प्रदेश नं. २ का नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकारलाई काँग्रेसले गरेको सहयोगको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
दोश्रो अधिवेशन अन्तर्गत प्रमुख प्रतिपक्षी दल १४ वटा र प्रतिपक्षी दलले १६ वटा विधेयकमा सहमति दिएर कानून निर्माणको सहयोग गरेपनि सत्तापक्षले त्यसको व्यापक दुरुपयोग गरेको उनले आरोप लगाएका हुन् ।
बिहीवार तेश्रो अधिवेशन अन्तर्गत पहिलो बैठकमा सभामुखले सरोज कुमार यादवले प्रदेश प्रमुखबाट तेश्रो अधिवेशन आव्हान सम्बन्धी पत्र पढेर सुनाएपछि शुभकामना मन्तव्यको क्रममा उनले प्रदेश सरकारले काँग्रसको सहयोगलाई दुरुपयोग गर्दै आएकाले अगामी दिनमा गर्ने सहयोगबारे सोच्न बाध्य हुने चेतावनी समेत दिए । प्रदेशसभा सदस्यको सिफारिसमा स्थानीय तहमा जाने ५० लाख बराबरको शशर्त अनुदान रकममा काम गर्न कर्मचारी गएर समिति गठन गरेर ल्याउनु सरकारले एउटा बखेडा झिकेको यादवले आरोप लगाए ।
उनले भारतबाट आयातित ‘बेटी पढाउ बेटीबचाउ’ अभियानको ८२ करोड रकम छुट्टयाईएपनि कार्यविधि नै नबनाई खर्च गरिएको प्रति आक्रोश व्यक्त गर्दै सांसद यादवले बैंकलाई नाफा पु¥याउने गरी २० वर्षमो एक लाख रुपैया दिन लागेको उल्लेख गरे ।
नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) संसदीय दलका नेता सत्यनारायण मण्डलले सरकारलाई विपक्षी दलहरुले रचनात्मक सहयोग गरेपनि प्रतिपक्षले सरकारको सहयोग नपाएको गुनासो गरे । उनले भने, ‘सहयोग दुवै हाथबाट हुन्छ, जसरी सरकारले प्रतिपक्षलाई साथ लिएर हिडनुपर्ने हो, त्यसमा आफुहरुले कुनै सहयोग नपाएको हामीलाई महशुष हुदैछ ।’
नेता मण्डलले लोकतन्त्रको अभ्यास गर्ने क्रममा संसदीय परम्परा अनुसार सत्ता पक्ष र प्रतिपक्षको भुमिका अपनाउन आग्रह गर्दै उनले प्रदेश सरकारको विकासे आयोजनामा स्थानीय सरकारसंग बिना समन्वयन काम गरिरहेको आरोप लगाउँदै मनपरी काम नगर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराए ।
राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले संघीय सरकारले कर्मचारी समायोजनाको नाममा आतंक मच्चाएको बताउँदै कर्मचारीकै नाममा विकासको काम शुन्य अवस्थामा पुगेको समेत बताए । उनले प्रदेश सरकारले प्रदेश प्रहरी विधेयक र कर्मचारी प्रशासन विधेयक पास भईसकेको अवस्थामा तत्काल अघि बढाउन माग गर्दै सरकारलाई चुस्त दुरुस्त यथाशिघ्र बनाउन माग गरे । संघीय समाजवादी फोरम नेपालका सांसद पारस प्रसाद साहले सत्ता पक्षले प्रतिपक्ष सहयोग नगरेको गुनासो आएपनि संघीय सरकारले प्रदेश सरकारलाई सहयोग नगरेको प्रति सबैको ध्यानाकर्षण गर्न आग्रह गरे ।