गएराति आएको भीषण हावाहुरीका कारण बारा र पर्सा गरी ३५ जनाको मृत्यु भएको प्रदेश २ सरकारले जनाएको छ।
घटनामा ३ सयभन्दा बढी घाइते भएका छन्। बारामा ३४ र पर्सामा १ जनाको मृत्यु भएको प्रदेश २ सरकारले पुष्टी गरेको छ। केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझैपनि बढ्न सक्ने प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।
प्रदेश सरकारले घटनामा ज्यान गुमाएका परिवारलाई राहत स्वरुप ३÷३ लाख प्रदान गर्ने घोषणा गरेको छ। गएरातिको हावाहुरीपछि आज विहानै बसेको प्रदेश २ को मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई प्रति परिवार ३ लाख र घाइतेहरुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णयय गरेको हो।
अहिले मुख्यमन्त्रीसहित प्रदेश २ सरकारकाका मन्त्रीहरु घटनास्थलको निरीक्षणमा निस्केको उनले बताए। जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रदेश सरकारले राहत तथा उद्धारमा सहयोग गरि दिन सबै पक्ष संग आह्वान गरेको छ। बैठकले घाइतेहरुको सम्पूर्ण उपाचार खर्च प्रदेश सरकारले बेहार्ने र प्रभावित क्षेत्रमा तत्काल खाना र कपडाको व्यवस्था गर्ने निर्णय गरेको हो।
यस्तै मन्त्री परिषदको बैठकले घटनाको विस्तृत अध्ययन एवं राहत तथा उद्धारको लागि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय तत्काल राहत तथा उद्धार समिति समेत गठन गरेको छ। उक्त समितिमा समाजिक विकासमन्त्री नवल किशोर साह, बन उद्याग तथा पर्यटन मन्त्री नवल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा र कानून मन्त्रालयको उपसचिव समितिको सदस्य सचिव रहने व्यवस्था गरिएको छ।
मुख्यमन्त्री राहत कोषमा सहयोग गर्नका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदकोकार्यालयले केही बेरमै खाता नम्बर सार्वजनिक गरिने जनाइएको छ। सरकारले यस दुःख घडीमा सम्पूर्ण संघ संस्था, उद्योगी व्यवसायी र प्रदेश तथा देसवासीलाई हातेमालो गर्न आह्वान समेत गरेको छ।