नेकपाका प्रभावशाली नेता तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले पार्टीलाई अंध्यारोमा राखेर गरिने सम्झौता खतरनाक हुने बताएका छन् । सिके राउतसंग भएको सम्झौता सकारात्मक भए पनि प्रक्रियागत रुपमा गलत भएको उनले टिप्पणी गरेका छन् ।
सिके राउतलाई लोकतान्त्रिक गणतन्त्रको मुल प्रवाहमा ल्याउने सम्झौता र स्टेटमेन्ट सकारात्मक भए पनि पार्टी भित्र छलफलको आवश्यक रहेको उनको भनाइ छ ।
लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै भुसालले विप्लब समुहमा लागेका मान्छेहरु पनि नेकपामा आउनुहन्छ, सैद्धान्तिक तवरले समस्या हल गर्न सकिन्छ, त्यसको लागि चार जना प्रहरी चलाउनुपर्दैन, तर विप्लपजीहरुले चन्दा आंतक, लुटपाट, हत्याहिंसा गरे प्रहरीले हस्तक्षेप गर्ने बताए ।
अहिलेको राजनीति भनेको दुईवटा पार्टी बीचको एकता हो, तर एकता प्रक्रियालाई तल सम्म टुंग्याउन सकेका छैनौ, एकता नहुनुका पनि आफ्नै कारण छन्, त्यसैले बाहिर धेरै कुरा गरेका छैनौ, उनले भने ।एकता प्रक्रिया टुंगो नलाग्दा विकासले गति लिन नसकेको उनको भनाइ छ । नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका भुसालले भने, पार्टी एकता प्रक्रिया १० महिनामा पनि नटुंगिनु राम्रो होइन, तर अब ४/६ महिनामा यसले पूर्णता पाउँछ ।
पार्टीले सरकारको मुल्यांकन गर्ने कि सरकारले पार्टीको मुल्यांकन गर्ने भन्ने विषयमा अन्यौल रहेको भुसालको भनाइ थियो ।३५ करोड बढी लगानी भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले लुम्बिनीलाई जोडेर यस क्षेत्रको पर्यटकीय विकास गर्नुपर्छ, उनले भने ।
सिद्धार्थनगर र वरपरको विकास तथा विमानस्थल नजिकका वासिन्दाको उत्थानको लागि योजना बन्न नसकेको उनले बताए । आफुले निर्वाचन क्षेत्रमा सिंचाइलाई बढी केन्द्रीत गरेको भुसालले बताए । निर्वाचन क्षेत्रमा शहर भन्दा बाहिर १ कठ्ठा भुमि पनि सिंचाईको सुविधाबाट वञ्चित नहोस भन्ने अभियानमा आफु लागेको उनले जानकारी दिए ।
निर्वाचन क्षृेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई बढी जोड दिइएको उनले बताए । सिद्धार्थनगर नगरपालिकाले डण्डा करिडोरको अवधारण ल्याएको कुरा आफैमा महत्वपूर्ण कार्य भएको सांसद भुसालको भनाइ थियो । नगरपालिकाको दायरा बढाउनुपर्छ, यसको लागि साविकका गाविसहरु बगहा, हाटीफर्साटिकर, पडसरी, चिल्हिया, हाटीवनगाईलाई रिंगरोड मार्फत जोडर उपमहानगरपालिका, महानगरपालिकाको रुपमा विस्तार गर्नुपर्छ, उनले भने ।
नगरभित्र रहेको कारागार सारेर नगरपालिकाले ओमसतिया गाउँपालिकाको पट्खौलीमा खरीद गरेको जग्गामा सार्ने र नेपाली सेनाको व्यारेक पनि सार्ने बारे रक्षामन्त्रीसंग आफूले कुरा गरिसकेको र मन्त्रीको पनि सैन्द्धान्तिक सहमति रहेको उनले बताए । सुरक्षा सम्बन्धि विषय भएकोले यस बारे आफूले धेरै नबोल्ने भुसालले बताए ।