नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको निर्णयविरुद्ध भेला गर्ने जिल्ला सभापतिहरुलाई अनुशासन समितिले कारवाही गर्ने चेतावनी दिएका छन् ।
आज विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै उनले गिरिजाप्रसाद कोइराला भएको भए उनीहरुलाई पार्टीबाट निष्काशन गर्ने तर आफूले केही नगर्ने बताए । ‘तर म केही गर्दिन, यो कुरालाई अनुशासन समितिले हेर्छ,’ उनले भने ।
उनले सभापतिहरुको २०–२५ जनाको भेलाले विशेष अधिवेशन बोलाएमा आफू सामना गर्न तयार रहेको पनि बताए।
देउवाले न्यायपरिषदले न्यायाधीश नियुक्ति गर्दा राजनीतिभन्दा बाहिर रहेर गर्नुपर्ने बताए । विभिन्न आयोगको प्रमुख नियुक्ति पनि न्यायसंगत हुनुपर्ने उनको भनाइ छ । उनले न्यायपरिषदले योग्यता पुगेकालाई नै सर्वोच्च र उच्च अदालतको न्यायाधीश नियुक्त गरेको हुनाले टिकाटिप्पणी नगर्ने प्रष्ट पारे ।
सवैधानिक परिषदले नियुक्त गर्दा प्रतिपक्षी दलका नेताको हैसियतले आफ्नो पनि सहमती लिनुपर्ने भन्दै प्रतिपक्ष विना एक्लै नियुक्त गर्न नहुुने देउवाले बताए । ‘मैले आउन नसक्ने भएकाले पछि सार्नु भनेर परिषद्को बैठकमा चिठी पठाएको थिएँ, तर एक पक्षीय ढंगबाट निर्णय गरिएछ,’ उनले भने । सभापति देउवाले वर्तमान सरकारले दुई तिहाईको दम्भमा एकलौटी कार्य गरेको आरोप लगाउँदै विपक्षी पार्टीको हैसियतले सदन र सडकमा यसको विरोध गर्ने बताए ।