेला अचानक शक्तिशाली बम विष्फोटन गराइयो ।
विष्फोटमा परि जनकपुर नगरपालिका १० बस्ने झगरुलाल दास कथबनिया(४०), जनकपुर ८ बस्ने विमल शरण(४०), महोत्तरी बथनाहा ९ तथा हाल जनकपुर बस्ने रंजुदेवी झा(४०), जनकपुर ८ बस्ने सुरेश उपाध्याय(४५) र दिपेन्द्र दास(३५) गरी कुल पाँच जनाको ज्यान गएको थियो ।
विष्फोटनमा करिब ४० जना घाइते भएका थिए । जनकपुरको इतिहासमा पहिलो पटक यसरी शान्तिपुर्ण आन्दोलनमा कुनै आपराधिक समुहले बम विष्फोटन गराएको थियो । जानकी नवमीको उल्लास त्यो बर्ष चित्कारमा परिणत भयो । पुरै जनकपुर शोकाकुल भयो ।