निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन डिएसपी अंगुर जीसी पनि अदालत उपस्थित भएका छन् । उनी आज बिहान ११ बजे कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् । जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका जिसीको विहान साढे ११ बजेदेखि बयान सुरु भएपनि बयान नसकिएपछि मंगलबार पनि बयान हुने हुँदा प्रहरी हिरासतमा राखिएकाे हाे ।
निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी दिल्लीराज विष्ट र डिएसपी जीसीलाई पक्रन जिल्ला अदालतले फागुन २६ मा ३५ दिने म्याद जारी गरेको थियो । सोही कसुरमा मुद्दा लागेका अन्य छ जनालाई भने धरौटीमा छाडेको थियो।
एसपी विष्ट गत मंगलबार अदालत उपस्थित भएका थिए। उनलाई आइतबार जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यातना र कसुरमा ६ लाख र प्रमाण नष्टमा साढे ४ लाख धरौटीमा छाड्न आदेश गरेको थियो।